विचार

मन लागेन हिलारीसँग फोटो सेसन गर्न

शैलेष श्रेष्ठ
मान्छे हुनुको अर्थ र परिभाषामा हरेक मान्छेको आआफ्नै बानी, व्यहोरा अनि शैली हुन्छ त्यहि नै उसको अनि उ हुनुको परिचय हो । म मानिससँग सम्बन्ध स्थापित गर्ने अनि निरन्तरता दिने प्रसंगमा अलि पृथक अनि केहि हदसम्म अप्ठेरो पनि छु । मलाई बलेको आगो ताप्ने रुची पटक्कै छैन बरु थोरै राप आउने नै सहि म आफ्नै औकात, ल्याकत अनि बुतामा आगो बालेर ताप्छु । राम्रै चिनजान अनि सम्बन्ध भएकाहरु पनि राजदुत, मन्त्री, प्रधानमन्त्री अथवा राष्ट्रपति जस्ता उपल्ला ठाउँमा पुगेपछि उनीहरुलाई म पहिले चिन्ने गरेको भन्दा कम चिन्छु अथवा चिन्दिन । मलाई के लाग्छ भने उनीहरु मेरालागि भन्दा पनि समाज, राष्ट्र र जनतालाई राप, ताप अनि सेवा दिने बन्नु पर्छ अनि त्यस्तो बन्न उनीहरुलाई हामीले सघाउनु पर्छ । न्युयोर्क प्राईमरीको दुई दिन अघि मलाई अहिले ह्वारह्वार्ती बलेकी हिलारी तापको क्षणिक रापमा ओभानो अनि रापिलो हुने सानो सुयोग (अहोभाग्य नै चाँही नभनौं) जु¥यो तर किन हो कुन्नि त्यहाँ गएर कुम जोडेर सेल्फी खिच्दै फेसबुके प्रदर्शनी गर्न मेरो मनले मानेन । म यसै पनि मनको आदेश मानेर काम गर्ने अनि लेख्ने मान्छे । अहँ हरेक किसिमले सम्झाउँदा पनि मेरो मनले त्यसो गर्न मानेन । अन्तत म उनलाई स्वागत सम्मान गर्दै उनको बनावटी आश्वासन थाप्न त्यहाँ पुगें ।
हामीले सन २००२ मा स्थापना गरेको रेस्टुरेन्ट अपच्र्युनिटी सेन्टर, न्युयोर्क (रक–न्युयोर्क)का श्रमजिवी मालिकहरुका निम्तामा हिलारी क्लिन्टन हामीले नै सञ्चालन गरेको कलर्स रेस्टुरेन्टमा ‘ग्लुटन फ्री’ लन्च चाख्न आईन । त्यहि अवसरमा मौकामा चौका हान्न माहिर हिलारीले न्यून तलबमा जीवन बिताउन बाध्य भएका कामदारहरुले आरम्भ गरेको ‘वान फेर वेज’ आन्दोलनको पक्षमा आफ्नो चुनाबी आश्वासन बाँडिन् । मुस्किलले स्टेटको मिनिमम वेजको कमाई गर्ने हाम्रा रेष्टुरेन्टकर्मी साथीहरुले खुब ताली ठोके अनि सँगै बसेर फोटो सेसन गर्न पाएर दंग परे । केहि दिन सामाजिक संजालका पन्नाहरु ति तस्वीरहरुले रङगीन बने । यिनै र यस्तै गरिब कामदार, निम्नमध्यमवर्गीय, आप्रवासी अनि आमश्रमजिवीहरुको मुद्दामा उम्दा देखिएका मात्र होइन च्याम्पियन बनेका मेरो निजी रुचीका उम्मेद्वार बर्नी सान्डर्सको अगाडि उनको त्यो क्षणिक चुनाबी राप अनि ताप दिने आस्वासनले मलाई पटक्कै तान्न सकेन । न्युयोर्क प्राईमरीको ठीक दुई दिन अघि हिलारीसँग फोटो सेसन गर्दा मेरो रोजाइको व्यक्ति बर्नी मात्र होइन् बर्नी विचारप्रतिनै घात गरेको पो हुने हो कि भन्ने मनको अप्ठेरोले त्यो जमघटमा जाने रुची पटक्कै भएन । अहिले जसरी न्युयोर्क राज्य अनि सहरका प्रगतिशील अनि उदार डेमोक्रेट्सहरु हिलारी र बर्नीमा विभाजित भएका छन् त्यसको प्रतिछाया हाम्रो संगठन रक न्युयोर्कमा पनि परेको छ ।
