राजनीति

महिला संघमा चुनावी चटाराे, जानकी बलियो दाबेदार

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको यही भदौ २९ बाट शुरु हुने तेस्रो महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारको बारेमा विभिन्न चर्चा शुरु भएका छन् । यस क्रममा महिला नेतृ जानकी सिंहले अध्यक्ष पदमा आफ्नो उम्मेदवारीको दाबी गरेकी छन् । लामो राजनीति अनुभवकै कारण उनी अग्र पंक्तिमा देखिएकी छिन् ।अध्यक्ष पदकी प्रत्यासी सिंहसँग नेपाली काँग्रेसको राजनीतिमा संलग्न भई गरेको कामको लामो इतिहास रहेको छ ।

काे हुन् जानकी ? 
सानै देखि राजनीतिमा सक्रिय जानकी महिला संघको तस्रो महाधिवेशनमा अध्यक्षको दौडमा रहेकी छन् । सुर्खेत स्थायी घर भएकी जानकीको राजनीतिक पृष्ठभूमि यस्तो छ–  वि.सं. २०३६ सालमा भएको जनमत संग्रहमा नेपाली काँग्रेसका साथै नेपाल विद्यार्थी संघको सम्पर्कमा रही कैलाली जिल्लाको सत्तीबाट बहुदलका पक्षमा उनले सहयोग गरेकी थिइन् । त्यस्तै, २०४६ सालको जनआन्दोलनमा नेपाली काँग्रेसमा रही सुर्खेतमा सक्रियरुपमा काम गरेपछि २०४८ सालमा नेपाल महिला संघ, सुर्खेतको कार्य समिति सदस्य भएकी थिइन् ।

वि. सं. २०४९ सालमा नेपाली काँग्रेसका तर्फबाट गाविसको वडा अध्यक्षमा निर्वाचित भई विकासको काममा सक्रिय रहेकी सिंह वि. सं. २०५१ सालमा महिला संघ सुर्खेतको जिल्ला सभापतिमा निर्वाचित भएकी थिइन् । २०५३ देखि २०५८ सालसम्म महिला संघको केन्द्रीय सदस्य भई संगठन र महिलाका हकहितका लागि काम गरेपछि २०५६ देखि २०५८ सम्म सुर्खेत जिल्लाको महिला जागृति कार्यक्रमको अध्यक्षसमेत भइन् ।

त्यस्तै, २०५९ सालमा महिला संघको केन्द्रीय सदस्य हुँदै २०६७ सालमा सुर्खेतबाट नेपाली काँग्रेसको १२ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिका साथै महासमिति सदस्यमा निर्वाचित भइन् । नेपाली काँग्रेसका साथै नेपाल महिला संघका कार्यक्रममा सक्रियरुपमा निरन्तर क्रियाशील रहेकी सिंह आसन्न महाधिवेशनको बलियो उम्मेदवारका रुपमा रहेकी छिन् ।

 नेपाली कांग्रेसको १३ औं महाधिवेशन पछि कांग्रेसले क्रमशः आफ्ना भ्रातृ संगठनको महाधिवेशन गराउँदै आएको छ । हालै नेविसंघको ११ औं महाधिवेशन सम्पन्न भइसकेको छ भने महिला संघ र तरुणदलको महाधिवेशनको मिति समेत तय भइसकेको छ ।