राजनीति

मन्त्रिपरिषद्मा भारत र चीन भ्रमणकै चर्चा

काठमाडौं– मंगलबार बसेको मन्त्रीपरिषदको बैठक नेपाल सरकारका विशेष दूतका रुपमा २ उपप्रधानमन्त्रीले  भारत र चीन भ्रमण गरेको विषयमा छलफल गरेको छ । बैठकले उप्रधानमन्त्री द्वयले गरेको दुई देशको भ्रमण फलदायी भएको निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न बैठकले नयाँ सरकार गठनपछि छिमेकी देशहरुसँगको सम्बन्ध नयाँ उचाईमा उठेको निष्कर्ष निकालेको हो ।
मन्त्रीपरिषद् बैठकका निर्णयबारे पत्रकारहरुलाई जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले ‘विशेष दुतहरुको भारत र चीन भ्रमणले छिमेकीसँगको सम्बन्ध नयाँ उठाईमा विकसित भएको’ बताए ।
मन्त्री कार्कीले भन्नुभयो, ‘दुवै विशेष दुतले भ्रमणको संक्षिप्त जानकारी गराउनुभयो । सरकारका प्राथमिकताप्रति दुवै छिमेकीले सकारात्मक चासो राखेको उनले बताए ।
 भारत र चीनको सरकार, नागरिक समाज र राजनीतिक नेतृत्वले नेपालको संक्रमणकालमा सकारात्मक सदासयता राखेको कुरा उपप्रधान मन्त्रीहरुले जानकारी गराए ।
बैठकले राष्ट्रिय बिपत् प्रतिकार्यको कार्यव्यवस्था सम्बन्धि आएको विद्येयक समितिमा पठाउने निर्णय गरेको छ । साथै बैठकले प्रधानमन्त्रीको निर्देशनमा बजार अनुगमनमा भएको प्रगतिलाई पनि अनुमोदन गरेको छ । सो क्रममा प्रधानमन्त्रीको निर्देशन र आपूर्ति मन्त्रालयको पहलमा गरिएको संयुक्त बजार अनुगमन टोलीले कालोबजारी, कृतिम अभाव, म्याद नाघेका सामान बिक्री गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याएको पनि प्रवक्ता कार्कीले जानकारी दिए ।