विचार

नयाँ आयाम र आयातनमा लेखक संघ

– वसन्तप्रकाश
नेपाली लेखक संघ(२००८) को कार्यालय (वि.सं. २०७३) खुल्ने भएछ । संघका नवनिर्वाचित अध्यक्ष डा.नवराज लम्सालजीले सार्वजनिक तवरमा कार्यालय खोल्ने प्रतिबद्धता जनाएपछि धेरै खुशी लाग्यो । संघको कार्यालय भएपछि त्यहाँ पदका कुर्सीमात्र रहने छैनन् साथमा अनेकन् कार्यक्रम र गतिविधिका फाइलहरु पनि राखिएलान् आशा गर्न सकिन्छ । अनि अरु थुप्रै नवीन कामहरु होलान्, त्यस्तो अपेक्षा बोक्न सकिन्छ ।
लेखक संघको हालै सम्पन्न छैठौँ अधिवेशनले प्रजातान्त्रिक विचारधारा पक्षधर लेखकहरुबीच नयाँ तरंग ल्यायो । नेतृत्व चयन क्रममा सौहार्द चुनावी माहोल देखिनुसँगै मतदाता–लेखकहरुले सबै खालका स्रष्टाहरुलाई नेतृत्वमा पु¥याए । संघमा भर्खरै लागेकादेखि नेतृत्व जसरी पनि हत्याउन चाहनेहरुबीचको मिश्रित परिणाम हात प¥यो । यसरी धेरै अर्थमा ‘विवेकी’ देखिए स्रष्टाहरु ।
दुर्भाग्य भन्नुपर्छ, विधिविधानबाट सम्पन्न महाधिवेशनपछि अहिले केही संघका ठेकेदार ठान्नेहरु धेरै वेचैनी र छटपटाहटमा देखिएका छन् । उनीहरुको आशा र अपेक्षाभन्दा भिन्न नतिजा आएका कारण दुखान्त र दुर्दान्त रसमा एकांगी समीक्षा गरिरहेका भेटिन्छन् । कोही करुण क्रन्दनमा गजल मुक्तक लेखिरहेका छन् । मनको ‘भँडास’ फाल्न हुने–नहुने तर्क उठाइरहेका छन् । हिजोसम्म सुषुप्त रहेको अहंतुष्टि अहिले सतहमा छताछुल्ल देखिएको छ ।

विद्रुप विगत
सबैलाई थाहा थियो लेखक संघको विगत । संघ नेतृत्व र यसका काम कारवाहीहरु पारदर्शी थिएनन् । संघले समुल स्रष्टाहरुलाई सर्वस्वीकार्य र सम्मत दृष्टिकोणले व्यवहार गरेको थिएन । संघका नाममा सरकारी नियुक्ति खाने नेतृत्वले संस्थालाई राम्रो खाले लेदर व्यागको होइन, पातलो प्लाष्टिकको ‘माई क्लियर ब्याग’मा चलाइरहेका थिए । सदस्यता दिन र नवीकरण गर्दा ‘हुकुम प्रमांगी’ शैली अख्तियार गरिन्थ्यो । विद्वान् कहलिएका संघका मठाधिशहरुको कार्यशैली हलुवावेद जति नुगिने प्रकारको थिएन, बरु जीरे खुर्सानी तौर तरिकामा उनीहरु ठाडो जर्जर र शुष्क प्रस्तुत हुन्थे ।
त्यति मात्र होइन, लेखक संघको नेतृत्व आफ्ना विचार र संस्थाप्रति इमान्दार थिएनन् । सार्वजनिक चिनारीमा लेखक संघको नेतृत्वमा बसेको अहम्भन्दा कतिपयलाई विविध दास प्रतिष्ठानको कार्यकर्ता भएकोमा गर्व बढी थियो । संघ पदाधिकारीहरु आफैँै टोल र गल्लीमा सीमित साहित्यिक क्लब र छोटे समाजका नाममा बढी दौडधूप गर्दथे । केही आफूहरु संघको ‘जिम्वाल’ भएको ठानेर पद्दतिलाई आफ्नो ‘विर्ता’को भ्रममा व्यवहार गर्दथे ।
यी सबै परिवेशबीच संघको नेतृत्व परिवर्तन र सामयिक सुधार अवश्यम्भावी थियो । अधिवेशनको दुई दिन अघिसम्म ४२ जिल्लाका प्रतिनिधि चयन भएको यथार्थ लुकाएर ५३ जिल्लाका मतदाता बनाइए पनि ती दुष्कर्म काम लागेनन् । अत्तरखेल र जोरपाटीका भुइँ–ट्वाँके गजल युवराजहरुलाई ‘मस्त’ बनाएर अश्लील संवादका दोहोरी चलाइए पनि जागरुक स्रष्टाहरुले सम्भावना र समर्पणकै पक्षमा अभिमत जाहेर गरे । तदनुरुप अहिले नेतृत्व परिवर्तन भएको छ संघको । त्यसैले सबैमा धेरै खालका आशय र अपेक्षा जन्माएको छ ।

