विचार

दसैंको नाममा हुन्छ सांस्कृतिक राजनीति

–राजेन्द्र महर्जन

घरपरिवार, मठमन्दिर र बजारमा दसैं नै दसैं ! मिडिया, अड्डा–अदालत, संघसंस्था, कम्पनी, पार्टी र सरकार जताततै बडादसैं नै बडादसैं !! निजी, सार्वजनिक र सरकारी कामकाजमा विजया दसमीको मात्रै रौनक !!! 
काठमाडौंबाट बाहिरिने र विदेशबाट नेपाल आउने लाखौं नेपालीको घुइँचो र अस्तव्यस्ताले भन्दैछन्: दसैं आयो, दसैं आयो ! र, दिनदिनै जारी बस दुर्घटना, घाइतेहरूको व्यापक संख्या, चौतर्फी बढ्दो महँगी र सरसामान किनमेलको भोकले पनि घोषणा गर्दैछन्: दसैं आयो, दसैं आयो !   
यतिखेर देश साँच्चै दसैंमय भएको छ, विदेश पनि दसैंबाट अछुतो छैन । जहाँ जहाँ नेपालीहरू बस्छन्, त्यहाँ त्यहाँ दसैंको उल्लास र उमंग छाएको छ । दसैं र नेपालीको पहिचानबीच अलग्याउनै नसकिनेगरी अति नै घुलमिल पारिएको छ । त्यसैले दसैं नमनाउने त नेपाली नै छैनन् कि भन्ने भान हुन्छ । 
चाहे देशभित्र बसौं वा देशबाहिर, जहाँ बसौं, उनीहरू दसैंबाट कुनै न कुनै रूपमा प्रभावित नभई बस्न सक्ने अवस्था नै छैन । यसरी दसैंलाई देशभित्र बस्ने हिन्दुहरूको मात्रै होइन, सबै ठाउँमा बस्ने नेपालीहरूको महान् पर्वको रूपमा प्रचार र स्थापित गरिएको छ कि दसैं नमनाउने नेपाली नै हैनन् भन्ने भ्रम उत्पन्न हुन्छ । 
पक्कै पनि दसैं जनसंख्याको ८१ प्रतिशत हिन्दु धर्मावलम्बी भएको देश मानिने नेपालमा यति ठूलो समुदायको सबैभन्दा ठूलो मानिएको चाड हो । त्यही चाड वरपर बनाइएका अनेक मिथक र राज्यको वर्षौंवर्षको लगानीले यस्तो भावभूमि तयार पार्नु अनौठो होइन । तर, संख्यात्मक रूपमा बेसी भएका समुदायको चाड भएकाले मात्रै दसैंको सामाजिक महŒव बढी देखिएको होइन । यसका अनेक लौकिक अवस्था, अलौकिक मिथक, त्यसको व्यापक प्रचार–प्रसारका कारणले मात्रै पनि यसको विस्तार र महत्व स्थापित भएको पक्कै होइन । 
वास्तवमा स्कुल–क्याम्पसका पन्धदेखि एकमहिने छुट्टी, प्रशासनिक निकायमा सबैभन्दा लामो बिदा, बिदासँगै सबै सरकारी कर्मचारीलाई एक एक महिनाको दसैंभत्ता, भत्ताको आधारमा बजारमा व्यापक किनबेचको खुशियाली, खानपिनको आनन्द, लवाइखवाइको मोज, राज्य र निजी मिडियाबाट दुर्गा–महिषासुर द्वन्द्वको नाटकीकरण, बडादसैं महिमागान, आसुरी शक्तिमाथि सुर शक्तिको न्यायिक विजयगाथाको वाचन, देशभरि राज्यबाट प्रायोजित र समुदायबाट नियोजित शक्तिको पूजाअर्चना । यी तथ्यले सत्यलाई उजागर गर्दै भन्छन्, दसैं नेपाली राज्य र त्यसका शासक वर्गबाट गरिएको व्यापक प्रायोजनलाई कहीँकतै पनि बेवास्ता गर्न सकिँदैन । 
