विचार

तरकारीवालीलाई नमूना कृषक बन्न झोलावालीको सुझाव

मनीषा अवस्थी–

नेपाली मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताको एउटा विशेषता नै छ, कुनै एउटा विषयको पछि लागेपछि लागेको लाग्यै गर्ने । नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले मजाकमै लिएको सामान्य कुराले कहिलेकाहीँ ठूलै चर्चा पाउँछ । यही विशेषताको शिकार पछिल्लो समय ‘तरकारीवाली’ बनिन् । तिनै तरकारीवालीले अहिले नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ता हुँदै मूलधारका सञ्चारमाध्यम, भारतीय सञ्चार माध्यम र पाकिस्तानी सञ्चारमाध्यम लगायत विश्वभर तहल्का मचाएकी छिन् । तरकारीवालीका जस्ता चर्चा वा कुनै तस्वीरहरु विभिन्न समयमा सामाजिक सञ्जालमा भाइरल बन्ने कुरा नौलो भने होइन ।

तरकारीवाली एक सुखद संयोग
सामाजिक सञ्जाल विश्वभर छरिएका साथीभाइ, परिवार तथा आम मानिसलाई जोड्ने माध्यम बने पनि कतिपयले मनोरञ्जन गर्ने तथा एक–अर्काको मजाक उडाउने थलोको रुपमा प्रयोग गर्ने गरेको समेत पाईन्छ । तसर्थ कहिलेकाहीँ यस्ता चर्चा अभिशाप पनि बन्छन् । यसरी सामाजिक सञ्जालमा भाइरल बनेका तस्बीरका कारण कतिपयको जीवनमा आघात पुगेको पनि भेट्न सकिन्छ ।  भनिन्छ, प्रत्येक कुरा मानिसको सोचाई हो, सकारात्मक सोच्न सके सकारात्मक बन्छन् भने नकारात्मक रुपमा लिए नकारात्मक नै बन्छन् । हो, यसरी सामाजिक सञ्जालमा भाईरल बन्दै चर्चाको शिखरमा पुग्न सफल तरकारीवालीका चर्चित तस्वीर अधिकांशले सकारात्मक रुपमा लिए । फलस्वरुप, उनका लागि बरदान बन्न पुग्यो । तरकारीवाली अर्थात् गोरखाकी कुसुम श्रेष्ठको चर्चा स्वयं उनका लागि एक सुखद संयोग बन्न पुगेको छ ।

गोरखा, बाग्लिंगका कृषक परिवारकी छोरी उनी तरकारीको भारी बोकिरहेको र गोलभेँडाको डालोमा हात राखेर मोबाइलमा कुराकानी गरिरहेका दुईटा तस्वीर इन्टरनेटमा भाइरल भएपछि एकाएक चर्चाको पात्र बनेकी हुन् । चितवनमा कक्षा ११ मा अध्ययनरत कुसुम श्रेष्ठले आफ्ना आमाबाबुले तरकारी खेती गर्ने गरेको र बिदामा जाँदा तरकारी बिक्री गर्न जाँदा एक पर्यटन ब्यवसायी रुपचन्द्र महर्जनले खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीर भाइरल बनेको हो ।

पाकिस्तानका एक युवक अर्सद खान चायवालाको नाममा सामाजिक सञ्जालमा एकाएक स्टार भएपछि त्यसको जवाफ भारतीय युवाहरुले एक नेपाली युवतीलाई तरकारीवालीको नाममा चर्चामा ल्याए । तरकारीवालीलाई नेपाली मिडियाले एकचोटीका लागि स्टार नै बनाइदिएका छन् । उनलाई नसोधिकनै फिल्म खेल्ने अवसर पनि दिन थालिएको छ ।

