राजनीति

महिला संघ महाधिवेशनको तयारी पूरा

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले भदौ २९ गतेदेखि काठमाडौंमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको जनाएको छ । काठमाडौमा आइतबार पत्रकार सम्मेलन गरी महिला संघले महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइएको हो ।

महाधिवेशन यही भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा हुँदैछ ।  ‘‘शसक्तिकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ महिला संघले महाधिवेशन गर्न लागेको हो । 
महिला संघकी अध्यक्ष डा. डीला संग्रौलाले तोकिएको समयमा महिला संघको महाधिवेशन हुने भन्दै सम्पूर्ण पूरा भएको जानकारी दिइन् । बिबादका कारण लामो समयदेखि महाधिवेशन हुन नसकिरहेको बेला महिला संघले भदौ २९ गते महाधिवेशन गर्दैछ । 
महिला संघको महाधिवेशनमा करीव २ हजार महिला प्रतिनिधि सहभागी जनाइएको छ । प्रतिनिधिहरुका लागि खानेपानी, बसोबास, स्वास्थ्य परीक्षणदेखि आधारभूत सबै तयारी गरिएको समेत जानकारी दिइएको छ । भदौ २९ गते भृकुटीमण्डपमा कांग्रेस सभापति शेरबहादुर देउवाले महिला संघको तेस्रो महाधिवेशन उदघाटन गर्नेछन् । 

बन्दसत्र भदौ ३० गते भृकुटीमण्डपमै हुनेछ । भदौ ३१ गते नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृहमा मतदान गर्ने कार्यक्रम छ ।