त्यसको अर्थ दसैंसँग जोडिएको सामाजिक–सांस्कृतिक पक्षलाई पनि बेवास्ता गर्नुपर्छ भन्ने कदापि होइन, जसरी यसको अर्थ–राजनीतिलाई ख्याल नगरी महिमागान गाउँदै बस्नु नै उचित छ । लामो समयदेखि नेपाली समाजमा बसाइँ–सराइ र श्रम–सराइ तीव्र भएपछि जुन जुन सामाजिक परिघटना देखिएका छन्, ती परिघटनासँग दसैं पनि जोडिएका छन् । यसै सन्दर्भमा उद्यम, पेसा, रोजगार र अध्ययनको क्रममा लामो समय घर नआएका मानिसहरू दसैंको निहुँमा घर फर्कने, आफ्ना आमाबुबा, आफन्तजनसँगै इष्टमित्र र साथीसँगीसँग भेट्ने तथा भलाकुसारी गर्ने तथा नयाँ ठाउँमा घुमघाम गर्ने मेलोमेसोको रूपमा यसको सामाजिक आयाम प्रकट हुँदै आएको छ । 
हिन्दुकरण र सांस्कृतिक राजनीति
राज्य र दसैंसँग जोडिएको अर्काे सामाजिक पाटोमा भने सरकार, प्रशासन, मिडिया र बुद्धिजीवीहरू मौन रहने गरेको तथ्य पनि टिठलाग्दो छ । त्यो सामाजिक आयाम हो, नेपाली समाज धर्म, संस्कृति, संस्कार र परम्पराका हिसाबले पनि हिन्दु मूल्यमान्यतामा डुबेका एकथरी मानिसहरूको मात्रै एकआयामी समाज होइन । बहुलता र विविधताले भरिएको यहाँको समाजमा गैरहिन्दुका रूपमा बौद्ध, इस्लाम, इसाई, वोन र प्रकृतिपूजकदेखि नास्तिकहरूसम्म उपस्थिति र सक्रियता छ । जबकि राज्य र राज्यवादी गैरराज्यले पनि हिन्दुकरणलाई तीव्र पार्दै आएका छन् । र, हिन्दु मूल्यमान्यता, मिथक, प्रतीक, आख्यान र भाष्यलाई मात्रै ‘नेपाली’का रूपमा, नेपालीको एकल पहिचानका रूपमा स्थापित गर्दै आएका छन् । 
राजतन्त्रले आफ्नो शासन र आसनलाई सुदृढ पार्न खस नेपाली भाषाको प्रभुत्व, राज्य र पहाडमा बस्ने  खस आर्य समुदायका सम्भ्रान्तहरूको एकाधिकारसँगै हिन्दूधर्मको बलियो टेकोलाई अझ व्यापक र स्वीकार्य बनाउने सांस्कृतिक–राजनीतिक उद्यमलाई बेवास्ता गर्नै सकिँदैन । यही उद्यमको क्रममा नेपाली राज्यले पूर्वी नेपालमा दसैंलाई मान्न लगाउन चलाएको दमनकारी अभियान, गाईगोरूको मासु खाने आदिवासी जनजाति र दलितहरूमाथिको सजाय तथा अन्य समुदाय, तिनका चाडपर्व र संस्कृतिमाथिको निरन्तर उत्पीडन पनि यसैसँग गाँसिएका परिघटना हुन् । जनताको संघर्षको बलमा राजतन्त्र फ्याँकिएर लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि पनि सांस्कृतिक क्षेत्रमा लोकतन्त्रीकरणको प्रक्रिया तीव्र भएको छैन ।          
