न्युयोर्क

एनआरएनएको क्षेत्रीय सम्मेलनका लागि तयारी तिब्र

न्यूयोर्क । गैरआवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलनका लागि आयोजक समितिले आफ्नो कार्यलाई तिब्र बनाएको छ । सम्मेलन हुन तीन साता बाँकी रहँदा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी आयोजकले दिएका छन् । 
आगामी अगस्ट २७ र २८ तारिखमा अमेरिकाको न्यूजर्सीमा हुन लागेको सम्मेलनमा विश्वभरबाट करिव ५ सयको हाराहारीमा एनआरएनहरुको सहभागिता रहने छ । आईतबार न्यूयोर्कको ज्याक्सनहाईटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नवौं क्षेत्रीय सम्मेलनका संयोजक एवं एनआरएनएका क्षेत्रीय संयोजक सोनाम लामाले सम्मेलनलाई भव्य र परिणाममुख बनाउन कुनै कसर बाँकी नराख्ने बताउनु भयो । उहाँले प्रमुख अतिथिको करिव करिव टुंगो लागिसकेको भए पनि अहिलेनै सार्वजनिक गर्ने गरी नटुंगिएको बताउनु भयो । उहाँले भन्नुभयो– ‘पहिले परराष्ट्र मन्त्री आउने निश्चित भएको थियो तर सरकार परिवर्तनसँगै तत्कालिन परराष्ट्र मन्त्री कमल थापा प्रमुख अतिथि रहने भनिएकोमा अहिले पूर्व सभामुख एवं एमाले नेता सुवासचन्द्र नेम्वाङलाई निमन्त्रणा गरिएको छ ।’
‘एनआरएन भिजन २०२० एण्ड विओण्ड’ नारा दिईएको क्षेत्रीय सम्मेलनमा सहभागिताका लागि नेपालबाट २१ जनालाई निमन्त्रणा गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । 
हरेक दुई–दुई वर्षमा हुने क्षेत्रीय सम्मेलनको यो वर्ष आयोजना गर्ने जिम्मा एनआरएन अमेरिकाले पाएको हो । हालसम्म विश्वका विभिन्न देशहरुमा गरी ८ वटा सम्मेलन सम्पन्न भइसकेको छन् । 
सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि क्षेत्रीय संयोजक सोनाम लामाको संयोजकत्वमा १४ सदस्यीय मूल समिति र २० वटा अन्य उपसमिति गठन गरिएको छ । सम्मेलनमा आइसीसी पदाधिकारी, संरक्षक, सल्लाहकार तथा विश्वका ७३ देशका एनआरएनहरुको सहभागिता रहेनेछ । 
सम्मेलनमा सहभागी हुनका लागि २ सय अमेरिकी डलर कायम गरिएको छ भने उक्त रकमबाट लन्च, डिनर र ब्रेक फास्ट समेत समावेश हुनेछ ।