अरु चर्चाजस्तै गुमानाम हुन्छिन् कि?
तरकारीवालीको जसरी चर्चा भयो या आम सञ्चारमाध्यमले जसरी उचालेर आकाश पु¥याएका छन्, यसरी नै यो विषय हराउने कुरा पनि निश्चित प्रायः हो । किनभने अहिले तरकारीवालीलाई फिल्म खेल्ने, मोडलिङ गर्ने जस्ता जुन प्रस्ताव आएको हल्ला छ, ती सबै निराधारजस्तै छन् । अर्को कुरा त कानूनी डरमा महिला–पुरुष समान सहभागिताका गफ हाँकिरहने हाम्रो समाज महिलाको सन्दर्भमा अझै सकारात्मक रुपले खुल्न सकेको छैन । यसर्थमा तरकारीवालीलाई कतिपयले महिला भएकै अर्थमा पनि मजाक उडाइरहेको कुरा नहोला भन्न सकिदैंन । यसअघि सुदूरपश्चिमकी अर्चना पनेरुलाई पनि अज्ञानता वा लहलहैमा भनिएका दुईचार शब्दलाई लिएर रातारात चर्चाको शिखरमा पु¥याएकै थिए सञ्चारमाध्यमले । भलै उनलाई समाजले नराम्रो भन्दै चर्चामा ल्याए पनि रातारात हिट चाहिँ भएकी नै हुन् । नेपाली चलचित्र बजारमा पछिल्लो समय एकपछि अर्को हुँदै नाङ्गिने नायिका र संस्कार बढ्दै जाँदा उनको पोर्नस्टारको भुत हटाएर उनलाई पनि समाजलाई पच्ने शैलीमा काम दिन सकिन्थ्यो तर अहिले उनी गुमनाम जस्तै छिन् ।

यो एउटा उदाहरण हो तर यस्ता रातारात हिट बनाइएका ब्यक्तिहरु थुप्रै छन् जुन् दूईचार दिन समाजिक सञ्जालका लागि खुराक बने र बिस्तारै गुमनाम भए । हुन त उनै पाकिस्तानी चायवालाले प्रगति गरेको प्रसङ्ग पनि तरकारीवालीसँग जोडिएको छ तर नेपालकै प्रसङ्ग हेर्दा यसरी रातारात चर्चामा आउने विषय धेरै भए पनि सकारात्मक र चर्चाजस्तै उद्देश्यमा पुगेका उदाहरण निकै कम छन् । तरकारीवालीको आफ्नो बलबुता र भाग्यको कुराले साँच्चिकै अगाडी बढ्लिन् ? यो त भविष्यले देखाउला ।

तरकारीवालीको भविष्य
किशोरअवस्था लहलहैमा लाग्ने बेला नै हो । आमाबुवाको डर, समाजको डरसँगै अरुको निकै कम साथ र सहयोगका कारण पनि कतिपय किशोर किशोरीहरु भविष्यप्रति वफादार हुन्छन् तर दह्रो निर्णय गर्न सक्दैनन् । यहि किशोरावस्थामा यो सिलसिलाले नर्स पढ्ने इच्छा हुँदाहुँदै पनि विभिन्न कारण अर्को विषयको पढाइ थालेकी कुसुम श्रेष्ठको भविष्यप्रति चिन्ता हुन जरुरी छ । १९ वर्षकी किशोरी कुसुम आफ्नो भविष्यका लागि दह्रो निर्णय गर्न परिपक्व भइनसकेकै बेला भविष्य अल्मलाउने मेलोसमेत हुनसक्छ तरकारीवाली नाम । किनभने फिल्म खेल्ने अफर, टेलिभिजनमा अन्तरवार्ताका लागि छानिन थालेकी उनको पढाईमा असर पर्ने निश्चितजस्तै देखिन्छ ।

जे होस् यो सब भनिरहँदा उनलाई अधिकांशले सकारात्मक रुपमा लिएको पाईएको छ, यो सकारात्मक कुरा नै हो । कतिपयले उनको रुपको बयान गरेका छन् भने कतिपयले उनको मेहनतको बयान पनि गरेका छन् । उनले संयोगले तरकारी बोक्दै हिडिरहँदा एकाएक चर्चामा आएकी हुन् वा सधैं उनी कृषि पेशाको सम्मान गर्छिन् ? यो कुरा महत्वपूर्ण रुपमा लिनुपर्छ । लहैलहैमा हिड्ने र लागिरहने बेलामा आफ्नो परम्परागत कृषि पेशाको सम्मान गर्दै तरकारी बेच्न जानुलार्ई सायद कुनै नेपालीले पनि नराम्रो अर्थमा लिएका छैनन् । तर तरकारीवालीलाई दुईचार दिन जसले जे भने पनि उनको ठोस भविष्य के हो त ? यो कुरा पनि सामाजिक सञ्जाल र मुलुकप्रति जिम्मेवार आम मिडियाले गर्न जरुरी छ । कृषि प्रधान भनिएको नेपालका पहाडी क्षेत्रमा युवा परिश्रमको अभावमा बाँझो रहेका बेला कृषिसँग उनको नाम जोडिनु र उनले यो प्रसङ्ग निकै सकारात्मक रुपमा लिएर खुशी हुनु निकै सुखद कुरा हो । यहि सुखद संयोगलाई ठूलो अवसरका रुपमा प्रयोग कसरी गर्न सकिन्छ ? यहि कुरामा उनको भविष्य अडिएको छ ।

