विचार

किरात :परिभाषामा घुसाइएको राजनीति

राजेन्द्र महर्जन
मानिसहरुको सौन्दर्य बोध वा चेत वा शास्त्र उनीहरु बाँचिरहेको समाजभन्दा निरपेक्ष हुँदैन । उनीहरुको मनमस्तिष्कमा सुन्दर वा असुन्दर, राम्रो वा नराम्रो, असल वा खराब, उँच र नीच, पवित्र र अपवित्रको भाव समाजको संरचना र त्यसले बनाउने संस्कृतिअनुसार जन्मिने हो । एउटा विशेष युग वा व्यवस्था वा संस्कृतिमा बाँच्ने मानिसहरुका लागि कुनै एउटा सिर्जना, रचना, किताब, धर्म, महिला–पुरुष, लुगाफाटा, खानेकुरा राम्रो, असल, पवित्र, सुन्दर लाग्ने हुन्छ भने अरु समय, समाज र परिस्थितिमा बाँच्नेका लागि त्यस्तै लाग्नु जरुरी छैन । यसको अर्थ सौन्दर्य बोध वा चेत वा शास्त्र पनि देश, काल र परिस्थितिअनुसार भिन्नाभिन्नै हुन्छ, न त सौन्दर्य नै शाश्वत र अनश्वर हुन्छ । 
सौन्दर्य बोध वा चेत वा शास्त्रमा ‘स्व’को महत्व अति नै छ, चाहे त्यो चाहेर होस् या नचाहेर । ‘स्व’ वा आफ्नो बारेमा कुरा आउनासाथ स्वसँग जोडिएका वस्तु, सम्बन्ध, सिर्जनालाई सुन्दर, शाश्वत, पवित्र रुपमा व्याख्या गर्ने चलन छ । कुनै पनि व्यक्ति, परिवार र समाज वा समुदाय वा राष्ट्रले आफूलाई वा आफ्नो स्वलाई अपवित्र, असुन्दर र नीच अर्थमा परिभाषित गरिएको पाउन लगभग असम्भव छ । संसारका सबैजसो समुदाय वा समाजमा ‘स्व’को सुन्दरता वा पवित्रता वा महिमा मण्डन पाइन्छ, जबकि स्वसँग जोडिएका सबै वस्तु जयगानका लागि योग्य हुँदैनन् । 

‘अन्यकरण’ (अदरिङ) को प्रक्रिया
वास्तवमा आफ्नो ‘स्व’ वा आफ्नो अस्मितालाई कसरी ‘न्यारेट’ (भाष्यकरण) गरिन्छ भन्ने कुरा जत्ति महत्वपूर्ण छ, त्यत्तिकै अर्थपूर्ण छ, ‘अन्य’को भाष्य पनि । ‘स्व’कै अर्काे पाटो हो अन्य वा पराया (अदर), जुन समाज विज्ञानदेखि सौन्दर्यशास्त्रमा समेत गम्भीर रुपमा लिइनुपर्ने पक्ष हो । ‘स्व’सँग जोडिएका सबै पाटा र पक्षलाई राम्रो, असल, पवित्र, सुन्दरका रुपमा परिभाषित गर्ने तथा ‘स्व’बाहेकका लागि ‘अन्य’का रुपमा लिने र अन्यसँग जोडिएका सबै आयामलाई नराम्रो, खराब, अपवित्र र असुन्दरका रुपमा व्याख्या गर्ने चलन व्यापक छ । ‘स्व’लाई केन्द्रीय वा उच्च स्थानमा राखेर गरिने परिभाषाले आफूभन्दा फरक वस्तुलाई अन्यमा राखेर, एउटा दूरीमा राखेर, एउटा सीमामा राखेर व्याख्या गर्ने हुनाले आफ्ना–पराया, उँच–नीच, छूत–अछूतको सीमारेखा वा वर्गीकरण प्रबल देखिएको हो । ‘स्व’प्रति आलोचनात्मक विवेकले हेर्न सक्ने क्षमता र व्याख्या प्रबल बनाउन सकिएमा मात्रै ‘अन्य’सँग दूरी, सीमा, वर्गीकरण वा असमानतासँगै द्वन्द्व पनि कम हुने अवस्था आउँछ ।