नेतृत्वसँग अपेक्षा
आम प्रजातन्त्रवादी लेखकहरुले अहिलेको नेतृत्वसँग सबैभन्दा बढी अपेक्षा राखेको सन्दर्भ हो ः संगठनात्मक सर्वस्वीकार्यता  र त्यसपछिको  चुस्तता । संघले आफ्नो सदस्यता दायराभन्दा बाहिर रहेका स्वनामधन्य स्रष्टाहरुलाई समेटोस् भन्ने चाहन्छन् अधिकांश । संघ नेतृत्वकै स्वीकारोक्ति अनुुसार अहिले ७०–८० प्रतिशतभन्दा बढी प्रजातन्त्रवादी स्रष्टाहरु संघभन्दा बाहिर छन् । यो भन्ने मात्र कुरो होइन । अहिलेको नेतृत्वले व्यवहारमा उतार्ने काम अव गर्नुपर्छ ।  त्यस्ता स्रष्टाहरुलाई संघले आफ्नो सदस्य बनाउँदै उनीहरुको सक्रिय साथ लिन सक्नुपर्छ ।
त्यस्तै, संघले अर्को एउटा तत्कालै निर्णयमा पुग्नुपर्ने सन्दर्भ हो ः  यो नेपाली कांग्रेस पार्टीको शुभेच्छुक वा भातृ संगठन हो कि होइन ? यसको छिनोफानो छिटो हुनुपर्छ । यसअघि  संघको पार्टी सम्बन्धबारे अत्यन्तै विरोधाभासी र विवादस्पद तौरतरिका अवलम्बन गरिएको थियो । पार्टी सरकारमा भएको मौसम र सरकारी नियुक्तिका कुर्सी खाली भएका बेला संघले सानेपा सम्बन्धको निकटता देखाउँथ्यो । अन्यथा संघले पार्टी सम्बन्धमा ‘चौवन्नी’ सदस्यताको उपस्थिति देखाएको थिएन । बाटाघाटा र सभा–समारोहमा भेटिँदा जय नेपाल ! सम्म भन्न नसक्ने जुन मानसिकता हिजो संघमा थियो, त्यसलाई अहिलेको नेतृत्वले चिर्दै शुभेच्छुक सम्बन्धलाई औपचारिक स्वरुपमा ‘भातृ’ बनाउनुपर्छ ।

त्यस्तै, विधि–विधान र वैठकको वास्ता थिएन विगतमा । गएको तीन वर्षमा त केवल चार वटा मात्र विस्तारित बैठक भएको थियो संघको । विधान लत्याएर गर्नु–नगर्नु गरिएको थियो । यी त्याज्य आतातायी र अतिवादी सोच र शैलीलाई संघ परिसरमा प्रवेश दिनु हुँदेन अवको नेतृत्वले ।

सिर्जनात्मक काम गर्न त्यति गाह्रो छैन । संघसँग तत्काल आवश्यकीय स्रोत साधानको अभावै होला । तर केहीगर्न चाहदा अनेकन् उपाय  खोजी हुन सक्छ । संघको नेतृत्वमा रहेका थुप्रै स्रष्टाहरु जनसम्पर्क र सिर्जनाका दृष्टिले एकसे एक छन् । परिवर्तित विधानको स्वरुप अनुसार प्रादेशिक संरचनामा गएको संघले क्यालेण्डर नै बनाएर काम गर्न सक्ने अवस्था पनि छ ।
वास्तवमा जे–जस्तो चर्चा र परिचर्चाकाबीच संघको वर्तमान कार्यसमिति गठन भएको छ, त्यसँग प्रशस्त अवसरसँगै चुनौती छन् । हिजो भए गरिएका कमी कमजोरबिाट पाठ सिक्दै आगतमा संघलाई सर्वग्राह्य र सर्वप्रिय बनाउन भ्रामक ठूला कुरा होइन, विधि विधानका मसिना प्रसंगलाई अवलम्वन गरे पुग्छ । लेखक भन्नु आफैमा ऊ सामाजिक न्यायको मर्मबाट अनुप्राणित हुने सिर्जनशील– न्यायाधीश हो भने उसले समाउने विचार, कलम र मसी कसरी अविवेकी हुन सक्छ र ? त्यसैले विचार प्रष्ट लेखौं, पढौं र बाँचौं । गाईको अनुहार भएको गोरु हुँदैमा त्यसलाई गौमाताको नाममा भ्रमपूर्ण तवरले पूज्ने काम बन्द गर्दै अघि बढे त्यसले संघलाई नयाँ आयाम र आयातनमा लग्ने विश्वास गर्न सकिन्छ ।
साभारः शुक्रबार