राजनीति

पोखरामा डा.बाबुराम भट्टराईमाथि जुत्ता प्रहार

कास्की– पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईमाथि पोखरामा जुत्ता प्रहार भएको छ। नयाँ शक्ति नेपालको विद्यार्थी संगठनद्वारा पृथ्वीनारायण क्याम्पसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा उनीमाथि जुत्ता प्रहार भएको हो।
नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा पृथ्वीनारायण क्याम्पसमा विहीबार गरेको एक कार्यक्रममा सहभागी भएको डा. भट्टराईलाई कालो झण्डा देखाउँदै कैलाली नारायणपुरका २९ वर्षीय सञ्जिव भट्टराईले जुत्ता प्रहार गरेका थिए । जुत्ता प्रहार गर्ने भट्टराई अर्थशास्त्र विषयका एम.ए.मा अध्ययनरत विद्यार्थी हुन् । कार्यक्रममा डा.भट्टराई बोल्दै गर्दा सञ्जीवले जुत्ता प्रहार गरेका थिए । भट्टराई बोलिरहेका बेला पछाडि बसेका सञ्जिवले बाबुराम भट्टराई मुर्दावाद भन्दै कालो झण्डा देखाएका थिए । मञ्चमा बोलिरहेका बाबुरामले भने आफ्ना कार्यकर्तालाई कालो झण्डा देखाउनेलाई केही नगर्न निर्देशन दिए । 
उनले भने– ‘कालो झण्डा र गाली तथा मुर्दाबादका नारा कति सुनियो सुनियो, यसले केही फरक पर्दैन ।’ डा.भट्टराईमाथि जुत्ता प्रहार भएपछि नयाँ शक्ति विद्यार्थी युनियनमा आबद्ध विद्यार्थीहरुले जुत्ता प्रहार गर्ने सञ्जीवलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । सञ्जिवलाई अहिले वडा प्रहरी कार्यालय बगरमा राखिएको छ । सञ्जिवले आक्रोशमा आएर कालोझण्डा देखाएको प्रहरीले लिएको बयानमा बताएका छन् ।

२३ मंसिर २०७३ ।