अमेरिकी माथिल्लो सदनमा काँग्रेसम्यान मिलर र सिनेटर हार्किनले प्रस्ताब गरेको संघीय तलबमान बढाउने बिधेयकमा हिलारी क्लिन्टनले निक्कै ढिला गरि आफ्नो समर्थन जनाएकी थिईन भने सिनेटर बर्नी सान्डर्सले त्यो प्रस्तावित प्रतिघन्टा नौ डलर बनाउने प्रस्ताब अपुग छ अब आम सेवासँग सम्बन्धित कामदारहरुको प्रतिघण्टा तलबमान १५ डलर हुनुपर्छ भनेर उनले संयुक्त सिनेटको फ्लोरमा बोलेका थिए । क्यालिफोर्निया राज्यले यो ‘वन फेर वेज’ बिल पास गरिसकेको छ । दुःखका साथ एउटा सत्य मैले लेख्ने पर्छ हिलारी क्लिन्टन कहिल्यै आप्रवासीहरुको मुद्दामा च्याम्पियन बन्न सकिनन् अथवा चाहिनन् । बिगत १९ वर्षदेखि टिप्समा आधारित कामदारहरुको संघीय तलबमान प्रतिघण्टा २ डलर १३ सेन्ट छ, पुरुष कामदार र कर्मचारीहरुको अनुपातमा महिलाहरुले आम्दानीको ८७ प्रतिशत मात्र पाउँछ । सैनिक सेवामा काम गर्ने महिलाहरु माथिको यौन शोषणको फेहरिस्त सरम लाग्दो गरि सार्वजनिक भएका छन् त्यसको विरुद्धमा हाम्रै न्यूयोर्क राज्यका अर्की सिनेटर क्रिस्टिन जिलिब्रान्टले बिशेष बिल पेस गरिसकेकी छन् । संसारको औद्योगिक अनि अति विकशित राष्ट्र मध्य अमेरिका मात्र एउटा यस्तो राष्ट्र हो जसले आफ्ना परिवार, बिरामीजन अनि नवजात शिशु हेरचाहको लागि पेड सिक डेज (बिरामी बिदा) को प्रत्याभूति गर्दैन । अमेरिकी माथिल्लो सदन सिनेटमा लामो कालखण्ड एक्लो बृहस्पतीका रुपमा ‘अमेरिकी कर्पोरेट ग्रीड’ को विरुद्धमा अनि साम्राज्यबादी अमेरिकी पुरातनवादी बैदेशिक नीति अनुरुप अरु स्वतन्त्र र स्वाधीन देशमा हस्तक्षेप र हमला गर्ने अमेरिकी नीतिको विरुद्धमा आगो ओकल्ने एक मात्र स्वघोषित सोसिलिष्ट सिनेटर बर्नी सान्डर्स साँचो अर्थमा एक जना प्रगतिशील राजनैतिक व्यक्तित्व र गरिब, कामदार, श्रमजिवी, अल्पमत अनि आप्रवासीहरुका सच्चा प्रतिनिधि हुन् ।
अमेरिकाको क्रिमिनल जस्टिस सिस्टमले नै सबभन्दा ठूलो र सतहमा देखिने गरी सामाजिक र वर्गीय विभेद खडा गरेको छ । जीवनयापनको लागि एक खिल्ली चुरोट बेच्दा एक जना गरिब अस्वेतलाई दिनदहाडै खुल्ला बाटोमा पुलिसले घाँटी थिचेर मार्छ अनि दिन दहाडै निर्दोष अश्वेतलाई घाँटी निमोठेर मर्ने पुलिसले सफाई पाउँछ तर ‘टु बिग टु फल’ को परिभाषामा पर्ने ठूला बैंक र वित्तीय कम्पनीहरुलाई गरिब कामदार बर्गले तिरेको आयकरबाट ‘बेल आउट’को सुबिधा र प्रत्याभूति दिइन्छ । न्यूयोर्कमा मैले आफ्नो अधिकारकर्मको क्रममा त्यस्तो थुप्रै दुरुह सत्यहरु नजिकबाट देखेको अनि भोगेको छु । अमेरिकी सपना बुन्ने एकजना अल्पसंख्यक काला अथवा ल्याटिनो बिद्यार्थी ट्रेन भाडा तिर्न नसक्ने अवस्थामा बिना टिकट ट्रेन स्टेशन छिरेको आरोपमा दशकौं जेलमा कोचिन बाध्य भएको दुर्दान्त यथार्थ न्युयोर्क जस्तो प्रगतिशील र उदारहरुले शासन सञ्चालन गरेको राज्य र सहरमा छ । अमेरिकाका रुढिवादी परम्परागत राज्य भनेर जानिने ‘रेड स्टेट’हरुमा त आममानिसहरुले कल्पना गर्नै नसक्ने स्तरका रंगभेदी ज्यादतीहरु यथावत छन ।
