राजनीति

चैतमा स्थानीय निकायको चुनावः मन्त्री पाण्डे

काठमाडौं– स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तहको निर्वाचन फागुन वा चैत महिनामा गर्ने गरी सरकारले तयारी अघि बढाएको बताएका छन्।

 मन्त्रीपरिषद् बैठकले स्थानीय तहको निर्वाचन कार्यविधि सम्बन्धी विधेयक तयार पार्न सैद्धान्तिक सहमति दिएकै दिन स्थानीय विकास मन्त्री पाण्डेले प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारमाथि निर्वाचन नगर्ने षड्यन्त्र गरेको आरोप लगाए पनि सरकारले फागुन वा चैत महिनामा निर्वाचन गर्ने गरी तयारी अगाडि बढाएको बताएका हुन् । 

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेले भने, ‘तपाईहरु ढुक्क हुनुहोस्, हामी चैतभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्छौं ।’ सरकार चुनाव नगर्ने षड्यन्त्रमा रहेको एमाले आरोपमा कुनै सत्यता नभएको उनले बताए ।

मन्त्री पाण्डले स्थानीय निकाय पुनर्संरचनासम्वन्धी आयोगले सिफारिस गरेको स्थानीय निकायको संख्यामा कुनै विवाद नभएको तर्क गरे । उनले अघि थपे, ‘अहिले आयोगले ३६५ को संख्याको सिफारिश गरेको छ, यो संख्यामा तलमाथि हुन्छ ।’ जनताको अधिकार कटौति नहुने गरी संख्या निर्धारण हुने उनले बताए बताए ।

उनले स्थानीय तहको पुनर्संरचनाको काम प्राविधिक मात्र नभएर राजनीतिक पनि भएकाले सरकारले पुनर्संरचनाको मापदण्डका विषयमा दलीय सहमति जुटाएर अघि बढ्ने दाबी गरे ।