विचार

उदारवाद उन्मुख अमेरिका र स्वेत साम्राज्यको परिकल्पना

-शैलेष श्रेष्ठ
लामो र जर्जर यथास्थितिबाद अनि अलोकप्रिय संस्थापनमा नजानिँदो किसिमले सामाजिक अनि राजनैतिक अतिवादको जन्म हुने गर्दछ । संसारकै अनुपम अनि अनुकरणीय लोकतन्त्र अनि कानुनी राज्यको प्रत्याभूत भएको मानिने संयुक्त राज्य अमेरिका अहिले त्यो खाले अतिबादको शिकार भएको छ । अमेरिकी राष्ट्रपति पदका आकांक्षी अतिबादी दक्षिणपन्थी रिपब्लिकन डोनाल्ड ट्रम्प अहिले त्यहि अतिबादतर्फ उन्मुख स्वेत साम्राज्यको सपना अनि परिकल्पना अनुदार अमेरिकी मतदाताहरुलाई बाँडीरहेको छ । उ रंगमा आफूजस्ता देखिने बाहेकका सबैलाई नेटो कटाउने गुरु योजना सुनाई रहेको छ अनि एक्काईसौं शताब्दीको उदार अनि न्यायसंगतयुगमा दक्षिण तर्फको ७०० माइल लामो सीमानामा पर्खाल लगाउने योजना बनाई रहेको छ । बर्लिन पर्खाल ढल्दा उत्सब मनाउनेहरु अहिले दोहोरो मापदण्डमा रमाउँदै ‘मेक अमेरिका ग्रेट अगेन’को पुरातनवादी अनि साम्राज्यबादी नारामा रातो राज्यहरुमा उफ्रदैछन् । उनीहरु हरेक खाले बहुलबाद अनि उदारबादको बिपक्षमा छन ।      
उता पारी दक्षिणका छिमेकीलाई ‘क्रिमिनल’ अनि ‘रेपिष्ट’ भन्छ, उनको लागि महिला आफ्नो अनुकुलमा प्रयोग गर्न सकिने खेलौना अथवा बस्तु मात्र हुन् त्यसैले र सगर्ब आममहिलालाई सुँगुर भनेर सम्बोधन गर्छ अझ त्यतिले पनि नपुगेर महिलाको शरीरमा निगरानी अनि नियन्त्रण गर्ने कडा अनि अव्यवहारिक एन्टी एबोर्शन कानुनको प्रस्ताब गर्दछ । उ सहकर्मी टेलिभिजन प्रस्तोता महिला, अशक्त अनि मुस्लिम धर्मावलम्बीहरु माथि भद्दा उपहास अनि उपेक्षा गर्दै धम्की अनि गालीको भाषा बोल्छ । उ आफूबाहेक अरुलाई दोस्रो दर्जाको नागरिक ठान्दछ ।
सन २००८ को निर्वाचनमा देखा परेको आशा अनि परिवर्तनको नारा खुम्चिएर नीति आरोप प्रत्यारोपको शृंखलामा सीमित भएको जहाँ अमेरिका नबुझिँदो किसिमले दुई कदम पछाडि सर्दैछ । अमेरिकी राष्ट्रपतीय निर्वाचनको बहसमा देखिएको नीजि अनि वैयक्तिक छेडछाड अनि प्रहारले अमेरिकी मुल्य र मान्यताको उपहास गरेको छ । अमेरिकी राजनीति अनि सामजशास्त्रका पण्डित र समिक्षकहरु यस्तो तल्लोस्तरको नीति र कार्यक्रम बिनाको बहस अमेरिकी राष्ट्रपतीय बहसमा कहिल्यै नभएको बताउँछन ।
एउटा सफेद सत्य अब दृश्यमा आएको छ त्यो हो डेमोक्रेटिक पार्टीकी उम्मेद्वार अनि क्लिन्टन बिरासतकी भाग्यशाली प्रतिनिधि पात्र अब आफ्नो औकात अनि बुताले हैन अतिबादी अनि जातीबादी स्वेत साम्राज्यबादका परिकल्पनाकार डोनाल्ड ट्रम्पका कारण संयुक्त राज्य अमेरिकाकी राष्ट्रपति बन्ने छिन । राष्ट्रिय सर्वेक्षणहरुमा अहिले उनी सातदेखि नौ प्रतिशन मतले अगाडि देखिएकी छिन् अब त्यो रफ्तारलाई कुनै चमत्कारले पनि रोक्न अनि छेक्न सक्दैन । अहिलेको निर्वाचन भनेको राम्रो अनि सम्भावनायुक्त उम्मेद्वारलाई चुन्ने अनि छान्नेभन्दा पनि कम ढाँटने कम खराबलाई रोज्ने बाध्यात्मक अवसर हो । दुवै उम्मेद्वारहरुसँग विकास, सम्मुन्नति  अनि प्रगतिशीलताको एजेन्डा छैन ।
हिलारी रोधम ल्किन्टन पहिलो अमेरिकी महिला राष्ट्रपतिभन्दा पर केहि हुने सम्भावना निकै कम छ । उनको समर्पणबादी राजनैतिक शैलीका कारणले उनीमाथिको भरोसा कम भएको छ । उनले अब गर्न सक्ने अनि गर्नै पर्ने एउटै एजेन्डा हुनेछ बृहत आप्रवासी सुधार बिधेयकको कार्यन्वयन । डेमोक्रेटिक पार्टीले आम आप्रवासीहरुको ऋण खाएको छ उनीहरुकै बृहद अनि व्यापक समर्थनका कारण प्रचण्ड बहुमतले निर्वाचित भएको वर्तमान राष्ट्रपति बराक एच. ओबामाले आधा बाटो छाडेर गएको यो एजेन्डालाई कार्यकालको सय दिनभित्र पुरा गर्ने उधारो बाचा अहिले उनले पनि गर्न थालेकी छिन । आमउदार, प्रगतिशील, अल्पमत, अस्वेत, महिला, आप्रवासीहरुसँग अहिले उनको अनि डेमोक्रेटिक पार्टीको त्यहि उधारो बाचालाई बिश्वास गरेर उनीहरुलाई नै जिताउनुको अर्को उचित बिकल्प छैन । रिपब्लिकन पार्टीले तिनका उम्मेद्वारले यस्तो शैलीको धम्की बोलिन्जेल अबको कुनै पनि राष्ट्रपतीय निर्वाचनमा अतिबादी दक्षिणपन्थी रिपब्लिकनहरुले जित्ने सम्भावना छैन । त्यस अर्थमा अब हिलारी रोधाम क्लिन्टनको जित निश्चित छ । अग्रिम बधाई म्याडम प्रेसिडेन्ट !