चलचित्र

नवौं नेफ्टा अवार्डको तयारी तीब्र, दुबईमा अवार्ड वितरण गरिने

काठमाडौं– नवौं नेफ्टा अवार्ड दुबइमा हुने भएको छ । राजधानीमा भएको एक कार्यक्रममा नवौं नेफ्टा अवार्ड दुबईमा हुने जानकारी दिइएको हो । कार्यक्रममा नेफ्टा बर्तमान अध्यक्ष पुष्कर लामा र दुबईको लागी मध्यस्तकर्ता बनेका स्पेक्ट्रम एड्भरटाईजिङ एण्ड मिडिया कन्सल्टेन्टका तर्फबाट राजकुमार भट्टराईले कार्यक्रमको बारेमा थप जानकारी दिएका थिए । 

दुबईमा अवार्ड व्यवस्थापनको काम भने कन्सेप्ट भिजन फिल्म प्रोडक्शन तथा वितरण कम्पनिले गर्ने भएको छ । चलचित्र प्राविधिक संघको आयोजनामा हरेक बर्ष हुँदै आएको अवार्ड ‘नेफ्टा फिल्म अवार्ड’आउँदो डिसेम्बर २३ अर्थात पौष ८ दुबईमा हुनेछ । 

अहिले अवार्डको लागी जुरीहरुले फिल्म हेर्ने क्रम सुरु गरेका छन् ।  विगतका बर्षमा ३४ विधामा वितरण गर्दै आइरहेको अवार्ड यसपटक घटाएर २८ विधामा वितरण गरिने भएको छ । अध्यक्ष लामाले कार्यक्रममा भने– ‘हाम्रो उद्येश्य प्राविधिक र स्रष्टाको सम्मान नै हो । त्यसैले यो पटक केही प्राविधिकहरुलाई पनि अवार्ड वितरण गर्दैछौं ।’ ।

दुबई अवार्डमा १ सय बढि फिल्मकर्मी सञ्चारकर्मी पुग्ने बताईएको छ । नेपाली फिल्म क्षेत्रमा निरन्तर लागिरहेका प्राविधिक र स्रष्टालाई सम्मान गर्नु नै कार्यक्रमको उद्देश्य हो ।  नवौं नेफ्टा अवार्डलाई शुभकामना दिन बरिष्ठ चलचित्रकर्मी नीर शाह, महजोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, बसुन्धारा भुसाल लगायत कार्यक्रममा उपस्थित भएका थिए । 

२० भदाै, २०७३ ।