गोल्डमेन सेक मात्र होइन त्यस्ता थुप्रै बहुराष्ट्रिय निगमहरु तथा कर्पोरेट अमेरिकाका मालिकहरुसँग हिलारी क्लिन्टन र क्लिन्टन परिवारको घनिष्टता र निकटता छ । हिलारीको बौद्धिकता र अनुभब माथि शंका गर्ने मेरो कुनै अभिष्ट अथवा नियत होइन तद्यापि अहिले एउटा युगिन अनि समसामयिक प्रश्न अमेरिकी जनताले उनी तिर तेस्र्याउन थालेका छन् वालस्ट्रीटका बहुराष्ट्रिय निगमहरुबाट प्रति स्पीच छ अंकको पारितोषिक असुल्ने गरेकी बहुराष्ट्रिय कम्पनीहरुसँग सन्निकट रहेकी ‘कर्पोरेट डारलिङ्ग’ हिलारीले के आधार र पृष्ठभूमिमा आमगरिब, कामदार, श्रमजिवी, अल्पमत, आप्रवासी, मध्यम वर्गीय, महिला अनि आमअमेरिकी जनताको पक्षपोषण गर्लिन ?
बुस कार्यकालमा इराकमाथि हमला गर्ने रिपब्लिकन योजनाको पक्षमा उनले दिएको उदात्त अनि निःशर्त समर्थनले पनि उनको युद्ध उन्मादी नियतलाई पुष्टि गर्दछ । उनले न्यूयोर्क राज्यको प्रतिनिधित्व गरे पनि न्युयोर्कबासी प्रगतिशील अनि उदार आममानिसको प्रतिनिधित्व गर्न कहिल्यै सक्षम भईनन् । बिगत दुई कार्यकालको ट्रयाक रेकर्ड हेर्ने हो भने उनी अधिकांश समय रिपब्लिकन पुरातानिक ‘प्ले बुक’द्वारा नियन्त्रित र निर्देशित भएको स्पष्ट देखिन्छ । अहिले चुनावी सभा, समारोह अनि मोर्चाहरुमा महिलाहरुको एक मात्र ‘मसिहा’का रुपमा देखिने हिलारीले श्रमजिवी वर्गको तलबमान बढाउने र पुरुष महिलाबीचको आएमा एकरुपता ल्याउने बिधेयकमा कहिल्यै नेतृत्व त के रुची समेत राखिनन् ।
अमेरिकी प्रगतिशील आन्दोलनमा ‘लिबरल लायन’ भनेर जानिने स्वर्गीय टेड क्यानेडीले स्वास्थ्य र शिक्षा मानब मात्रको नैसर्गिक अधिकार हो भनेर जीवनभर लडिरहे तर उनको राजनैतिक बिरासात थाम्न र थेग्न तम्तयार डेमोक्रेट हिलारीहरु निरन्तर औषधि र बन्दुकमा नाफा कमाउनेहरुको चक्रब्यूहमा फसिरहेका छन । अहिले उनी त्यहि परम्परागत कित्ताको पक्षपोषण गर्दै ‘गन’ र ‘गड’द्वारा निर्देशित कर्पोरेट अमेरिकाको यथास्थितिबादी डेमोक्रेटिक उम्मेदवारका रुपमा पहिलो अमेरिकी महिला राष्ट्रपति बन्ने सपना बुनेर प्राईमरीमा त्यहि बनि बनाउ सपना बेचिरहेकी छिन । आखिर राजनीतिमा सजिलो गरि बिक्ने पनि सपना नै रहेछ ।
