राजनीति

दाहाल र ओलीबीच बालुवाटारमा चर्काचर्की

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बालुवाटारमा सोमबार बेलुका बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक विना निस्कर्ष टुंगिएको छ । बैठकमा प्रधानमन्त्री र सत्तारुढ दलका नेताहरुले संविधान संशोधनका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग प्रदेशहरुको सीमाङ्कन, राष्ट्रिय सभाको गठन र प्रतिनिधित्व, नागरिकता र भाषा आयोग लगायतका विषयमा साझा धारणा बनाएर अघि बढ्न प्रस्ताव गरेका थिए । तर, बैठकमा प्रतिपक्षी दलका नेताहरुले संविधान संशोधनको औचित्य नभएकाले सहयोग गर्न नसकिने प्रतिक्रिया दिएपछि समहतिको प्रयास विफल भएको हो । 
बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले भने– ‘सत्ता पक्षको तर्फबाट हामीले संविधान निर्माणका सहयात्री तिनै दल मिलेर संविधान संशोधन र निर्वाचनमा जाऔं भन्ने प्रस्ताव राख्यौं । तर, एमाले पार्टी संविधान संशोधनमा तयार नभएका कारण अब मधेशी मोर्चासँग समेत छलफल गरेर अगाडि बढ्छौं ।’ यसैगरी माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’ले संविधान संशोधन र निर्वाचनमा प्रमुख दलहरु मिलेर जाने प्रतिवद्धताबाट एमाले पछि हटेकाले सहमति हुन नसकेको हो ।  नेता पुनले भन्नुभयो, ‘हामीले संविधान निर्माणका सहयात्री दलहरु मिलेर संविधान संशोधन र निर्वाचनमा सँगै जान प्रस्ताव राख्यौं । नेकपा एमालेका नेताहरु केही दिन अघिसम्म संविधान संशोधनमा मिलेर जान तयार हुनुहुन्थ्यो । तर, आजको बैठकमा उहाँहरुले आफ्नो पोजिसन बदल्नुभयो । हाम्रो आग्रह छ, उहाँहरुले पनि देशको पक्षमा जिम्मेवार भएर सोच्नुपर्छ । सहमतिमा नआउने परिस्थितिमा मधेशी मोर्चासँग छलफल गरेर सरकार प्रक्रियामा अगाडि बढ्छ ।’ 

त्यसैगरी नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमालेको तर्फबाट संविधान संशोधनको औचित्य नभएको कुरा प्रष्ट रुपमा राखेको जानकारी दिए ।  रावलले भने– ‘प्रधानमन्त्रीले संविधान संशोधनमा मिलेर जान प्रस्ताव राख्नुभयो । मधेशी मोर्चासमेत तयार नभएको र संविधान संशोधनको औचित्य नभएका कारण हामीले सरकारलाई संविधान संशोधन प्रस्ताव अघि नबढाउन भनेका छौं ।’ 

बैठकमा प्रधानमन्त्रीले संविधान संशोधन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव राखेका थिए ।  प्रधानमन्त्रीले सीमाङ्कनमा विगतमा नेपाली कांग्रेस र नेकपा एमालेले अघि सारेको साझा प्रस्तावको वरिपरि रहेर सहमति खोज्न प्रस्ताव गरेका थिए ।  तर, नेकपा एमालेका नेताहरुले संविधान संशोधनको औचित्य नभएको धारणा राखेपछि बैठकमा कुनै ठोस सहमति हुन सकेन । 

साँझ पाँच बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, मन्त्री रमेश लेखक, एमालेबाट माधवकुमार नेपाल, बामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, वर्षामान पुन लगायतका नेताहरु सहभागी भएका थिए । 

७ मंसिर २०७३ ।