दसैंको सन्दर्भमा पनि भन्न सकिन्छ, हुन त नेपाली राज्यको मुख्य अखडाको रूपमा रहेको सिंहदरबारबाट राज गर्ने राज्यको मुकुण्डो फेरिने क्रम जारी छ, तर त्यसको स्वत्व वा चरित्र भने खासै फेरिएको छैन । दसैं र हिन्दु धर्मलाई आधारका रूपमा समेटेको महेन्द्रीय राष्ट्रवादलाई पोस्दै आएको नेपाली राज्य लामो जनसंघर्षपछि धर्मनिरपेक्ष घोषित भइसकेको छ, तर त्यसको आचरण भने अझै हिन्दूधर्मसापेक्ष नै रहेको छ, नयाँ संविधानमा समेत ‘सनातन धर्मको रक्षा’को नाममा धर्मनिरपेक्षताको बदख्वाइँमा क्रियाशील रहेको छ । राज्यकोषबाट बाँडिने रकम, बजेटको बाँडफाँड र राज्यका सञ्चालकहरूको धार्मिक व्यवहारले राज्यलाई लौकिक र समावेशी बन्न दिएका छैनन् । 
दसैंसापेक्ष नेपाली राज्य
चाडपर्व मनाउने सन्दर्भमा नेपाली राज्य दसैंसापेक्ष नै देखिएको छ नै, त्यसबाट अर्थतन्त्र, राजनीति र संस्कृति पनि अछुतो छैनन् । चाहे दसैं बिदाको दिनगन्ती होस् या दसैंका नाममा दिइने भत्ता, सेवा र सुविधा्, सबैमा दसैंसापेक्ष राज्यको लाहाछाप देख्न पाइन्छ । दसैंप्रति यति मोहित राज्यले दसैंकै बेला नेवारहरूले मनाउने मोहनि नखःलाई भने मतलब राखेको पाइँदैन, जबकि ती दुई पर्वमा भिन्नता खोज्न समेत मुस्किल छ । राज्यले आजसम्म मोहनिलाई नेपालकै एक समुदायको सांस्कृतिक पर्वका रूपमा, दसंैजस्तै विशिष्ट चाडको रूपमा सकारे पुग्ने अवस्था थियो । शिक्षादेखि सञ्चारमाध्यममा यसलाई स्वीकारेर नेपाली राज्यको छाती माखोको जस्तो छैन भनेर देखाए पुग्ने स्थिति थियो, ‘बडादसंै र मोहनि नखःको उपलक्ष्यमा शुभकामना’ भन्दै । सायद त्यसैले होला, इकबाल अहमदले भनेझैं विश्व र नेपालको सन्दर्भमा एकल पुँजी, बजार र संस्कृतिको वर्चस्व बढ्न थालेको स्थितिमा त्रसित समुदायमा प्रतिरोधी प्रतीक र चिनोको खोजी सुरु भएको देखिन्छ । यस्तो अवस्थामा राज्यले एकल प्रतीक, चिन्ह, चाड वा पर्व नथोपरीकन सबै राष्ट्रिय प्रतीकलाई आत्मसात् गर्नु नै बुद्धिमानी हुन्छ ।
समाजशास्त्री सुधीन्द्र शर्माका अनुसार संवैधानिक राजतन्त्रकालमा ‘धेरैजसो हिन्दू चाडले नेपालमा राष्ट्रिय बिदाको मान्यता पाएका थिए । राज्यले मानिआएका १९ वटामध्ये १३ वटा चाड हिन्दू पर्दथे । सामान्यतया पहाडे हिन्दूहरूले मानिआएका चाडहरूलाई राष्ट्रिय र तराईमा मानिने चाडलाई स्थानीय बिदा भनी वर्गीकरण गरिएको थियो । त्यसो त लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि पनि राज्यले नेपालका विभिन्न समुदायका चाडलाई पनि राष्ट्रिय मान्यता दिन थालेको छ भने पर्वीय बिदा धेरै हुँदा त्यसको व्यवस्थापन आफै पनि समस्या हुन थालेको छ । ५२ वटा शनिबारसँगै विभिन्न पर्व र दिवसको ३७ दिन बिदा, विभिन्न जिल्लामा दिइने ८ दिनको बिदा र खास खास धर्मावलम्बीलाई दिइने ४ दिनको बिदा र महिलालाई मात्रै दिइने ३ दिनको बिदाको व्यवस्थापन जरुरी छ । यसको व्यवस्थापन सबै समुदायका चाडपर्व र बिदाबीच सन्तुलन मिलाउने खालको वस्तुवादी दृष्टिकोणका साथ राज्यस्तरबाटै हुनुपर्छ । 
