राजनीति

संविधान संशोधनबारे अमेरिकी चासाे

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिजले संविधान संशोधनको विषयमा जिज्ञासा राखेकी छिन्। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालसँगको शिष्टाचार भेटका क्रममा उनले सो जिज्ञासा राखेकी हुन्। वैदेशिक मामिला विभाग प्रमुखसमेत रहेका नेपाल पूर्वप्रधानमन्त्री नेपालले अमेरिकाका तर्फबाट नेपाललाई हुँदै आएको सहयोगका लागि धन्यवाद दिँदै नयाँ संविधान बनेपछि सिर्जित स्थायित्वको परिवेशमा थप सहयोग र लगानीलाई आफ्नो मुलुकले स्वागत गर्ने बताएको पार्टीका प्रचार विभागका सचिव विष्णु रिमालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संविधान संशोधनका बारेमा राजदूत टेप्लिजले राखेको जिज्ञासामा वरिष्ठ नेता नेपालले मधेसी दलहरुको मागअनुसार यसअघि संविधानका दुई धारामा संशोधन भइसकेको उल्लेख गर्दै यति छोटो अवधिमा बिनाकारण छिटो छिटो संविधान संशोधन गर्ने अभ्यास कतै नरहेको र संविधान संशोधनका लागि उठाइएका मुद्दाहरु उचित नरहेका कारण त्यसमा सहमति हुन नसक्ने स्पष्ट पारेको बताइएको छ।

भेटका अवसरमा राजदूत टेप्लिजले नेपालको विकास र प्रगतिमा आफ्नो मुलुक साझेदार रहेको चर्चा गर्दै नेपालको आर्थिक विकास, राजनीतिक स्थिरता र सुशासनका लागि सदैव सहकार्य गर्ने उल्लेख गरिन्।

नेपालमा नयाँ संविधान बनेपछि राजनीतिक स्थिरता हासिल गर्नेतर्फ भएका उपलब्धिको प्रशंसा गर्दै राजदूत टेप्लिजले यस दिशामा सबै राजनीतिक दल एक ठाउँमा आउने विश्वास व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ। 
२२ कार्तिक २०७३ ।