विचार

सामाजिक संस्था र आफ्नो भाषा

-मानबहादुर राना मगर
हामीले धेरै गीत गायौं, कहिल्यै पनि अरुको अधिनमा नपरेको नेपाल भनेर । अनि हामी त्यहीं गीत गाउँदै आज पनि विश्वभर मजदुरीको लागि विभिन्न बहानामा प्रावासिएकाछौं । नेपाल सरकारसँग एकिन तथ्यांक छैन, तर ३०  देखि ४० लाखको हाराहारीमा नेपालीहरु बाहिरिएको विभिन्न रिपोर्टमा उल्लेख छ । यसैलाई एउटा आधिकारिक तथ्यांक मान्ने हो भने कुल जनसंख्याको करिब १२ देखि २० प्रतिशतको हाराहारीमा हामी नेपालीहरु प्रवासमा बिभिन्न पेशा गर्न बाध्य छौं । यहि तथ्यांकको आधारमा कुरा गर्ने हो भने नेपालको कुल जनसंख्याको ७.१७ प्रतिशत जनसंख्या भएको मगर जाति कम्तिमा २ लाख देखि ३ लाखको हाराहारीमा विभिन्न प्रक्रियामा प्रवासिएका छौं । अवको प्रवासमा क्रियाशील मगर संघ संस्थाहरुको चुनौती भनेको कम्तिमा पनि २ लाख भन्दा बढी प्रवासमा रहेको मगरहरुलाई कसरी शैक्षिक तथा आर्थिक समृद्धिको बाटोमा लाग्दै आफ्नो भाषा, संस्कृति र ईतिहाससँग साक्षर बनाउने भन्ने हो र यो समस्या मगरहरुको मात्र नभएर प्रवासिएका सम्पूर्ण जाति र समुदायको हो । अव यी कुराहरुमा प्रवासिएको पहिलो पुस्ता यानिकी हाम्रो पुस्ताले अत्यन्तै गहन र संबेदनशिल भएर सोच्नु आवश्यक छ ।
हामीले प्रवासमा एउटा दुईवटा वार्षिकी कार्यक्रमहरुले अव हाम्रो भाषा र संस्कृतिको बिकास त के संरक्षणसम्म हुने अवस्था छैन । त्यसमा पनि हाम्रो बहुभाषा र बहु संस्कृति भएको हाम्रो समाज प्रवासमा आफ्नो मातृ भाषाको मात्रै पक्षपोषण गरेर बस्ने अवस्था छैन । यस्तो अवस्थामा हामीले नेपाल सरकारले लादेको भन्ने गरेको खस नेपाली भाषालाई प्रवासमा पहिलो प्राथमिकता दिनु पर्ने अवस्था छ । यो हाम्रो बाध्यता हो । प्रवासमा यहिं भाषाको माध्यमबाट नेपाली संस्कृति र रीतिरिवाजको संरक्षण हुने पहिलो अस्त्र हुनेछ भने दोस्रो सम्भावनाको रुपमा आ–आफ्नो समुदायको बाक्लो बस्ति भएको अवस्थामा हाम्रो मातृ भाषाको बारेमासमेत बिशेष ध्यान दिनु आवश्यक छ ।
नेपाल प्राकृतिक सौन्दर्यताले जति धनि छ त्यतिनै भाषा र संस्कृतिको हिसाबले पनि धनी छ । तर बिडम्बना, नेपालमा जब पृथ्बीनारायण शाहले एकीकरणको नाममा विभिन्न राष्ट्रहरुलाई गाभ्दै लैजान थाले, तब अरु जाति र समुदायको भाषा र संस्कृतिको लोप हुने क्रम बढ्दो रह्यो । यस्तो अवस्थामा सरकारले आफ्नो राष्ट्रमा भएको भाषा र संस्कृतिको संरक्षण गर्नुको साटो एकल जातीय भाषा र संस्कृतिलाई मात्र प्रबर्धन गर्ने शैलीमा पेलेर गएको पाईन्छ । यसरी लामो समयदेखि थिचोमिचोमा परेको हाम्रो भाषा तपाई हाम्रो मात्रको प्रयासले कालान्तरसम्मको लागि संरक्षण हुने सम्भावना अत्यन्तै न्यून छ । अव नेपालमा बोलिने कुनै पनि भाषा सरकारले राष्ट्रको भाषाको रुपमा स्वीकारेर जसको संस्थागत रुपमा संरक्षण गर्ने तर्जुमा गर्नु पर्दछ । जसको लागि सरकारले नेपालमा बोलिने सम्पूर्ण भाषाको लागि एउटा ‘राष्ट्रिय भाषा विश्वविद्यालय’ स्थापना गर्नु आवश्यक छ । जसको प्रत्यक प्रदेशमा बोलिने भाषाहरुलाई बिशेष प्राथमिकता दिएर ‘राष्ट्रिय भाषा विश्वविद्यालय’ खोल्नु पर्ने हुन्छ । यस्तो गर्न सकियो भने मात्र सम्पूर्ण भाषा राष्ट्रिय भाषा हुनेछ । यो अवस्थामा एकजना ब्राम्हणको छोरा शैक्षिक रुपमै मगर भाषाको ज्ञाता बनेर ‘राष्ट्रिय भाषा विश्वविद्यालय’ मगर भाषा शाखाको प्रमुख बन्दा सामाजिक रुपमा कुनै आपत्ति हुने छैन भने राष्ट्रिय एकता अझ मजबुत बनेर जानेछ । त्यसै गरेर फेरी पनि कुनै जनजाति या नेपालमा भनिएको सिमान्तकृत समुदायबाट पनि भोलि कोहि संस्कृत भाषामा उच्च शिक्षा हासिल गरि कुनै भाषा विद्यालयको संस्कृत फाँटको प्रमुख हुन सक्दछ । यस्तो अवस्थामा नेपाल शैक्षिक रुपमा भोलि अन्तर्राष्ट्रिय विद्यार्थीहरुको विभिन्न भाषामा अध्यन गर्ने र थेसिसहरु तयारगर्ने रोजाईको राष्ट्र बन्न सक्नेछ ।
भाषा सँगसँगै हाम्रो बिभिन्द संस्कृतिहरुको पनि बिशेष संरक्षण गर्न सक्ने हो भने नेपाल भाषिक तथा सांस्कृतिक रुपले विश्वकै ध्यान केन्द्रित गर्ने देश बन्न सफल हुनेछ । जुन राष्ट्रको लागि आर्थिक बिकासको लागि प्रमुख पाटो बन्न सक्नेछ । त्यसैले अबको जातीय तथा सामाजिक संघसंस्थाहरुले नेपालमा बोलिने सम्पूर्ण भाषाको संस्थागत बिकासमा जोड दिंदै नेपाल सरकार र नेपालको राजनीतिज्ञहरुको ध्यान केन्द्रित गर्न आवश्यक छ । यतिबेला नेपालमा क्रियाशील मगर बुद्धिजीवी, राजनीतिज्ञ र अधिकारकर्मीलगायत विश्वभरिका सम्पूर्ण क्रियाशील मगरहरु यसबारेमा सचेत हुने र सचेत भएर लाग्नु पर्ने अवस्था आएको छ ।