उनका पति तथा लोकप्रिय राष्ट्रपति बिल क्लिन्टन अमेरिकी अश्वेत जातिबीच अत्यन्त लोकप्रिय मानिन्छन अहिले हिलारी त्यहि सम्बन्धको लाभ लिई रहेकी छन । प्रगतिशील र उदार डेमोक्रेट्सहरुको प्रचण्ड बहुमतले करिब ७१ प्रतिशत मत ल्याएर एलियट स्पित्जर न्यूयोर्क राज्यको गभर्नर बने । जनता र बिशेष गरेर आप्रवासीहरुलाई दिएको बचन पुरा गर्दै उनले कागजपत्र नभएका सबै आप्रवासीहरुलाई चालक अनुमतीपत्र (ड्राईभिङ लाईसेन्स) दिने घोषणा गरे । प्रगतिशील र उदारबादका पक्षधर सारा मानिसले यो कदमको स्वागत र समर्थन गरे तर हाम्री हुनेवाला अमेरिकाकि पहिलो महिला राष्ट्रपति हिलारी रोधन क्लिन्टनले अनुदारबादी दक्षिणपन्थी रिपब्लिकनहरुसँग स्वरमा स्वर मिलाउँदै गभर्नरको त्यो प्रस्ताबको धुवादार बिरोध गरिन् ।
मैले बुझेको, जानेको, पढेको हिलारी क्लिन्टन त्यहि हुन जो विचारमा कत्ति पनि प्रगतिशील अनि उदार छैनन् । अहिलेको गणित हेर्दा अब उनी डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने करिब निश्चित छ भने आमनिर्वाचनमा उनको जित्ने सम्भावना अतिवादी डोनाल्ड ट्रम्पको तुलनामा निक्कै बढी छ तर उनको जित पश्चात् पनि मध्य दक्षिणपन्थी विचारको सहारामा यथास्थितिबादमा उन्मुक्त रमाएको अमेरिका बैचारिकरुपमा एक इन्च पनि अघि बढ्ने संकेतहरु देखिएको छैन । हिलारीको जित संस्थापन र यथास्थितिबादीहरुको गठजोडको परिणाम अथवा गणित मात्र हुनेछ । उनीहरुको अभिष्ट बनिबनाऊ यथास्थितिवादमा निर्लिप्त रमाउनु भन्दा पर केही हुने छैन ।
अहिले थुप्रै उत्साही नेपाली महिलाहरु हाम्री हुनेवाली प्रथम महिला राष्ट्रपति हिलारी क्लिन्टन भनेर उन्मुक्त रमाएको देख्छु अनि सुन्छु । उहाँहरुलाई भेटमा मैले बिनम्रतापुर्वक सोध्ने गरेको छु, यी माथि उल्लेखित जल्दाबल्दा महिला अनि आप्रवासीहरुका बिराट अनि बिकराल मुद्दाहरुमा हिलारी क्लिन्टनले लामोकाल उपल्लो आसन ग्रहण गर्दा अथवा शासन गर्दा कहाँ, कहिले र कस्ता नेतृत्वदावी भूमिका निर्वाह गरिन् त ? के नेता हुनु भनेको सदनमा बिधेयक पेस हुँदा सदनको अन्तिम लाईनमा बसेर अन्तमा हात उठाएर अथवा टेबल ठटाएर समर्थन गर्नु मात्र हो ? नेता हुनु भनेको त बिधेयकहरुको अगुवाई गर्नु हो । कहिले अनि कुन कुन मुद्दामा उनि च्याम्पियन बनिन ? लिबरल लायनको नामले ससम्मान जानिने सिनेटर टेड क्यानेडी त्यस्ता च्याम्पियन थिए भने अहिले त्यहि राज्य म्यासाचुसेट्सकि अर्की प्रगतिशील सिनेटर एलिजाबेथ वारेन त्यहि गन्तब्य तर्फ उन्मुख छिन् ।
यी र यस्तै यथार्थपरक वैयक्तिक बिबेचना र कारणहरुले गर्दा म चाहिँ आशाको भिख माग्दै हिलारीसँग फोटो सेसन गर्न गईन अथवा मलाई चाहिँ फगत हाम्री प्रथम अमेरिकी महिला राष्ट्रपतिको स्वोरकल्पनामा निरपेक्ष सपना बुन्दै काल्पनिकरुपमा रमाउन त्यहाँ जान पटक्कै मन लागेन । मनलाई नै ढाँटेर के उत्सब गर्नु ? म सकिन्जेल बलेको आगो ताप्दिन बरु ज्वलनशील पतझड अनि पात पतिङ्गर खोस्रेर, खोजेर आफ्नो आँत र औकातको धिपधिपे बालेर विचार अनि ब्यबहारमा रापिलो बन्छु । मनको आदेशमा बोल्छु अनि लेख्छु तर त्यहि मनलाई नै ढाँटेर क्षणिक अनि काल्पनिक उचि उडान चाहिँ भर्दिन ।
Email: info@sampreshan.org