विचार

कांग्रेसका नजरमा मदन भण्डारी

अर्जुननरसिंह केसी, नेता, नेपाली कांग्रेस

कम्युनिस्ट नेताहरूमध्ये मदन भण्डारीको परिचय, सक्रियता र शैली निकै फरक देखिन्छ । अरू समकक्षी नेताहरू चर्चाको शिखरमा पुग्न लामो राजनीतिक जीवन व्यतीत गर्नुपर्‍यो, तर भण्डारीको विषयमा यो तथ्य सावित भएन । विचारमा प्रस्ट भएकाले उहाँ छोटो समयमा स्थापित हुनुभयो । एकदलीय कम्युनिस्ट सिद्धान्तलाई आदर्श मान्नेहरूको बोलाबाला रहँदा भण्डारीले बहुदलीय प्रतिस्पर्धाको दृष्टिकोणले परम्परागत व्याख्यालाई नयाँ आयाम दिन ठूलो योगदान गर्नुभयो ।
लोकतान्त्रिक दलहरूले आफ्नो आदर्श र सिद्धान्त बनाएको बहुदलीय प्रतिपस्पर्धा, विधिको शासन, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रतालाई स्वीकार्दै भण्डारीले कम्युनिस्ट आन्दोलनलाई पनि यसैतर्फ लानुभयो । यो नै प्रशंसनीय काम हो । हामी प्रजातान्त्रिक मूल्य–मान्यतामा आस्थावान् र समर्पित कांग्रेसका लागि कम्युनिस्ट दल पनि लोकतान्त्रिक बन्दै विधिको शासन मान्नु हाम्रा लागि झन् राम्रो भयो ।
धेरै कम्युनिस्ट नेताहरूको भाषण बुझिँदैन, तर भण्डारी राम्रो वक्ता हुनुहुन्थ्यो । उहाँले जार्गनहरू प्रयोग नगरी भाषण गर्नुभयो र जनताको मन जित्नुभयो ।
कांग्रेस र एमालेबीच छलफल हुँदा उहाँका तर्क प्रभावकारी हुन्थे । विषयमा केन्द्रित रहेर बुझिने गरी उहाँ विषय प्रस्तुत गर्नुहुन्थ्यो । विषयवस्तुप्रति उहाँ गहन हुनुहुन्थ्यो र ओजपूर्ण तर्क दिनुहुन्थ्यो ।
भण्डारीको अर्को प्रभावकारी पाटो कुशल सांगठनिक क्षमता पनि हो । सबैभन्दा ठूलो र पुरानो दल भएकाले कांग्रेससँगै अरू दलको प्रतिस्पर्धा हुन्थ्यो । उहाँको कुशलताले नै छोटो समयमै कांग्रेससहितका दललाई एमालेले टक्कर दिन सक्ने वातावरण भयो ।
नेपाली कम्युनिस्टहरूमा कांग्रेसको विरोध र भारतविरोधी भावना थियो । ठूलो, पुरानो र नेतृत्वकर्ता पार्टी भएकाले पनि कांग्रेसलाई कमजोर बनाउने रणनीति सबै कम्युनिस्टहरूले लिँदै आए । यसको फाइदा मदनजीले पनि लिनुभयो । अहिलेका कम्युनिस्टमा पनि यस्तै ह्याङओभर छ ।

-नयाँ पत्रिका दैनिकबाट