प्रत्येकजसो सत्ता–शक्ति र सम्पत्तिसँगै ज्ञानमा एकाधिकार कायम गर्दै आएका समुदाय, वर्ग, वर्ण, लिङ्ग, क्षेत्र र धर्मका कुुलीनहरुले आफूभन्दा फरक समुदाय, वर्ग, वर्ण, लिङ्ग, क्षेत्र र धर्म र तिनका सदस्यलाई ‘अन्य’को परिभाषामा राख्दै भिन्न व्यवहार गर्दै आएको पाइन्छ । नेपालकै पछिल्लो सन्दर्भमा पनि खसआर्य समुदायका कुलीन सत्ताधारीहरुले आफूलाई नयाँ संवैधानमै परिभाषित गरी अरु सबै समुदायलाई ‘अन्यकरण’ (अदरिङ) गरेको तथ्य जगजाहेर छ । नेपालका सबैजसो संविधानले कसैलाई धर्मको नाममा, त कसैलाई भाषा, लिङ्ग, क्षेत्र, प्रतीकमा ‘अन्यकरण’ गर्दै आएको इतिहास पुनः ताजा भएको छ । यहाँ संविधानलाई समेत निर्देशित गर्ने र समाजलाई नियन्त्रित गर्ने धर्मशास्त्र र धार्मिक पुस्तकमा खसआर्य समुदायभन्दा भिन्न समुदाय किरातहरुलाई भाषा र विम्बमार्फत कसरी अन्यकरण गरिएको थियो, त्यसैको निरन्तरतामा नेपालका इतिहासकारदेखि लेखकहरुले त्यसलाई कसरी निरन्तरता दिँदै आएका छन् भन्ने तथ्य खोतल्नु जरुरी छ । यसले इन्द्रेनीजस्तो नेपाली समाज र राज्यको मात्रै होइन, यहाँका शासक, धार्मिक सत्ता र बुद्धिजीवीहरुको सौन्दर्यबोध र अन्य समुदायप्रति उनीहरुको आचरणबारे बुझ्न सजिलो पार्ने काममा केही सघाउ पु¥याउने छ । त्यस्तै, यसले अब कल्पना गरिएको समतामूलक समाज, समावेशी लोकतन्त्र र आलोचनात्मक विवेकयुक्त मानवका लागि अन्यकरणबिनाको हेराइ, बुझाइ, गराइका विविध पक्ष कसरी निर्माण गर्न सकिन्छ भन्ने सम्बन्धमा केही सहयोग गर्नसक्छ । 

स्व र अन्यबीचको द्वन्द्वबारे बुझाइ
स्व र अन्यबीचको द्वन्द्व एवं अन्तत्र्रिmयाबारे यहुदी दार्शनिक ज्याक डेरिडाले भनेका छन्, भाषा र संस्कृतिको संरचनामा विभिन्न किसिमका अर्काहरुमध्येको विरोधाभास र विरोध ‘लेखिएका’ हुन्छन् ।’ जुनसुकै इतिहास, त्यसको कुनै कालखण्डमा लेखिएका धर्मशास्त्र वा विविध खालका साहित्यमा नेपाललगायत दक्षिण एसियाकै आदिवासी जनजाति मानिने किरातहरुप्रतिको हेराइ, बुझाइ, गराइबारे अनेक भाष्य लेखिएका छन् । यस्ता भाष्य र लेखाइमा किरात वा किरातजस्ता समुदायलाई ‘अन्य’को रुपमा वर्गीकरण गरिएको पाइन्छ भने उनीहरुप्रतिको व्यवहार पनि विरोध, द्वेष र तिरस्कारको भावले भरिएको देखिन्छ । 
