राजनीति

माओवादी केन्द्रका बेरोजगार नेता को–को ?

काठमाडाैं- माओवादी केन्द्रका केही प्रभावशाली नेतासहित केन्द्रीय कार्यलयका अधिकांश नेताले उपयुक्त जिम्मेवारी नपाएकाले बेरोजगार बन्न पुगेका छन् । अघिल्लो सरकारमा सहभागी मन्त्री मात्र होइन, बुढ्यौली उमेरमा पनि सक्रिय जिम्मेवारीको खोजी गरिरहेका नेताहरुलाई के काम दिने भन्नेमा माओवादी केन्द्रले निर्णय लिन सकिरहेको छैन । पार्टी एकतापछि बनेको भद्रगोल संगठन र संस्थागत नीति निर्माण हुन नसक्दा प्रभावशाली भनिएकै कतिपय नेता कामविहीन भएका  हुन् । कतिपयले भने दोहोरो भूमिका पाएका छन् । 

काम नपाउने नेता  
अमिक शेरचन, गिरिराजमणि पोखरेल, टोपबहादुर दायमाझी, हरिबोल गजुरेल, अग्नि सापकोटा, दीनानाथ शर्मा, लोकेन्द्र बिष्ट, नारायण शर्मा, लीलामणि पोखरेल लगायतका नेतासँग अहिले कुनै कार्यकारी भूमिका छैन । पार्टीले केहीलाई विभाग र जवस मोर्चाहरको जिम्मेवारी दिएजस्तो गरे पनि ती कामकाजी छैनन् । त्यस्तै, कुनै बेला प्रभावशाली कहलिएका स्वनाम साथी, निनु चापागाई, घनश्याम शर्मा पौडेललगायतका नेताहरुले पार्टी सदस्यता मात्रै नवीकरण गराइरहेका छन् । उनीहरुलाई माओवादी केन्द्रले जम्बो केन्द्रीय आयोजक समितिमा समेटेको छ । तर, क्षमताअनुसारको कामको जिम्मेवारी दिन सकेको छैन । 
केन्द्रीय कार्यालयकै नेताहरु बेरोजगार 
माओवाीको ३३ सदस्यीय केन्द्रीय कार्यालयमा अहिले २३ जना नेता छन् । तर, केन्द्रीय कार्यालयमै रहेका कतिपय नेताहरु कार्यकारी भूमिकामा छैनन् । संगठन विभाग प्रमुख, प्रदेशका इन्चार्जहरुबाहेक अन्य नेताहरुको खासै प्रभावकारी भूमिका नरहेको नेताहरु स्वीकार गर्छन् । पार्टी अधयक्षसहित केन्द्रीय कार्यालयका नेताहरु कृष्णबहादुर महार र जनार्दन शर्माले मन्त्रीको जिम्मेवारी सम्हालेका छन् । अघिल्लो केपी ओली सरकामा सहभागी शक्ति बस्नेतबाहेक अन्य नेतालाई माओवादीले जिम्मेवारी दिएको छैन । केही नेतालाई संगठन विभाग र सरकार सञ्चालन सहयोग समितिमा राखिए पनि अग्नि सापकोटालाई जिम्मेवारी छैन, अन्यको अवस्था के होला ? एक नेताले भने, ‘क्षमतावान नेताहरुलाई समेत सामान्य विभागमा मानै थन्काइएको छ ।’ साभार नयाँ पत्रिका । 
२२ भदौ, २०७३ ।