राजनीति

‘केपी ओलीले प्रस्ताव गर्दा राष्ट्रघाती नहुने, हामीले गर्दा राष्ट्रघाती हुने ?’

चितवन– उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनको प्रस्ताव प्रमुख प्रतिपक्षीय दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्दा राष्ट्रघाती नहुने, आफूहरुले गर्दा राष्ट्रघाती कसरी हुने भनि प्रश्न गरेका छन्।  नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव दुई तिहाइ मतबाट पारित हुने विश्वास व्यक्त गरे। 
उनले भने, ‘संविधान संशोधन प्रस्तावको पक्षमा मधेसी मोर्चा आइसकेकोले मतदानमा सहभागी हुन्छ।’ 
संशोधन प्रस्ताव पारित नभए के हुन्छ भन्ने पत्रकारको प्रश्नमा उपप्रधानमन्त्री निधिले भने, ‘प्रस्ताव पारित हुन्छ। नागरिकता, भाषा, सीमा, राष्ट्रियसभालगायतका विषयमा संशोधन आवश्यक भएकाले सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको हो।’
प्रस्ताव संसदमा पेस भएपछि विशेष समितिमार्फत छलफल अगाडि बढाइने र परिमार्जन गरेरै भए पनि संशोधन प्रस्ताव पारित गराइने उनले स्पष्ट पारे। 
एमाले अध्यक्ष ओली प्रधानमन्त्री रहेकै बेलामा पहाडी जिल्ला ४ नम्बर र ६ नम्बर प्रदेशमा तथा तराईका जिल्ला ५ नम्बर प्रदेशमा राख्ने टुङ्गो लगाइएको उनले बताए।
 उपप्रधानमन्त्री निधिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध हटाएर संविधान संशोधन प्रक्रिया अगाडि बढ्न दिनुपर्नेमा जोड दिदैं ‘संविधान संशोधन प्रक्रिया छिटो अगाडि बढोस् भन्ने हामी चाहन्छौँ’ भने। 
‘एमालेले संसद् अवरोध हटाएर संसदीय प्रक्रिया अगाडि बढाउन सहयोग गर्नुपर्छ’ उनले भने, ‘पुरानै इलाकाको आधारमा वा पुरानै गाविसलाई गाउँपालिकामा रुपान्तरण गरेर स्थानीय निकायको चुनावमा जाने तयारीमा सरकार रहेको छ।’  स्थानीय निकायको चुनाव चैतभित्रै गर्ने तयारीमा सरकार जुटेको उपप्रधानमन्त्री निधिले बताए।