राजनीति

राष्ट्रिय हितविपरित कुनै सम्झौता गर्दिनः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा राष्ट्रिय हित बाहेकका कुनै पनि सम्झौता नहुने बताएका छन् । व्यवस्थापिका संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा आफ्नो भारत भ्रमणका बारेमा जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको हित विपरीत भारतसँग कुनै सम्झौता नगर्ने  बताएका हुन् । 
प्रचण्डले भने–‘भारत भ्रमण मेरो चुनौतीपूर्ण अवसर हो । नेपाली जनताको हितभन्दा बाहिर गएर कुनै सम्झौता गर्ने छैन् । तपाईंहरु निश्चिन्त रहनुहोस् । पटक्कै चिन्ता नलिनुहोस । जनताको हित बेगरको काम म कल्पना पनि गर्न सक्दिन ।’ उनले थपे– ‘म प्रधानमन्त्रीको रुपमा भारत जान लागेको हुँ,  पुष्पकमल दहाल अथवा प्रचण्डको रुपमा होइन ।’

प्रधानमन्त्री दाहालले जनयुद्ध देखिनै आफूले जोखिम मोल्दै आएको बताउँदै भारत भ्रमणका क्रममा पनि जोखिम मोल्ने बताएका छन् । त्यस्तै, प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण अघि नै संविधानको संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरिरहेको बताए ।  एमालेले पनि संविधान संशोधनको प्रस्तावमा समर्थन गर्ने बताउँदै प्रचण्डले भने–‘भारत भ्रमणअघि नै संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने कोशिस गरिरहेको छु । आशा छ यसमा एमालेले पनि समर्थन गर्छ ।’ बैठकमा सहभागी एमाले सांसद भीम रावलले भने प्रधानमन्त्रीलाई देशको हित विपरीत भारतसँगै कुनै पनि सम्झौता नगर्न सुझाव दिएका छन् । 

२६ भदाै, २०७३ ।