राजनीति

पहिलो मर्यादाक्रमका खाली कुर्चीले गिज्याइरहेछ...

काठमाडौं–प्रमुख दलका शीर्ष नेताहरुले संसदलाई उपेक्षा गरेको भन्दै सांसदहरुले आक्रोश पोख्न थालेका छन् । शीर्ष नेताहरुले संसदलाई सत्ताको भर्‍याङ बनाउने  कार्यवाहेक अरु केही नगरेको  उनीहरुको आरोप छ । पहिलो मर्यादाक्रममा रहेका खाली आसनतर्फ इंगित गर्दै  नियमित संसद बैठकमा उपस्थित हुँदै आएकाहरुको आवाज हो यो । 

संविधानसभाको पहिलो बैठकदेखि व्यवस्थापिका संसदको सोमबार बसेको बैठकसम्म अधिकांश दिन शीर्ष नेताहरुसहितका कुर्ची खाली देखिए । पहिलो मर्यादाक्रममा रहने सबै नेताको कुर्सी खाली देखिनु लज्जाको विषय समेत बनेको छ । संसदको सोमबारको बैठकमा केही सांसदले विशेष समय लिएर संसदमा शीर्षसहति पहिलो मर्यादाक्रममा रहेने नेताहरुको आसन महिनौसम्म किन र केका लागि खाली हुन्छ भन्दै सभामुखको ध्यानाकर्षण गरेका थिए । 

बैठकमा सांसदहरूले दुर्घटना बढेको भन्दै सडकलाई व्यवस्थित गर्न समेत सरकारसँग माग गरे । संसद बैठकमा विशेष समय लिएर सांसदहरूले हरेक दिन सडक दुर्घटना बढ्नुमा दोषी को भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा सांसद् रेशमबहादुर बानियाँले दुर्घटनाबाट पछिल्लो समय ठूलो जनधनको क्षति भएको भन्दै सडकलाई व्यवस्थित गर्न र सवारी चालक अनुमतिपत्र वितरण व्यवस्थालाई समयसापेक्ष बनाउन माग गरे । 

त्यस्तै सांसद डाक्टर दुमनसिंह थापा क्षेत्रीले पहाडका सडक कच्ची हुनु र पुराना सवारी साधनका कारण दुर्घटना बढेको बताए ।  सांसद लीलादेवी श्रेष्ठले यातायात क्षेत्रमा देखिएको सिण्डिकेट व्यवसायीले नभई सरकारले नै गरिरहेको आरोप लगाइन् । उनले सडकको नाजुक अवस्थालाई सुधार गर्नुपर्ने भन्दै यातायात क्षेत्रलाई व्यवस्थित बनाउन प्राधिकरणको व्यवस्था गर्न पनि माग गरिन् । संसद्को अर्को बैठक मंगलबार दिउँसो २ बजे बस्दैछ । 

यसैबीच, व्यवस्थापिका–संसद्ले विशेष आर्थिक क्षेत्र (सेज) विधेयक–२०७१ लाई बहुमतले पारित गरेको छ । अघिल्लो सरकारले संसद्मा पेश गरेको विधेयक सोमबार बसेको संसद् बैठकले बहमुतले पारित गरेको हो । विधेयक पारित गर्नुअघि बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उद्योगमन्त्री नविन्द्रराज जोशीले मुलुकको आर्थिक क्षेत्रको विकास र निर्यात व्यापार बढाउन यो विधेयक ल्याइएको बताए । 
१४ भदाै, २०७३ ।