राजनीति

लोकमानलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन आदेश

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । अदालतको म्याद तामेली गर्न अवरोध गर्नुको कारणसहित सर्वोच्च अदालतले कार्कीलाई उपस्थित हुन आदेश दिएको हो ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले लोकमानलाई ७ दिनभित्र म्याद तामेली गरेको विषयमा कारबाही गर्नुनपर्ने कारणसहित आफै अदालतमा उपस्थित हुन आदेश दिएको हो । अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चको म्याद तामेलीमा अवरोध पुर्याएको दाबीसहित लोकमान उनका ज्वाँइ प्रवल थापा, छिमेकी प्रमोद कार्की र प्रहरी नायव निरीक्षक नहकुल गौतमलाई विपक्षी बनाई मुद्दा दायर गर्नुभएको थियो ।

रिटको पक्षबाट मंगलबार अधिवक्ताहरु टीकाराम भट्टराई, गोविन्द बन्दी लगायत १० जनाले बहस गरेपछि सर्वोच्चको आदेश आएको हो । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद तामेलीको पत्र टाँस्न गएका तामेलदारलाई लोकमानका आफन्त र छिमेकीले अवरोध गरेका थिए । माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही प्रस्तावक र एमालेका सांसदको समर्थनमा संसदमा अख्तियार कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । महाअभियोग प्रस्तावमाथि शुक्रबार बस्ने संसद बैठकमा छलफलले निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ ।

आदेश पत्र यस्तो छ...