राजनीति

कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं-  नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान साढे १० बजेका लागि बोलाइएको छ । बैठकमा पूर्वपदाधिकारीहरूलाई पनि आमन्त्रण गरिएको छ ।संविधान संशोधनबारे पार्टीभित्रै मतान्तर भएपछि सभापति शेरबहादुर देउवाले छलफल गर्न सोमबार बिहानका लागि बैठक बोलाएका हुन् । बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता, चुनाव घोषणा, केन्द्रीय कार्यसमितिमा पदाधिकारी मनोनयन, सरकारमा पठाउने राज्यमन्त्रीहरूका बारे पनि छलफ हुने बताइएको छ ।

संविधान संशोधन प्रस्तावमा प्रदेश नम्बर ५ का जिल्ला प्रदेश नम्बर ४ मा हाल्ने विषयमा तीव्र मतभेद छ । प्रदेश नम्बर ५ का नेता तथा सांसदहरू पार्टीभित्र छलफल नै नभई कसरी त्यसमा सहमत हुने भन्दै नेतृत्वप्रति असन्तुष्ट छन् ।पार्टी नेता रामचन्द्र पौडेल, महामन्त्री डा।शशांक कोइराला, डा।शेखर कोइराला, चन्द्र भण्डारी, पुष्पा भुसाललगायत संविधान संशोधनको पक्षमा छैनन् । पौडेल १० दिनका लागि आइतबार नै जापानतर्फ लागेका छन् । उनले एमालेसहितको सहमतिमा संविधान संशोधन हुनुपर्ने बताएका छन् ।

कांग्रेसबाट १० जना राज्यमन्त्री बन्दै
सम्भवतः कांग्रेसबाट आज १० जनाले राज्यमन्त्रीको सपथ लिने भएका छन् । कांग्रेसबाट सरकारमा राज्यमन्त्री बन्नेहरूको नामबारे कांग्रेस बैठकमा छलफल हुने बताइएको छ ।कांग्रेसबाट सीताराम मेहता, दिलीप गच्छदार, दिपक खड्का, तारामान गुरुङ, सुरेन्द्र आचार्य, कञ्चनबादे श्रेष्ठ, सुवर्ण ज्वारचन, मिठु मल्ल, दीर्घराज भाटको नाम आज पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने भएका छन् । नेता पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहको सहमतिमा कांग्रेसले राज्यमन्त्रीको नाम टुंग्याएको हो ।