विचार

आफ्नै संस्कार र रुचिले गरिब बनेका हामी

शैलेष श्रेष्ठ, न्यूयोर्क
हामी नेपालीहरु संस्कारगत रुपमै उत्सवहरुमा रमाउन मन पराउँछौं । लेख्दा नमिठो सुनिन सक्छ तर सत्य त्यहि हो हामी मीठो खाने बहाना खोज्छौं । पाए जति संसारभरका चाड पर्ब अनि उत्सव मनाउँछौं कति अवस्थामा हामीलाई त्यसको बारेमा यथेष्ट अनि यथार्थ ज्ञानसमेत हुँदैन ।
नेपाली समाजमा गरिब अनि निम्न मध्यमवर्गीय भएर बाँच्न निक्कै कठिन थियो र अझ पनि त्यहि हालत अनि हविगत छ । महँगो अनि आडम्बरी संस्कार त्यसको मुल जरो अनि जड हो । त्यसो गर्न अनि गराउन नेपाली सामन्ती संस्कार अनि समाजले जहिल्यै पनि ति संस्कार अनि पर्बहरुलाई पुरातनबाद अनि धर्मसँग लगेर जोड्ने गर्यो । त्यसो गरेपछि व्यक्ति त्यसो गर्न बाध्य हुन्थ्यो अथवा बनाईन्थ्यो । 
मेरो अजा (बाजे)ले आफ्नो पिता पूर्खाको कथा सुनाउनु हुन्थ्यो । हामी भक्तपुरको महँगो नेवारी संस्कार थाम्न अनि थेग्न नसकेर आफ्नो झिटीगुन्टा बेचेर भागेका रहेछौं । जुन वर्ष मेरो पाँच पुस्ता अघिको बाजे भक्तपुरबाट भाग्नु भयो त्यो वर्ष हाम्रो परिवारको दिवाली गर्ने पालो परेको रहेछ । तौमडी टोलको कसजुहरुको सारा खलकलाई भोज गर्न निक्कै ठूलो ऋणको भारी बोक्नु पर्ने भएपछि हामी भक्तपुरबाट ताप्लेजुङ अनि पाँचथरको दोभानमा बसाई सरेका रहेछन । सायद त्यसैले होला भोजपुरको दावामा हाम्रो सन्तानलाई ‘दोभाने नेवार’ भनेर बोलाउने अनि चिन्ने गर्दछ । 
एक साँझ उत्तर कोरियाली दुतावासको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका नारायण मान बिजुक्छेसँग जम्काभेट भयो । उनलाई मैले ठट्यौलो पारामा भने ‘दाई तपाईं हामी वर्गीय समाज अनि शोषणको कुरा गर्छौं तर यथार्थमा नेवार जातिभित्र पनि तपाईंहरु शोषक अनि हामी शोषित रहेछौं । उनले अचम्म मान्दै आश्चर्य भावमा मसँग प्रश्न अनि जिज्ञाशाहरु राखे मैले उनलाई त्यहि सफेद सत्य बताई दिए । 
दुई दशकपछि अहिले यहाँ अमेरिकामा पनि हामी त्यहि खाले नयाँ आडम्बर अनि कलेवरको महँगो संस्कार अनि रीतिरिवाजलाई अनुमोदन अनि प्रोत्साहन गरिरहेका छौं । दशैंतिहारमा गरिने भड्किला भोज भतेर होस् अथवा ल्होसारका नाममा गरिने अव्यवहारिक कार्यसम्पादन । फेसन तथा देखासेखीका रुपमा आयोजना गरिने बर्थ डे, बेबी सावर होस् या तीजको बेलामा प्रदर्शनी गरिने महँगा कपडा अनि गरुंगा तिलहरी ति सबै त्यस्तै अनि उस्तै ध्ययले आयोजना गरिएका तामसी उत्सवहरु हुन । नेपालमा देखावटी चाड पर्ब, बिबाह ब्रतबन्ध थेग्न नसकेर अमेरिका अथवा अन्य देशमा गएका हामीहरु फेरि त्यहि अनि त्यस्तै महँगो सामाजिक अनि धार्मिक संस्कारका कारण बिलखबन्दमा निरन्तर परि रहेका छौं ।
हामीले कहिल्यै समयानुकुल परिवर्तित अनि परिमार्जन हुन सिकेनौं । त्यस्तो महँगो सामाजिक संस्कारका विरुद्ध बोल्ने अनि ब्यबहारिक तर्क दिने सहास पनि हामी गर्दैनौं बरु आफैसँग गुनासो गर्छौं । हिजो आज, म नेपालीहरुको बाक्लो बस्ती भएको क्षेत्रहरुमा एक आपसमा बातचित गर्दै गरेको सुन्छु ‘खै के गर्ने गर्ने जाउँ भने कहाँ अनि कति मात्र जाने । अब खाली हात जाने कुरो पनि भएर । त्यो बर्थडे पार्टीमा जानको लागि एक दिनको छुट्टिनै लिनुपर्छ फेरि सय डलर घटी दिनेकुरा पनि भएन ।’
यो परिसंबाद हाम्रो नेपाली समाजको आमलोकाचारको सूचक अनि सूचाङ्क हो । हामी संमृद्ध राष्ट्र अनि समाजमा आई सक्दा पनि उताकै देखाउनै पर्ने आडम्बर र लोकाचारले आफै पीडित भएका छौं । तर सामाजिक परिवर्तनको लागि वकालगत गर्ने साहस त के चुईक्क गर्न सक्दैनौं । उताको अर्धसामन्ती अनि उपदेशात्मक संस्कारले त त्यस्तो केहि सिकाएन तर संसारकै अति विकशित मुलुकमा आएर दशकौं बसेर अनि पढेर पनि हामी समयानुकुल परिमार्जित हुन सकेनौं । हामी ‘ह्यापी थ्याङ्क्स गिभिंग’सम्म त भन्छौं तर शालीन अनि बिनम्र भएर अमेरिकीहरुले भन्ने गरे जस्तै ‘आई एम सरी’को एपोलोजेटिक बन्ने ताकत प्रदर्शन गर्न सक्दैनौं । त्यसैले त हामी संमृद्धभित्र पनि त्यहि मानसिकरुपको गरिबीलाई स्वीकार गरिरहेका छौं । अरुहरुका कारणले होइन हामी आफ्नै आडम्बर अनि पुरातानिक संस्कारका कारण गरिब बन्न बाध्य भएका छौं ।