राजनीति

मन्त्री महराको चीन भ्रमणको वेली-विस्तार

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा चीन गएका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा चीनको साताव्यापी भ्रमण सकेर शनिबार स्वदेश फर्केका छन् । अर्का दूत विमलेन्द्र निधिले भारतमा उच्च तहको भेटघाट गरिरहनु भएको छ ।

चीनको भ्रमण सकेर शनिबार नेपाल फर्किएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री महरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निकै मख्ख देखिएका थिए ।  पत्रकार सम्मलेनमा मन्त्री महराले पुस्तक पढेझैँ खरररर चीन भ्रमणको बेलीविस्तार सुनाए ।

चीन भ्रमणका क्रममा नेपाली टोलीले निकै महत्व पाएको महराले दाबी गरे । भ्रमणको सुरुमै चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटघाटले आफू निकै उत्साहित भएको महराको प्रतिक्रिया थियो ।
‘विदेशमन्त्रीले नेपाली टोलीले उठाएका हरेक कुरालाई पोजेटिभ रेस्पोन्स गर्नुभयो’ प्रफुल्लित मुद्रामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले जानकारी दिए ।

यसैबीच चीन नयाँ सरकार गठनमा सकारात्मक देखिएको भन्दै मन्त्री महराले यसअघि केपी ओली नेतृत्वको सरकारले चीन सरकारसँग गरेका सम्झौता अहिलेको नयाँ सरकारले कार्यान्वयन गर्नेमा आफू ढुक्क रहेको बताए ।  चिनियाँ प्रधानमन्त्री ली खछियाङ र विदेशमन्त्री वाङ यीसँगको भेटमा केपी ओली सरकार लगायत यसअघिका सरकारले गरेका सबै सन्धी सम्झौता कार्यान्वयन गर्न प्रचण्ड सरकार प्रतिवद्ध रहेको महराले जानकारी गराए ।
महराले चीनसँगका विकास तथा कुटनीतिक सम्झौता कार्यान्वयन गर्न नेपाल तयार रहेको जनाएपछि चिनियाँ पक्ष पनि खुसी भएको महराको दावी छ । नेपालको प्रतिबद्धता सुनेर चीनका प्रधानमन्त्रीले चीनले नेपालमा थप सहयोग गर्ने चाहेको बताएको महराको दावी छ ।

उनले  चीनका राष्ट्रपति सि जिङ पिङको  सम्भावित नेपाल भ्रमण लगभग पक्का भएको पनि जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना समकक्षीलाई पठाएको निम्तोपत्रले चिनियाँ अधिकारी उत्साहित भएको जनाए ।