सञ्जीव उप्रेतीका अनुसार नेपालमा नारी र पुरुष; गोरा र काला; श्रमिक र पुँजीपति तथा किरात र बाहुन÷क्षत्रीलगायतका अन्य सबै अन्तरविरोधी समुदायले एकअर्कालाई आआफ्नो आत्म (सेल्फ)को विरोधमा स्थापित ‘अर्का’को रुपमा देख्छन्, बुझ्छन् । यहाँको तीन हजार वर्षको इतिहासमा विभिन्न ढंगले सत्ता–शक्ति, सम्पत्ति र ज्ञानमा एकाधिकार कायम गर्दै आएका समुदाय, तिनको राज्य र धर्मशास्त्रसँगै पुस्तकमा किरातहरुलाई कसरी ‘अर्का’ वा ‘पराया’का रुपमा हेरियो भन्ने तथ्य खोतल्नु आवश्यक छ, जसले सबै ‘अन्य’ समुदायबारे सम्यक धारणा बनाउन सहज पार्न सक्छ ।
मिसेल फुकोको भनाइमा भाषा, वाणी, विम्ब, संकेत र प्रतीकको माध्यमबाट सामाजिक ‘सत्यतथ्य’को चित्रण र प्रतिनिधित्व गरिएको हुन्छ, जुन सत्ता–शक्तिको अभ्याससँग नङ र मासुजस्तै जोडिएको हुन्छ । किनभने भाषामार्फत संयोजित भएका यस्ता सामाजिक ‘सत्यतथ्य’ पनि वस्तुगत हुँदैनन्, बरु समाजमा चलिआएका शक्तिका संघर्षहरुसँग अविभाज्य रुपले बाँधिएका हुन्छन् । यसरी निर्माण भएको एक सामाजिक ‘सत्यतथ्य’ हो, किरात शब्द तथा त्यसका अनेक अर्थ र अनर्थ पनि । 

किरात पनि ‘अन्य’ र ‘म्लेच्छ’ ?
चाहे किरात होस् या अन्य जोकोही, आफूभन्दा फरक वा ‘अन्य’ समुदाय, भाषा, रंग, संस्कृति, धर्मलाई मात्रै होइन, क्षेत्र, प्रदेश र देशसँगै महादेशलाई समेत म्लेच्छ, बर्बर, शूद्र भन्दै परिभाषित र आरोपित गर्ने इतिहास लामो छ । प्रारम्भिक भारतमा बर्बर र म्लेच्छको छविबारे अध्ययन गरेकी रोमिला थापरका अनुसार म्लेच्छ शब्दको क्रिया रुपको अर्थ हो, अस्पष्ट रुपमा बोल्नु । संज्ञा रुपमा यसको अर्थ हो, अलग बोली या पराइ भाषा । र, विशेषण रुपमा यसको प्रयोग पहिलो शताब्दीदेखि अत्यधिक हुन थालेको हो, उदाहरणका लागि म्लेच्छ–देश, म्लेच्छ–भाषा, म्लेच्छ–निवाह (समूह), म्लेच्छ–भोजन (चामल खानेहरुले चामलबाहेक अन्य अन्न खाने, विशेष गरी गहुँ खानेहरुलाई लगाइने विशेषण), म्लेच्छ–वाच (बोली) (थापर सन् २००१ः १३३, १५५) । 
त्यसको शिकार भएको किरात शब्दसँग मात्रै जोडेर हेर्दा पनि धेरै अनदेखा पाटो उद्घाटित हुन्छ । यसैको एक उदाहरण हो, किरात जातिसँग जोडिएका भाषा, देश र वस्तुलाई समेत म्लेच्छ वा बर्बरको विशेषण दिएर व्याख्या विश्लेषण गर्ने र आफूलाई शुद्ध, पवित्र, उच्च एवं श्रेष्ठ ठान्ने आर्य प्रवृत्तिको ऐतिहासिक निरन्तरता । बाबुराम आचार्यका अनुसार किराँत र किराँतभित्रको नेवार समुदायसँग देशको नाम जोडिएको कारणले त्यस बेलाको नेपाल ‘आर्यावर्त’ वा पूण्यभूमिभित्र पसाइएको कुनै संकेत पाइन्न । 
