राजनीति

रौतहटमा शंकर पोखरेलको पुत्ला जलाइयो

रौतहट–रंगभेद गरेर विवादास्पद टिप्पणी गरेको आरोपमा रौतहटका बिभिन्न स्थानमा मधेसवादी दलका कार्यकर्ताहरुले एमाले नेता शंकर पोखरेलको पुत्ला जलाएका छन् ।  विवादास्पद टिप्पणी गरेर मधेस तथा मधेसी समुदायलाई होच्याएको भन्दै रौतहट सदरमुकाम गौरको विपीचोक लगायतका स्थानमा बुधबार विहान पोख्रेलको पुत्ला जलाइएको हो । सामाजिक सञ्जाल ट्वीटरमा विवादास्पद टिप्पणी गरेर मधेस तथा मधेसी समुदायलाई होच्याएको पोख्रेलमाथि आरोप लागेको छ ।

पोख्रेलविरुद्ध मधेसी पत्रकार संघका अध्यक्ष पंकज दासले महानगरीय प्रहरी परिसरमा किटानी उजुरी दिएका छन् । पोख्रेलविरुद्ध दर्ता भएको उजुरीमा आपत्तिजनक ट्वीट गरेर सामाजिक सदभाव बिगार्ने काम गरेकाले कारबाही गर्न माग गरिएको छ । पोखरेलले मंगलबार विहान ट्वीटरमा लेखेका थिएः‘ मधेसी जनता अधिकांस कालो वर्णका छन् । मधेसी मोर्चाले असोज तीनलाई कालो दिवस भनेर त्यहाँका जनताको सम्मान गर्न खोज्यो कि अपमान ? बुझ्न गाह्रो भो ।
यो अभिव्यक्तिको सामाजिक सञ्जालमा चर्को विरोध भएपछि पोख्रेलले आफ्नो ट्वीट हटाएका थिए । यसैबीच समाजवादी युवा फोरम नेपालका उपमहासचिव दुर्गामणि सुवेदीले पोख्रेलविरुद्ध प्रहरीले उजुरी लिन अस्वीकार गरेको भन्दै अब अदालत जाने बताएका छन् ।