राजनीति

सातै प्रदेशमा उच्च अदालत गठन गर्ने निर्णय

काठमाडौं– सरकारले सातै प्रदेशमा उच्च अदालत गठन गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक प्रदेशमा एक उच्च अदालत गठन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता राम कार्कीका अनुसार उच्च अदालतको अस्थायी मुकाम समेत तोकिएको छ।

प्रदेशको राजधानी टुंगो नलागेसम्म अस्थायी मुकामबाट काम हुने जनाइएको छ ।  निर्णयअनुसआर एक नम्बर प्रदेशको विराटनगर, दुईको जनकपुर, तीनको पाटन, चार नम्बरको पोखरा, पाँचको तुलसीपुर, ६ नम्बरको सुर्खेत र ७ नम्बर प्रदेशको दिपालयमा मुकाम रहने भएको छ।

यस्तै, विभिन्न ११ स्थानमा उच्च अदालतको इजलास राख्ने निर्णय भएको छ। कार्कीका अनुसार इलाम, धनकुटा, ओखलढुंगा, राजविराज, वीरगञ्ज, हेटौंडा, वाग्लुङ, बुटवल, नेपालगञ्ज, जुम्ला र महेन्द्रनगरमा उच्च अदालतको इजलास राख्ने निर्णय गरेको हो। गत आइतबार बसेको संसद बैठकले उच्च अदालत गठन सम्बन्धी विधेयक बहुमतले पारित गरेसँगै उच्च अदालत गठनको बाटो खुलेको थियो ।