‘‘किराँत वा आग्नेयदेशी वर्गको ‘नेपार’ नामक यहाँको जुन आदिवासी जातिको नामबाट यस देशको नाम ‘नेपाल’ गएको थियो, त्यसै जातिको आवादी वर्तमान काठमाडौं उपत्यका र यसको आसपासको क्षेत्रमा फैलिएर रहेको र यस जातिको राज्य–व्यवस्था पनि कायम भइसकेकोले किराँतकालको अन्त्यसम्म पनि आर्यावर्तीय आर्यहरुको दृष्टिमा यो देश ‘प्रत्यन्त देश’, ‘म्लेच्छ–देश’ वा ‘किराँत–देश’को रुपमा नै परिचित भएर रहेको झलको पाइन्छ’’ (आचार्य २०५४ः १२३–१२४) । 
कतिसम्म भने आर्यहरुले किराँत, किराँत देश वा राज्य र किराँतभित्रका नेवारहरुलाई मात्रै म्लेच्छ भन्दै हेपेको होइन, उनीहरुसँग हेलमेल बढाएका जाति र शासकहरुलाई समेत हेयका दृष्टिले हेरेका थिए । उनी थप लेख्छन् ः ‘अनार्य’ किराँत–नेवारहरुसँग हेलमेल बढाएको आक्षेपमा नेपाल आएका आर्य–वर्गका लिच्छवि र विदेहहरु भारतीय आर्यहरुको दृष्टिमा हेय बन्न आएका थिए । त्यसैले उनीहरुले नेपालमा आएका लिच्छवि तथा अन्य आर्यावर्तीय आर्यहरुलाई पनि म्लेच्छको रुपमा गणना गर्न थालेको झलक पाइन्छ । गुप्त सम्राट समुद्र गुप्तले प्रयागमा रहेको आफ्नो प्रसिद्ध अभिलेखमा नेपाललाई ‘प्रत्यन्तदेश’ एवं करदाता देशको रुपमा उल्लेख गराएका छन् । प्रसिद्ध संस्कृत कोष अमरकोषअनुसार प्रत्यन्तदेशको अर्थ म्लेच्छ–देश भन्ने हुन्छ ( आचार्य २०५४ः २७) । 
थापरका अनुसार हिन्द–आर्य भाषा बोल्ने फिरन्ते पशुपालकहरुले शहरी सभ्यता बाँचिरहेका यहाँका मूल आबादीलाई बर्बर भनी परिभाषित गरेका थिए, जुन पछि गएर म्लेच्छ, असुर, राक्षससँगै शूद्रको समानार्थी रुपमा प्रयोग भएको पाइन्छ (थापर सन् २००१ः १३२–१३३) । आफूभन्दा सभ्य र उच्चतर सभ्यताका उत्तराधिकारीका रुपमा रहेका हडप्पा संस्कृतिः सिन्धु घाटी सभ्यता भएका बासिन्दाहरुलाई समेत किन र कसरी बर्बर भनियो भन्ने प्रश्नले धेरै उत्तर दिनसक्छ । यसैको सान्दर्भिक एउटा उत्तर हो, आर्य बुद्धिजीवीहरुले आफूभन्दा असभ्य, कमसल वा हीनलाई मात्रै दास, दस्यु, असुर, म्लेच्छ, बर्बर, शूद्र शब्दबाट परिभाषित र आरोपित गर्ने होइन रहेछ । यसको अर्काे अर्थ के पनि हो भने अहिले पनि अन्य पक्षलाई गाली वा आलोचना वा विरोध गर्नुप¥यो भने बर्बर भन्ने चलन छ, जबकि बर्बर शब्दले अर्काे कुनै समुदायलाई जनाइरहेको हुन्छ । 
यसले गर्दा आफ्नो वर्णलाई केन्द्रमा राखेर, आफ्ना वंशीय, जातीय, धार्मिक, सांस्कृतिक र सामुदायिकलाई उच्च, सभ्य, शिष्ट, सही ठानेर अरुको मूल्यांकन गर्ने वा परिभाषित गर्ने वा आरोपित गर्ने प्रक्रिया र संस्कृतिमाथि प्रश्न उठेको छ । सौन्दर्यशास्त्रसँग जोडिएको यही प्रश्नले प्रत्येक शब्द, शब्दको अर्थ, तिनका परिभाषा, प्रयोग र इतिहासबारे नयाँ शिराबाट खोतल्न र पुनर्विचार गर्न प्रेरित गर्दछ ।
ट्विटर :@rmaharjan72