राजनीति

के के निर्णय भए मन्त्रिपरिषद् बैठकमा ?

काठमाडौं– विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मधेस आन्दोलनमा मारिएका १० सुरक्षाकर्मी र ४१ आन्दोलनकारी ५१ जनालाई शहिद घोषणा गरेको छ ।  सरकारले आन्दोलनकारीका तर्फबाट मारिएका प्रहरीलाई पनि सहिद घोषणा गरेको हो ।

शहिद घोषणाका लागि सिफारिस भएकामध्ये ६८ जनाको सूची मध्ये बाँकीलाई छानविन गर्नुपर्ने देखिएपछि ५१ जनाको नाममात्र प्रस्ताव गरेको हो । मन्त्री शर्माका अनुसार मधेसी मोर्चाले शहिद घोषणाका लागि प्रस्ताव गरेको भारतिय नागरिक आषिस रामलाई सूचीबाट हटाएको बताएका छन् । 

यस्तै मन्त्रिपरिषदले शहिद घोषणा गरिएका व्यक्तिको परिवारलाई १० लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउने समेत निर्णय गरेको छ । यसैगरि मन्त्रिपरिषदले तराई आन्दोलनका क्रममा भएका घटना छानविन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन गरेको छ ।

मधेस आन्दोलनका क्रममा भएका हिंसात्मक घटना, निजी तथा सार्वजनिक सम्पत्तिमा पुगेको क्षति लगायतबारे छानविन गर्न आयोग गठन गरेको हो ।  सर्वोच्चका पूर्वन्यायाधीश लालको अध्यक्षमा बनेको आयोग सात सदस्यीय रहनेछ । तर, अरु सदस्य भने प्रधानमन्त्रीको सहमतिमा गृह मन्त्रालयले थप्ने निर्णय गरेको छ ।

नयाँ सरकार गठनका क्रममा कांग्रेस र माओवादीले मधेसी मोर्चासँग गरेको तीनबुँदे सहमतिमा आयोग गठन गर्ने पनि उल्लेख थियो । साथै योजना आयोगका सहसचिव गोपिनाथ मैनालीलार्इ सचिवमा बढुवा गरिएको छ।
त्यस्तै, काबुल घटनामा परी मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउने क्रममा लागेको खर्च सरकारले तुरुन्त भुक्तानी गर्ने निर्णय समेत गरेको छ । 

२ भदाै, २०७३ ।