पुरानै वर्चस्वशाली समूहकै प्रभुत्व
राज्यलाई धर्मनिरपेक्ष, समावेशी र लोकतान्त्रिक घोषणा गरिसकिएको स्थितिमा उसको नीति र नियत भने एकात्मकै रहेको छ तथा उसको भाषा र व्यवहारमा पुरानै वर्चस्वशाली समूहकै प्रभुत्व (हेजिमोनी) रहेको छ । लोकतान्त्रिक गणतन्त्र स्थापनाअघिको स्थितिबारे समाजशास्त्री चैतन्य मिश्रका विश्लेषणलाई अहिलेको परिस्थितिमा राज्यको नीतिसँग दाँजेर हेर्दा पनि भिन्नता पाउन कठिन नै देखिन्छ । मिश्रका अनुसार ‘नेपालमा दसैंको प्रबल पक्ष भनेको हिन्दू–राज्यको संवैधानिकता र त्यसअन्तर्गत परिचालन गरिने शक्तिशाली सांस्कृतिक साम्राज्यवाद हो । विगतमा बडादसैंमा राजाको सन्देशदेखि कार्यालय–विद्यालयको लामो छुट्टी, राज्य–संरक्षित बलि र बढाइँ, दरबारदेखि मन्त्रीसम्मको टीकाको लामो टिभी प्रसारण आदि अन्य धर्म र धर्मावलम्बीमाथि साँधिएका शक्तिशाली अस्त्र हुन् । दसैंको नाममा राज्यले चलाउने यो धर्म–अस्त्र समस्त देशबासी हिन्दूका विजय र वैभवका लागि होइन, शासन चलाउने पाखण्डका रूपमा विकसित हुँदै आएको छ । यी दुवै वास्तविकतातर्फ हिन्दू र गैरहिन्दू सबैले ध्यान पु¥याउनु र यिनको विरोध गर्नु अन्यन्त आवश्यक छ ।’ 
नेपाल हिन्दूहरूको मात्रै देश नभएको, हिन्दूहरूमा पनि सबैले दसैं मान्ने नगरेको तथा अन्य जाति र समुदायका भिन्नाभिन्नै विशिष्ट चाडपर्व रहेको थाहा हुँदाहुँदै राज्यले दसैंलाई मात्रै नेपालको महान् राष्ट्रिय पर्वका रूपमा अति महङ्खव दिँदै आउनु पक्कै उचित छैन । र, यसलाई अन्य धर्म, जातजाति र संस्कृतिको पनि साझा पर्व हो भन्ने अर्थमा व्यापक मात्रामा प्रचार गर्नु बेठिक छ । अतः इतिहासको रछ्यानमा पुगिसकेको ‘हिन्दू अधिराज्य’ले अन्य धर्मावलम्बीलाई दसैं मनाउन र हिन्दूकरण गर्न अनेक प्रपञ्च गरेको सांस्कृतिक–राजनीतिक उद्यमलाई निरन्तरता दिइनाले दसैंलाई साँच्चै राष्ट्रिय साझा पर्व बन्न सहयोग पुगेको देखिँदैन । लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता अभ्यास गर्ने उद्घोष गरेको नेपाली राज्यले त्यस्ता ऐतिहासिक गल्तीप्रति माफी माग्दै, कुनै न कुनै रूपमा वर्चस्वशाली समूहकै प्रभुत्व लाद्ने नीति र नियतलाई भने अब त्याग्नु जरुरी हुन्छ । 

अब त सामन्तवादी धार्मिक दृष्टि त्याग !
