राजनीति

महाभियोग प्रस्तावमाथि पुनः आजबाट छलफल

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा विचाराधीन महाभियोग प्रस्तावमाथि शुक्रबारबाट पुनः छलफल हुने भएको छ । कात्तिक ९ गते संसद्मा पेस भई सैद्धान्तिक छलफल सुरु भए पनि तिहार र छठपछि छलफल अगाडि बढाउने दलीय निर्णय अनुसार छलफल स्थगित भएको थियो ।  
सैद्धान्तिक छलफललाई बढीमा तीन दिन निरन्तरता दिई प्रस्ताव समितिमा पठाउने तयारी छ । संसद् सचिवालयले शुक्रबारको सम्भावित कार्यसूचीमा महाभियोग प्रस्ताव छलफलको निरन्तरतालाई राखेको छ ।  प्रस्तावमा छलफलअघि राष्ट्रिय महिला आयोग गठनसम्बन्धी विधेयक संसद्मा पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बताउनुभयो ।

कुइँकेलले भन्नुभयो, “अख्तियार प्रमुख कार्कीविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमा यसअघि निरन्तरता दिने गरी स्थगित भएको छलफलले निरन्तरता पाउँछ ।  महिला आयोगको विधेयक पेस गर्ने पनि सम्भावित कार्यसूची छ । ”

कात्तिक ९ गतेबाट सुरु भएको छलफलमा सोही दिन १५ जना सांसदले प्रस्तावमाथि आफ्नो धारणा राखिसक्नुभएको छ ।  कात्तिक ९ गते नै छलफलमा भाग लिन नाम टिपाउनुभएका ३८ जनाले अझै बोल्न बाँकी छ ।  यस्तै शुक्रबार पनि छलफलमा भाग लिनका लागि नाम टिपाउन सकिने व्यवस्था संसद् सचिवालयले गरेको छ ।

यसअघि विहीबार मात्रै अख्तियारका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतको तारेख बुझेका थिए ।  तारेख बुझेपछि उनलाई आगामी १६ गतका लागि पेशी तोकिएको छ। उनलाई सर्वोच्च अदालतले आफैं उपस्थित जवाफ दिन आदेश दिएको थियो। 

न्यायाधीश आनन्दप्रसाद भट्टराईको एकल इजलासले कार्कीलाई सात दिनभित्र जवाफ दिन आदेश दिएपछि उनले तारेख बुझेका थिए । सर्वोच्चको म्याद बुझ्न नमानेको र अवरोध गरेकोमा कार्कीसहित चार जनाविरुद्ध कार्बाहीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रीटमाथि सुनुवाई गर्दै सर्वोच्चले जवाफ दिन आदेश दिएको थियो।
२६ कार्तिक २०७३ ।