राजनीति

पूर्व सांसदका माग जायज कि नाजायज ?

काठमाडौं– पूर्वसांसदहरुले सरकारसंग पेन्सन र निःशुल्क उपचार सुविधाको माग गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका पूर्व सांसदहरुको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर पेन्सन र उपचार खर्च तथा यातायातमा सुविधाको माग गरेका हुन् ।

पूर्व सांसद क्लबका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा गएका सबै राजनीतिक दल आबद्ध पूर्व सांसदहरुले सरकारले पूर्व सांसदको मर्यादाक्रम समेत निर्धारण गर्नुपर्ने माग गरेका छन् । उनीहरुले बिगतमा बहालवाला सांसदपछिको बरियतामा पूर्व सांसद रहने गरेकोमा हाल त्यो व्यवस्था हटेको भन्दै दुःखेसो पोखेका थिए । 

जवाफमा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद बैठकबाट पूर्व सांसदहरुको मर्यादाक्रम निर्धारण गर्न सकिने भएकाले त्यसमा आफूले छलफल गर्ने आश्वासन दिए ।  पूर्व सांसदहरुले देशको सेवा गरेका र निरन्तर जनताको काममा रहेका पूर्व सांसदहरुको अवस्थालाई ख्याल गर्दै राज्यको तर्फबाट न्युनतम सुविधा उपलवध गराउनुपर्ने माग राखेका थिए ।

उनीहरुले भारत लगायत बिभिन्न देशको उदाहरण दिँदै पूर्व सांसदलाई सरकारी अस्पतालमा निःशुल्क उपचार, यातायातमा छुट र ज्यूनी भत्ताका रुपमा न्युनतम मासिक पेन्सन सुविधा दिनुपर्ने माग गरेका थिए ।

पूर्व सांसद क्लब सबै राजनीतिक दल आबद्ध नेताहरुको साझा फोरम भएकाले राजनीतिक दलहरुको बीचमा सहमति जुटाउन यो फोरमलाई उपयोग गर्न समेत पूर्व सांसदहरुले प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
१५ भदाै, २०७३ ।