राजनीति

बुधबार मन्त्रिपरिषद विस्तार हुँदै, कांग्रेसबाट सर्ट लिस्टमा को–को छन् ?

काठमाडौं–  बुधबार मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । नेपाली कांग्रेसले आफ्नो भागका मन्त्री बुधबार पठाउने भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो । सभापति शेरबहादुर देउवाले कांग्रेसको तर्फबाट सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाइसकेका बताएका छन् । उनले मन्त्री छनोटका विषयमा पार्टीमा कुनै पनि विवाद नरहेको बताए ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले मंगलबार टोखास्थित निवासमा आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा देउवाले भने, ‘सबै टुंगो लागिसकेको बताएका हुन् । कांग्रेसले भागमा परेका १३ मन्त्रालयमध्ये हालसम्म विमलेन्द्र निधि र रमेश लेखकमात्र सरकारमा छन् । अझै ११ जनालाई कांग्रेसले छनोट गर्न बाँकी छ ।

कोइराला लामो समयको उपचारपछि मंगलबार पहिलोपटक सार्बजनिक भएका हुन् । उनले आफ्नै निवासमा आयोजना गरेको चियापान कार्यक्रममा जिल्ला कांग्रेसका शिर्ष नेताहरु, जिल्ला सभापतिहरु र कार्यकर्ताहरु सहभागी थिए । पहिलो मन्त्रिपरिषदमा कांग्रेसका तर्फबाट विमलेन्द्र निधी र रमेश लेखकलाई सरकारमा पठाएका देउवाले बुधबार आफू निकटका लागि मन्त्री बनाउने तयारी गरेका हुन् ।

बुधबार मन्त्री बन्नेहरुमा अर्जुननरसिंह केसीसहित डा.प्रकाशशरण महत, फरमुल्लाह मन्सुर, बालकृष्ण खाँड, भीष्मराज आङ्दम्बे, जीवनबहादुर शाही र अम्बिका बस्नेतको नाम चर्चामा रहेको छ । यसअघि गृह नपाएर असन्तुष्टी जनाउँदै मन्त्रीमा नगएका केसीलाई शिक्षा तथा बालकृष्ण खाँडलाई रक्षा मन्त्रालय दिने तयारी छ । यस्तै, मन्सुरलाई सिँचाइ, शाहीलाई वन र भीष्मराज आङ्दम्बेलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको स्रोतको दाबी छ ।

देउवाले बाँकी चार वटा मन्त्रालयमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको सिफारिसमा मन्त्री बनाउने भएका छन् । पौडेलले आफ्नोतर्फबाट कोषाध्यक्ष शेखर कोइराला, सीतादेवी यादव, नबिन्द्रराज जोशी, दीपक गिरी र कमला पन्तको नाम चर्चामा छ । गिरीलाई महामन्त्री सशांक कोइरालाको आग्रहमा पौडेलले सिफारिस गरेका हुन् । शेखर कोइराला भने परराष्ट्र मन्त्रालय पाए मात्रै जाने स्रोतको भनाइ छ । देउवाले भने परराष्ट्रमा आफू पक्षका प्रकाशरणलाई बनाउने योजनामा छन् ।