राजनीति

मोदी–निधि भेटवार्ताः मोदी नेपाल आउन इच्छुक

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रुपमा भारतको तीन दिने भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले  आफू नेपाल आउन इच्छुक रहेको निधिले बताए । प्रधानमन्त्री मोदीले भारत नेपालमा शान्ति, स्थायित्व र विकास भएको हेर्न चाहेको समेत निधिले जानकारी दिए ।  भेटमा भारतीय प्रधानमन्त्री मोदीलाई मन्त्री निधिले प्रधानमन्त्री प्रचण्डको नेपाल भ्रमणको निम्तो हस्तान्तरण गरे ।

हैदरावाद हाउसमा भएको ४५ मिनेटको भेटवार्तामा प्रधानमन्त्री मोदीले संविधान जारी भएपछिको नेपालको राजनीतिक अवस्थाको बारेमा चासो व्यक्त गरेका थिए । जवाफमा मन्त्री निधिले संविधानमा असन्तुष्ट राख्ने मधेसी मोर्चाको माग सम्बोधन गर्नेगरी छिट्टै संशोधन प्रस्ताव अघि बढाइनेबारे विश्वास दिलाए ।

निधिले प्रधानमन्त्री मोदीलाई जनकपुर, मुक्तिनाथ र लुम्बिनीमा धार्मिक भ्रमण गराउने बारेमा विशेष आग्रह गरेका थिए ।  जवाफमा मोदीले आफू उपयुक्त समयमा नेपाल भ्रमणमा आउने आश्वासन दिए ।

भेटमा भारतको तर्फबाट मोदीसँगै विदेश सचिव एस. जयशंकर, सुरक्षा सल्लाहकार अजित दोभल रहेका थिए भने नेपालको तर्फबाट मन्त्री निधि र  भारतका लागि कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल थिए ।