राजनीति

महाभियोग प्रस्तवामाथिको छलफलमा सांसदकै अरुचि

काठमाडौं– संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिँह कार्की विरुद्धको महाभियोग प्रस्ताव माथि छलफल शुरु भएको छ ।  शुक्रबारको छलफलमा १७ जना सांसदले भाग लिए ।

बैठकमा सांसद मिलन राजवशी, यशोदाकुमारी लामा, शेरबहादुर तामाङ, जगदीशनरसिंह केसी, राजाराम स्याङताङ, भरत साउद, पाँचकर्ण राई, सीता गिरी, सुरेन्द्र चौधरीलगायतले भाग लिएका थिए। महत्वपूर्ण प्रस्ताव उपर छलफल शुरु भए पनि शुक्रबारको संसद बैठकमा उपस्थित सांसदहरुको संख्या भने न्यून थियो ।  व्यवस्थापिका संसद्का कुर्चीहरु खाली नै देखिन्थे ।

बैठक शुरु भएको केही बेरमै सरकार गठनका बेला भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितका दलले व्यवस्थापिका संसद बैठक बहिष्कार गरेका थिए । बैठक प्रारम्भ भए लगत्तै संघीय समाजवादी फोरमका संसदीय दलका नेता अशोककुमार राईले तीन बुँदे सम्झौता कार्यान्वयन नभएसम्म संसद बैठकमा सहभागी नहुने बताए।  व्यवस्थापिका–संसद्को अर्को बैठक यही कातिक २९ गते सोमबार बिहान ११ बजे बस्ने छ ।

२६ कार्तिक २०७३ ।