राजनीति

राष्ट्रपति सी को नेपाल भ्रमण रद्द नभएको चीनको भनाइ

काठमाडौ– चीनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण रद्द भएको खबरको खण्डन गरेको छ । बेइजिङले राष्ट्रपति सीको नेपाल भ्रमण बारे नेपालसँग‘निकट सम्वाद’ मा रहेको प्रस्ट पारेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले भ्रमणबारे धेरै कुरा प्रष्ट हुन बाँकी नै भएको भन्दै भ्रमण रद्द भएको भन्न नमिल्ने बताएकी छन् ।

उनले भनेकी छन्ः‘ भ्रमण आदान प्रदानबारे दुई पक्ष निरन्तर सम्वादमा छन् ।’ चिनियाँ राष्ट्रपति सी भारतमा हुने ब्रिक्स सम्मेलनका क्रममा नेपाल आउने चर्चा थियो । तर, पछिल्लो पटक यो भ्रमण रद्द भएको खबरहरु प्रकाशमा आएका थिए । नेपाल सरकारले भने भ्रमण रद्द भएको खबरको खण्डन गर्दै आएको थियो । अहिले चीनले पनि अक्टुबरको भ्रमण तय भइनसकेकाले रद्द भयो भन्न नमिल्ने बताएको छ ।

नेपालसँग निकट रहेर सम्वाद भइरहेको भन्दै चीनले राष्ट्रपति सीको नेपाल भ्रमणबारे उचित समयमा जानकारी दिने बताएको छ । साथै चीनले प्रचण्ड नेतृत्वको नयाँ सरकारसँगको सम्वन्धलाई महत्व दिएको बताएको छ ।