राजनीति

संविधान संशोधन प्रस्ताव दर्ता हुन सकेन

काठमाडौ- सरकारले आइतबार संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरेपनि अन्तिम समयमा आएर फेरि ‘ब्याक’ भएको छ । सरकारले संविधान संशोधन प्रस्तावमा सहमति जुटाउनु पर्ने निष्कर्ष निकाल्दै आइतबार  संविधान संशोधन प्रस्ताव दर्ता नभएको हो ।

आइतबार बसेको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनमा सहमति जुटाउने प्रयास भइरहेको जानकारी दिए । प्रधानमन्त्रीले सहमति जुटाउने प्रयास भइरहेका भनेपछि बैठकले सहमति जुटाएर नै संविधान संशोधन प्रस्ताव अघि बढाउने निष्कर्ष निकालेको हो ।

सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले आइतबार प्रधानमन्त्री व्यस्त भएकाले र संशोधन प्रस्तावमा थप छलफल गर्नु पर्ने भएकोले संशोधन प्रस्ताव संसदमा दर्ता नहुने जानकारी दिनुभयो । सरकारले तयार पारेको संशोधनमा नेकपा एमाले र आन्दोलनरत मधेसी मोर्चाकै केही नेताको असहमति छ ।

१२ मंसिर २०७३ ।