विचार

नेवारी परम्परामा बेल विवाहको अर्थ र महत्व

–राजु नापित

नेपालको राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न ठाउँमा छरिएर रहेका नेवार समुदायले संस्कृति, सम्पदा र संस्कार जोगाउने अभियानलाई निरन्तरता दिएका छन् । वर्षै भरी मनाइने ३२ भन्दा बढी चाडपर्व तथा अरु विभिन्न संस्कारहरु यिनैका उदाहरण हुन् । नेवार समुदाय कहिले बिस्केट जात्रामा रमाएको देखिन्छ त कहिले इन्द्रजात्रा मनाउन व्यस्त भेटिन्छन् । कहिले मच्छिन्द्रनाथको रथ तान्न तल्लिन देखिन्छ त कहिले मुकुण्डो लगाई नाच देखाउन तथा अरु यावत क्रियाकलाप प्रदर्शन गर्न । यिनै परापूर्व कालदेखि अनवरत रुपमा अंगाल्दै आएका संस्कृति र संस्कारले समग्र मुलुकलाई विश्वसामु गर्वसाथ शिर उठाउनसमेत सहयोग गरेको छ । यी र यस्तै संस्कारहरु मध्ये कै बालिकालाई पाँचदेखि एघार वर्षभित्र गरिने बेल विवाह महत्वपूर्ण संस्कारहरु मध्ये कै एक हो ।

बेल विवाहलाई नेवार शब्दमा ‘इहि’ भन्ने गरिन्छ । विशेषगरी बिजोर वर्षको साइतमा बालिका रजस्वला हुनु अगावै गरिने संस्कार मध्य बेलविवाह महत्वपूर्ण संस्कार हो । भनिन्छ, नेवार समुदायमा केटीको आफ्नो जीवनमा तीन पटकसम्म विवाह हुन्छ । ती हरेक विवाहमा केटीको बुवाले कन्यादान गर्छन् । यिनीहरुमध्ये शुरुको कन्यादानको रुपमा बुवाले सर्वगुण सम्पन्न पुरुषार्थ ज्वाईंको रुपमा सुवर्णकुमारका प्रतिक बेलसँग विवाह गरिदिएर कन्यादान गर्ने गर्दछन् ।

बेलसँग विवाह गरिदिने संस्कार भएर यसलाई बेलविवाह भन्ने गरेको एकथरी बुद्धिजिवीको भनाइ छ । बेलसँग गराइने विवाह, केटी परिपक्व भइसकेर वरसँग गरिने विवाह सरह भएपनि यसलाई सामुहिक रुपमा गरिंदै आएको देखिन्छ । सामुहिक रुपमा गरिने बेलविवाहको लागि कम्तिमा पाँच बालिका आवश्यक पर्छन् । तिनीहरु मध्ये मण्डप अगाडि राखिने शुरुको बालिका मुख्य हुन्छ भने अरुलाई क्रमानुसार दोस्रो, तेस्रो गरी राखिन्छ । मण्डप अगाडि राखिने शुरुका पाँच बालिकासँगै अरुलाई पनि सहभागी गराइ बेल विवाह संस्कार सम्पन्न गरिन्छ ।

बेल विवाह संस्कार नेपाल संवत् तिथि अनुसार ‘बछलाथ्व’ अक्षय तृतियाको अवसर पारी दुई दिनसम्म गरिन्छ । शुरुको दिन बेलविवाह समारोहमा सहभागी गराउने बालिकालाई हात खुट्टाको नङ काटी, नुवाईधुवाई गरेर सरसफाइ गरी समारोहस्थलमा लगिन्छ । यता बेलविवाह गराउने पुरोहितले कलश राखी गणेश, क्षत्रपाललगायत अरु विभिन्न देवगणलाई प्रतिक मानी पूजापाठ गर्छन् । पूजामा नेवार शब्दमा कुह्मःका ग्वारा, ज्यनाः लप्ते, चाकु, कँय्, हलू, सुखुन्या, ग्वःगु ग्वय्, ताय् आदि सामाग्रंी राखिएको हुन्छ । बेलविवाहमा सहभागी गराउने बालिकालाई अभिभावकले परम्परागत भोटे ताल्चा समाउन लगाई पानीको धारा छुटाई स्वागत गरी मण्डप अगाडि बसाइन्छ । त्यसपछि क्रमशः अरु सहभागिलाई बसाइन्छ ।

त्यसपछिको पूजापाठ रम्स अनुसार नेवार शब्दमा ईका पःकाया कुँ थनेगु अर्थात धुपौरो बाल्ने र धौपति राख्ने गरिन्छ । तीन पटकसम्म कलशमा र एक पटक घरका मूल देवगणको नाममा पूजा गर्न दिइ बालिकालाई टिका लगाइ दहि मुछेको निधारमा लगाइ फूल स्यूरिने गरिन्छ । समारोहका मान्यजनबाट बालिकाको पाउदेखि शिरसम्म पहेंलो रङ्गको धागोले बेर्न लगाइन्छ । उक्त धागोले एक सय आठ चक्कर लगाइ बेरिएको हुन्छ । त्यसपछि नेवार शब्दमा ज्यनाः लप्ते अर्थात चोखो पातमा विभिन्न पूजा सामाग्री राखी पोको पारी गाँठो बनाइन्छ ।

