न्युयोर्क

बन्दुकले उजाडियो नेपाली एक परिवार

न्यूयोर्क– सबैको सपनाको देश अमेरिका सुरक्षित छ भन्ने अवस्था छैन । यहाँ पनि हत्या–हिंसा, आत्महत्याका घटना दिन प्रतिदिन बढ्न थालेका छन् । सुरक्षाकर्मीकै अगाडि बन्दुकधारीले गोली चलाउनु सामन्य बनिसक्यो । यी घटनाले दैनिक पत्रपत्रिका तथा अनलाइन पोर्टलहरुमा प्रशस्तै ठाउँ पाउँनुले नेपालबाट अमेरिका आएका नेपालीहरुले समेत असुरक्षित महसुस गर्न थालेका छन् । 
कानुन कडा छ, नियम मिच्नेलाई कानुनी कठघरमा उभ्याइँन्छ, पीडितले न्याय पाउँछन् त्यो एक ठाउँमा छ । तर, घरबार उजाडिँदा, घरको एक सदस्यको हत्या हुँदा अर्को सदस्यले आत्महत्या गनुपर्नेसम्मको अवस्था आउँदा पीडित परिवारमाथि कस्तो बित्छ होला सायद त्यो भन्दा दुःखदायी र पीडाको अवस्था उनीहरुका लागि सायदै अरु नहोला । 
हो, अमेरिकामा हाल एउटा यस्तै घटना घटेको छ, एक नेपालीको घरबार उजाडिएको छ । दुई बालिका अभिभावकविहीन भएका छन् । गत वर्ष बन्दुकधारीले गोली हानेर हत्या गरेकी समिराका पति नवराज शिवाकोटीले गत आइतबार (७ अगष्ट )मा  आत्महत्या गरे । नवराजले टेक्साससँगै सीमा जोडिएको अक्लोहामामा पुगेर आत्महया गरेको बताइएको छ । 
गत वर्ष जुन १० मा डेन्टनको दि कोलोनीमा आफ्नै ग्यास स्टेसनमा बसिरहेकी समिराको ग्राहक बनेर आएका एक युवकले उनको गोली हानी हत्या गरेका थिए । यसबारे अदालतमा मुद्दा चलिरहेको भए पनि अझै किनारा लागेको छैन । पत्नी गुमाएको पीडामा जीवन बिताइरहेका नवराजले त्यसको झण्डै १४ महिनापछि आत्महत्या गरेका हुन् । उनको बुधबार नै अन्त्येष्टि गरिएको छ । उनको आत्महत्याको रहस्य नखुले पनि पन्ती वियोग नै भएको हुनसक्ने अनुमान गरिएको छ । 
नवराज र समिराका दुई र साढे तीन वर्षका दुई छोरी छन् । उनीहरु अहिले बेसाहार जस्तै बनेका छन् । उनीहरुको लालनपालनको जिम्मा दाइ विष्णुले लिएको भए पनि आमा–बाबु गुमाउँदाको पीडा ती अवोध बालमानकिसता पक्कै परेको छ । 
समिरा र नवराज त केवल प्रतिनिधि उदाहरण मात्रै हुन् । यस अघि पनि नेपालीहरुका लागि यस्ता घटना घटिसकेका छन् । त्यस्तै अन्य मुलुकका नागरिकहरुले समेत यी र यस्तै घटना भोगिसकेको हुँदा अमेरिका सोचेजस्तो सुरक्षित छ भन्ने अवस्था छैन ।