राजनीति

कांग्रेसमा भागबण्डा मिल्यो, देउवा बने लचिलो

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले नेता पौडेललाई भनेजति नै मन्त्री दिन तयार भएपछि कांग्रेसभित्रको किचलो लगभग साम्य भएको छ । पार्टीभित्र भागबण्डा नमिलेर मन्त्री पठाउन ढिलाइ गरेको नेपाली कांग्रेसले सम्भवतः आजै सबै मन्त्रीको नाम टुंगो लगाउने छ । 

नेता रामचन्द्र पौडेलले १३ मन्त्रालयमध्य पाँच मन्त्रालय नभए सरकारमा सहभागी नै नहुने अडान राखेपछि विवाद चुलिएको थियो।  विवादले चरम रुप लिँदा कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने थप मन्त्रीहरु पठाउने विषय नै अन्योल बनेको थियो । 

पौडेल निकट स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवा पाँच मन्त्री दिन तयार भएका छन् । बिहीबार देउवाले पौडेलसँग वार्ता गर्ने जिम्मा सरकारमा पार्टीको नेतृत्व गरेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई खटाएका थिए ।

कांग्रेस नेता नविन्द्रराज जोशीले भने, ‘पाँच मन्त्रालयमा सहमति भयो भन्ने खबर आएको छ ।’ यसअघि पटक–पटक भएको छलफल असफल भएपछि पौडेल समूहले पाँचमन्त्री र चार राज्यमन्त्री नपाए आफ्नो तर्फबाट सरकारमा सहभागी नहुने चेतावनी दिएको थियो । जसका कारण बुधबार मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।

पौडेल समूहले पाउने मन्त्रालयहरु भने टुंगिएको छैन । यसबारे आन्तरिक छलफल जारी राखिएको छ । नेताहरुले आजै सबै टुंग्याउने भनेकाले आजै मन्त्रिपरिषद् विस्तारको सम्भावना छ । भागबण्डा मिलेपछिसँगै आज मन्त्रिपरिषद् विस्तारको सम्भावना बढेको छ, अन्यथा भोलि बिहान कांग्रेसका मन्त्रीकाले सपथ लिनेछन् । 

कांग्रेसभित्रको आन्तरिक विवादको कारण देउवाले नाम पठाउन नसकेपछि बुधवार राती प्रधानमन्त्री प्रचण्डले देउवालाई टेलिफोन गरेर अब कति दिन लाग्छ भन्ने प्रश्न समेत गरेका थिए ।