राजनीति

संशोधन प्रस्ताव स्वीकार्न मोर्चालाई दिल्लीको दबाब

काठमाडौं– भारतीय राजदूत रणजित रायले मधेसी मोर्चाका शीर्ष नेताहरुलाई सरकारले अघि सारेको संविधान संशोधनको प्रस्तावलाई स्वीकार गर्न दबाब दिएका छन् । भारतीय राजदूतावासले आयोजना गरेको लन्च मिटिङमा राजदूत रायले सो दबाब दिएका हुन् । राजदूत रायले मधेसी मोर्चामा आबद्ध सात दलका अध्यक्षहरुलाई बोलाएर सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावका बारेमा चासो राखेका थिए । लैनचौरस्थित दूतावासमा भएको सो बैठकमा राजदूत रायले संविधान संशोधनका विषयमा चासो लिएपछि दलका अध्यक्षहरुले आफ्नो पूरानो अडान दोहोर्याएको अभिव्यक्ति दिएका छन् ।
श्रोतका अनुसार मधेसी नेताहरु संविधान संशोधन प्रस्ताव परिमार्जन भएमात्र आफुहरुलाई स्वीकार्य हुने बताएका थिए । यद्यपि, राजदूत राय र मधेसी नेताहरुबीच अन्य विषयमा के के गोप्य कुराकानी भयो भन्ने बारेमा बाहिर केही आएको छैन ।
राजदूत रायले बोलाएका सातजना अध्यक्ष मध्ये संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र अर्का नेता शरतसिंह भण्डारी भने उपस्थित नभएको जनाइएको छ ।
१९ मंसिर २०७३ ।