राजनीति

अग्रगमनका लागि संविधान संशोधन: डा. भट्टराई

काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको अग्रमनको लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् । तर केही प्रतिगमन चाहने शक्तिहरुले संविधान संशोधनको विपक्षमा आवाज उठाइरहेको उनले आरोप लगाएका छन्। ‘केही शक्तिहरु संविधान संशोधन नहोस् भन्ने चाहन्छन्, ती शक्तिहरुले प्रतिगमन चाहिरहेका छन,’ उनले भने, ‘मुलुकलाई अग्रगमनको बाटोमा डो¥याउन सबैलाई समेट्न सक्नेगरी संविधान संशोधन अहिलेको टड्कारो आवश्यकता हो।’

मंगलबार काठमाण्डौमा नयाँ शक्ति पार्टी ३ नम्बर प्रदेशको पूर्ण बैठक सम्बोधन क्रममा संयोजक डा. भट्टराईले सो धारणा राखेका हुन्।

डा. भट्टराईले मुलुक गम्भीर राजनीतिक संक्रमणको बीचबाट गुज्रिएको बताउँदै यसको निकासको लागि संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे। संविधान संशोधन गरी मधेसी, जनजातिलगायत उत्पीडित, उपेक्षित समुदायको हक अधिकार स्थापित गर्नुपर्नेमा उनको जोड थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्ति पार्टीलाई संविधान संशोधनमा सघाउन आग्रह गरिरहेका छन् । ‘नयाँ शक्ति अग्रगमनको लागि संयोजनकारी भूमिका खेल्न तयार छ,’ डा.भट्टराईले भने।

बैठकमा संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले आफ्नो पार्टी मुलुकको आर्थिक समृद्धि र सुशासनको लागि अघि बढेको बताए। बैठकमा पार्टीका ३ नं. प्रदेश संयोजक गंगा श्रेष्ठले संगठन निर्माण, जनपरिचालन, प्रशिक्षण, सत्याग्रहलगायत कार्ययोजना प्रस्तुत गरेका थिए । ती कार्यक्रमहरु पुसदेखि जेठसम्म सञ्चालन गरिने बताइएको छ।