राजनीति

देउवा र मोदीबीचको भेटवार्ता मंगलबारका लागि सर्यो

काठमाडौं– भारत भ्रमणमा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलबार भेटवार्ता हुने भएको छ । दिल्लीमा सोमबार हुने भनिएको भेटवार्ता मंगलबारका लागि सारिएको छ। तर भेटघाटको समय भने तोकिएको छैन ।

नेपाली कांग्रेसको भातृ संस्था जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले दिएको जानकारी अनुसार देउवाको मंगलबार मोदीसँग भेटघाट हुनेछ।  ‘उहाँले सोमबार बिहान सत्तारुढ भारतीय जनता पार्टी(भाजपा)का नेता भगतसिंह कोसियारीसँग भेटवार्ता गरेका थिए ।

देउवाको निर्धारित भ्रमणतालिकाअनुसार मंगलबार नेपाल फर्कने कार्यक्रम भए पनि मोदीसँगको भेटवार्ताको समय निर्धारण भइनसकेकोेले देउवाको दिल्ली बसाई एक दिन लम्बिने सम्भावना देखिएको छ। सोमबार भेटवार्ता भएको भए मंगलबार स्वदेश फर्किने कार्यतालिका रहेको थियो ।

भारतीय जनता पार्टी निकट ‘इण्डिया फाउण्डेसन’ले आयोजना गरेको ‘इण्डिया आइडियाज कन्क्लेभ–२०१६’ लाई देउवाले शुक्रबार साँझ गोवामा सम्बोधन गरेका थिए। ‘वेटिङ’ प्रधानमन्त्रीका रुपमा समेत हेरिएका देउवाले ‘स्वायत्त तिब्बत’ माग गरिरहेका निर्वासित तिब्बत सरकारका प्रधानमन्त्री लोब्साङ साङ्गेभन्दा अघि कार्यक्रमलाई सम्बोधन गरेका थिए।

त्यसैगरी आइतबार देउवालाई जवहारलाल नेहरु विश्वविद्यालयले  मानार्थ विद्यावारिधि उपाधि दिएको थियो । देउवालाई ’१२औं नेहरु मेमोरियल लेक्चर’मा अतिथि वक्ताका रुपमा बोलाएर जेएनयूले मानार्थ पिएचडी दिएको हो। सोमबार देउवाले जेएनयुको कार्यक्रममा संविधान संसोधन गरेर मधेसीसहित असन्तुष्ट पक्षको माग पूरा गरी संविधानलाई सर्वस्वीकार्य बनाउने बताएका थिए ।