पंक्तिकारलाई एक बहिनीप्रति सहानुभुति र खुशी भए पनि उनको भविष्यप्रति त्यति धेरै ठूलो चिन्ता भने हैन किनभने यसरी मेहनेत गरेर दैनिकी चलाउने, अनि तरकारी खेतीमै भविष्य खोज्दै पलायन भएका, तरकारी खेती गर्दै राम्रै आम्दानी भएका कयौं बहिनी गाउँघरमा छन् । उनिहरु पनि सुन्दरी छन् तर न त उनिहरुको तस्वीर सामाजिक सञ्जालतिर छन् न त उनका कामको प्रशंसा गरिएको छ । माथि भनिएझै सुखद संयोग बनेकी तरकारीवालीमाथि अब राज्यले वा अन्य क्षेत्रले कस्तो लगानी गर्ने भन्ने कुरा सोच्नुपर्ने बेला हो ।

चर्चा भयो, आम सञ्चारमाध्यमले अन्तर्वार्तामात्रै लिएर उनको भविष्य सुनिश्चित छैन । अर्को महत्वपूर्ण कुरा, उनी सुन्दरी नै छन् भन्दैमा वा उनको ज्यान मिलेको छ भन्दैमा फिल्म क्षेत्रमै ल्याउनुपर्छ भन्ने भुत हट्न जरुरी छ । जसरी रुपचन्द्र महर्जनले एक तस्वीर खिचेर सामाजिक सञ्जालमा ल्याए, त्यसरी नै भविष्यमा उनका तरकारी बोकेका वा बेचेका तस्वीर सामाजिक सञ्जालमा सधैं आइरहने वातावरण बनाउन सके ?  यो सोचाई आउन जरुरी छ कि छैन ?

पछिल्लो समय दैनिक रुपमा विदशिने युवाहरुको क्रम बढ्दो छ । नेपालमा काम गर्ने युवाहरु यही गरेको कामले दैनिकी चलाउन असहज बनेपछि खाडी मुलुक पस्न बाध्य छन् भने पढेलेखेका तर काम गर्न हिच्किचाउने अन्य युवाहरु अन्य शक्तिशाली मुलुक पसेर उतै बस्ने गरेका छन् । यही प्रसङ्गमा नेपालको परम्परागत कृषि पेशालाई आधुनिकीकरण गर्ने र युवाहरुलाई परिचालन गर्ने कुरालाई बेलैमा बढावा दिनुपर्छ । यो गर्न सके यस्ता तरकारीवालीजस्ता हजारौं युवाहरुलाई परिश्रम दिन सकिन्छ ।

अहिले सामजिक सञ्जालमा हिट बनेकी तरकारीवालीलाई उदाहरणकै रुपमा कृषि पेशामा स्थापित गर्न सकेमात्रै पनि आम युवाहरुका लागि प्रेरणाकी श्रोत बन्न सक्थिन् । जसले गर्दा कृषि पेशा गरेर नेपालमै सहज तरिकारले पैसा कमाउने र अन्य केहीलाई समेत रोजगारी दिने वातावरणको सट्टा स्नातक, स्नातकोत्तर गरी विदेश हानिने युवाहरुलाई समेत प्रेरणा दिन सकिन्छ । त्यसैले फिल्म खेलाउने, मोडलिङ गर्ने भनेर तरवारीवाली कसुम श्रेष्ठलाई अल्मल्याउनु भन्दा उनलाई तरकारी खेतीमै व्यावसायिक रुपमा लागेर नमुना कृषक बन्न प्रेरणा दिने कि ?