राजनीति

चीन पुगेरका काम थाले पौडेलले

 काठमाडौं– झण्डै ६ महिनाको रिक्ततापछि बेइजिङस्थित नेपाली राजदूतावासले नयाँ राजदूत पाएको छ। पूर्व राजदूत महेश मास्के कार्यकाल सकेर फर्केको यति लामो रिक्ततापछि चीनका लागि नवनियुक्त नेपाली राजदूत लीलामणि पौडेलले बिहिबादेखि बेइजिङमा कार्यभार सम्हालेका हुन्।

चिनियाँ परराष्ट्र मन्त्रालयमा शुक्रबार ओहदाको प्रमाणपत्रको प्रति बुझाएपछि उनलाई औपचारिक रुपमा राजदूतको हैसियतले काम गर्न बाटो खुलेको हो। शुक्रबार बिहान पौडेलले आफ्नो ओहदाको प्रमाणपत्रको एक प्रति चिफ अफ दि फरेन मिसन इन बेइजिङका प्रमुख समक्ष हस्तान्तरण गरेका हुन्। ओहदाको प्रमाणपत्र बुझाउने निश्चित अवधि भएकाले राजदूत पौडेलले आगामी डिसेम्बरको मध्यतिर मात्रै चिनियाँ राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र पेश गर्नेछन्।

‘विभिन्न मुलुकमा राजदूतले ओहदाको प्रमाणपत्र पेश गर्ने समय फरक फरक हुने गर्दछ’, शुक्रबार प्रमाणपत्रको प्रति बुझाइसकेपछि राजदूत पौडेलले भने, ‘राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र बुझाउने समय आउन बाँकी भएकाले होला, हाललाई परराष्ट्रमा पेश गरेपछि अब राजदूतकै हैसियतमा काम गर्ने बाटो खुल्यो।’

मन्त्री स्तरीय दर्जासहित चीनको राजदूत नियुक्त भएर बुधबार राती बेइजिङ ओर्लिएका पूर्व मुख्यसचिव पौडेलले बिहिबार दूताबास पुगी कार्यभार ग्रहण गरेका हुन्। शुक्रबारदेखि उनलाई बेइजिङमा राजदूतको हैसियतले काम गर्न मार्ग प्रशस्त भएको छ।

३ मंसिर २०७३ ।