मान्यजनबाट कलशमा र अरु अभिभावकले विभिन्न नामका प्रतिक मानिएका देवगणलाई पूजा गरी दक्षिणा चढाइ टिका लगाइन्छ । पूजापाठ सकेर कलशको जल, र टिका लगाइ प्रदान ग्रहण गरिन्छ । त्यसपछि काठबाट बनेको पाथीमा मान्यजनबाट फलफूलका टुक्रा राखी बालिकालाई तीन पटक पूजा गरिन्छ । दियो बाली सकेर चामल भुटेको एक प्रकारको बस्तु जसलाई नेवार शब्दमा ताय् भनिन्छ सो बस्तु छरि शुभकामना दिने चलन छ । त्यसपछि मान्यजनबाट भोटे ताल्चा समाउन लगाई जलको धारा छुटाइ स्वागत गरी समारोहस्थलमा लगिन्छ । बाटोमा सिलौटामा मास राखी बालिकालाई पिन्न लगाइन्छ । बेलविवाह समारोहमा पूजापाठ सकेर प्रसाद ग्रहण गर्न लगाइ टिका लगाइ दिने चलन छ । थाय्भू अगाडि राखी सुर्य देवतालाई दीप बाली पूजा गरिन्छ । भुईंमा पात बिछ्याइ स्थानिय भाषामा थाय्भू नकी अर्थात खाना खुवाइन्छ । खाना पछि चुथेर दीयो बालेर बालिकाले पूजा गर्न दिइ कलं वाये यंकेगु संस्कार गरिन्छ, सो पश्चात दुस्वःया संस्कार सम्पन्न हुन्छ ।

समारोहको भोलिपल्ट बेल विवाहको मुख्य विधि सुरु हुन्छ । बेल विवाह गर्ने बालिकालाई फच्छिं नीसि गरी मण्डप अगाडि बसाइन्छ । त्यसपछि पुनः बालिकालाई सर–सफाइ गराइन्छ जसलाई नेवार शब्दमा नीसि गरेको भन्ने हुन्छ । बालिकालाई टाउकोमा सिन्दुर लगाइ दिई विशेषप्रकारको साडी दिइन्छ जसलाई इहि पर्सी भन्ने गरेको छ । बालिकालाई साडी लगाइदिनेको अर्थ केटीको रुप दिनु हो । समारोहमा पुरोहितले यज्ञ गरी पूजापाठ सकेर बालिकालाई पनि पूजा गर्न दिइन्छ । त्यसपछि बुवाले बालिकालाई आफ्नो काखमा राखी अगाडि रहेको बेल र चोखो सुनलाई आफ्ना इष्ट देवगणको रुपमा जल, सिन्दुर, अक्षता, फूलका साथै अरु पूजा सामाग्री राखी पूजा सकेर जौ, तील, कुश हातमा लिइ आमाले जल र दूधको धाराका साथ बेल र चोखो सुन भुईंमा राखिन्छ र बालिकालाई बुवाको काखबाट मण्डप अगाडि बसाइन्छ । यस बिधिलाई कन्यादान भनिन्छ ।

यसरी कन्यादान दिनेबेलामा पूजाथालीमा बेल र चोखो सुन राखी आफ्ना इष्टदेवता मानी पूजा गरेर सो बालिका समेतलाई सदस्य मानी त्यहाँको सम्पूर्ण नीति नियम पालना गर्नेगरी कन्यादान दिइन्छ । कन्यादानपछि बुवाले गक्षअनुसारको दक्षिणा चढाउँछन् । पुरोहितले बालिकाको दुबै हातमा बेल समाउन लगाइ डोरीले बाँधी मान्यजनबाट मण्डप परिक्रमा गर्न लगाइ आ–आफ्नो ठाउँमा बसाउछन् । परिक्रमा पछि बालिकाका आफन्तबाट पूजा गरी दान दिन लगाउने चलन छ जुन संस्कारलाई बाह्रा छुकेगु भनिन्छ । नेवार समाजमा केटीले गर्नुपर्ने घरयासी कर्म गर्न लगाइन्छ जस्तो ढिकी, चिउरा कुट्ने, नाङ्लो निफन्ने आदि । घरयासी कर्मपछि मान्यजनको हातबाट सम्पूर्ण देवगणलाई पूजाका साथै टिका लगाइ दक्षिणा दिइ होम गरी पुजाविधि सम्पन्न गरिन्छ । त्यसपछि कलशको जल तथा प्रसाद ग्रहण गरी मान्यजनबाट ज्वालान्हाय्क अर्थात एक प्रकारको पूजा गर्न प्रयोग हुने सामान प्रयोग गरी बेलविवाह संस्कार सम्पन्न गरिन्छ ।