लोकतान्त्रिक गणतन्त्रको साइनबोर्ड  धारण गरेको नेपाली राज्यले सर्वप्रथमतः दसैंको उत्पत्तिको नाममा बनाइएका राम–रावणका कथा, इन्द्र र महिषासुरको कहानीदेखि दुर्गा–महिषासुरको किंवदन्ती पुरोहितले जस्तो भट्ट्याउँदै बस्ने काम गर्नु उचित हुँदैन । किनभने, सांस्कृतिक विश्लेषक निनु चापागाईंका अनुसार सामन्तवादी धार्मिक दृष्टिकोणलाई नै पुनःउत्पादन र वितरण गर्ने खालका यस्ता कामको भित्री उद्देश्य होः देवी–देवतामाथि आस्था जगाउनु, आर्य–अनार्य भन्नेजस्ता मिथकलाई पुष्टि गर्नु, राजाहरूमाथि आदरभक्ति विकसित गर्नु तथा अन्य सामन्ती विभेदलाई बल पु¥याउनु । सामन्तवादी धार्मिक दृष्टिकोण त्याग्नुपर्ने राज्यले नै नेपालको राजनीतिक सन्दर्भमा दसैंलाई पनि राजतन्त्रको अन्त्यपछि समेत राजतन्त्र र शाही राज्य विस्तारको अभियानसित गाँस्दै आएको छ । राज्यले अब विचार गर्नुपर्छः गोरखा दरबारबाट बसन्तपुर दरबारमा फूलपाती भित्र्याइएपछि मात्रै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने र राष्ट्रपतिले शाहवंशीय राजाका सबै धार्मिक–सांस्कृतिक कामलाई नवजीवन दिने कामले लोकतान्त्रिक गणराज्यलाई बलियो बनाउँदैनन् । 
राज्यका सन्दर्भमा अर्काे विचारणीय पाटो होः चाडबाडको नाममा कुनै पनि धर्मको पोषण गर्ने नीतिले राज्यलाई धर्मनिरपेक्ष त बनाउँदैन नै, लोतान्त्रिक र लौकिक बन्ने सुविधा पनि दिँदैन । अतः दसैंको सन्दर्भमा पनि घटस्थापना गर्ने, नौ–नौ दिनसम्म चण्डी पाठ गर्ने, नवदुर्गाको पूजाआजा गर्ने, व्यापक रूपमा बलि दिने तथा यसरी पूजा गरिएको प्रसादलाई नै टीकाका रूपमा ग्रहण गर्ने चलनलाई राज्यको तर्फबाट कुनै न कुनै रूपमा प्रोत्साहन र प्रवर्धन गर्ने कार्यप्रति पनि पुनर्विचार जरुरी छ । जतिसुकै ठूलो समुदायको पर्व भए पनि, उनीहरूका जतिसुकै महान पर्व भए पनि, उनीहरूका धार्मिक–सांस्कृतिक अधिकारलाई कदर गर्दागर्दै पनि, राज्य स्वयम्चाहिँ यस्ता धार्मिक कामबाट निरपेक्ष बस्न सक्यो भने राज्यप्रति अन्य समुदायको पनि आस्था बढ्ने हो । यही लोकतान्त्रिक तरिकाबाट गइयो भने सांस्कृतिक साम्राज्यवादकोे प्रतिरोधस्वरूप विभिन्न समुदायमा जन्मिएको ‘दसैं बहिष्कार’जस्तो विरोधभाव पनि स्वतः मत्थर हुने सम्भावना बढ्छ । 
राज्यले विचार गर्नैपर्ने अर्काे पक्ष होः दसैंसँग जोडिएको सामाजिकता र लौकिकतालाई प्रोत्साहित गर्ने काम । समाजशास्त्री मिश्रले भनेझैं हिन्दू र कतिपय गैरहिन्दूबीच पनि दसैं सबैभन्दा लोकप्रिय चाड हुनुको पहिलो कारण दसैंको लौकिकता र भौतिकता नै हो । दसैं प्रशस्त मीठो खाने र राम्रो लाउने चाड हो । मीठो खाने र राम्रो लाउने पर्व भएको हुँदा वर्षभरि नै यसले आर्जन र सञ्चय गर्ने प्रेरणा दिन्छ । दोस्रो कारण, दसैं सबै हिन्दू, त्यसमा पनि दुवै लिङ्ग, सबै उमेर, क्षेत्र र जातले मनाउने चाड हो । तेस्रो कारण, दसैं कष्टकर उपवास बस्नुपर्ने र पाठपूजा केन्द्रित चाड नभएर हर्षाेल्लास मनाउने चाड हो । चौथो कारण, दसैं अन्न भण्डारण गर्ने, दूध–दही पाइने र बोका–खसी पाइने मौसम हो भने कृषि श्रम–चक्रबाट केही फुर्सद पाइने ऋतु पनि हो । पाँचौं कारण, कुटुम्ब आधारित सामाजिकता पुनः नवीकरण र सबलीकरण सम्भव बनाई दिइरहने चाड हो । यी र यस्तै कारणवश फैलिँदो दसैं–संस्कृतिबीच पनि राज्य जनमुखी हुन सकेन भने धनी–गरिबबीच विभाजित आम गरिबहरूका लागि दसैं दशा भइरहने छ र उनीहरूको पीडा यसरी पोखी नै रहनेछः ‘आयो दसैं ढोल बजाई, गयो दसैं रिन बोकाई !’
ट्वीटरः @rmaharjan72