न्युयोर्क

नयाँ नेतृत्वका लागि शान्तबाबु थोकरको उम्मेदवारी

तामाङ सोसाइटी अफ अमेरिकाको अधिवेशन अगष्ट २८ मा हुँदै

न्यूयोर्क । तामाङ सोसाइटी अफ अमेरिकाको नयाँ नेतृत्वका लागि संस्थाका पूर्व महासचिव तथा ईन्टरनेश्नल मार्सल आर्टस एसोसियसनका सञ्चालक एवं प्रशिक्षक शान्तबाबु थोकरले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
शनिबार न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी थोकरले नयाँ कार्यकालको लागि आफ्नो उम्मेदवारी रहने घोषणा गर्नुभएको हो । उहाँले लामो समयको कार्यअनुभव तथा तामाङ समुदायको वृहत्तर हक हितका अबको नेतृत्व आफ्नो काँधमा आउनुपर्ने र जिम्मेवारी बहन गर्न आफू तम्तयार रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार तथा बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित हुनुभएका सुबाश लामा स्याङ्बो, राम तामाङ, भरत मोक्तान तामाङ, बंशलाल मोक्तान, सूर्य पाख्रिन तामाङलगायतले मोक्तानको उम्मेदवारी सार्थक रहेको भन्दै सफलताको शुभकामना दिनुभयो ।

आउँदो अगष्ट २८ मा  संस्थाको ८ औं अधिवेशन हुँदैछ । अधिवेशनको  तीब्र तयारी भइरहँदा अध्यक्ष पदको आकांक्षीहरु धेरै नै देखिएका छन् । नेतृत्वका आकांक्षी धेरै देखिए पनि खुलेरै अध्यक्षको उम्मेदवारको घोषणा गर्ने थोकर पहिले व्यक्ति हुन् । अन्य आकांक्षीहरुले भने आन्तरिक तयारी मजबुत भएपछि मात्रै मैदानमा उत्रिने बताएका छन् ।

सामाजिक कार्यमा संलग्न थोकरले यस अघि तामाङ सोसाइटी अफ अमेरिकाको महत्वपूर्ण पद महासचिव भएर पनि कार्यभार सम्हालिसक्नु भएको छ । उहाँले सन् २००८ देखि २०१० मा संस्थाका तत्कालीन अध्यक्ष इन्द्र बहादुर तामाङको अध्यक्षकालमा थोकरले महासचिव भएर कार्यभार सम्हाल्नु भएको थियो । त्यस यता पनि उहाँले संस्थाको श्रीवृद्धिमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग पु¥याउँदै आउनुभएको छ ।

स्थायी घर दोलखा भएका थोकरले नेपाल रहँदा पनि तामाङ समुदायको हक हितमा महत्वपूर्ण काम गर्नुभयो । त्यतिमात्र नभएर उहाँले सोतोकन कराँतेसँग आवद्ध खेलाडी एवं प्रशिक्षकको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो । नेपालबाट सन् २००७ सालमा अमेरिका आएका थोकरले विभिन्न संघ संस्थामा आवद्ध हुँदा हुँदै पनि आफ्नो विगतको कामलाई निरन्तरता दिदै उहाँले अमेरिकामा ईन्टरनेश्नल मार्सल आर्टस् एसोसियसन अन्तर्गत  डोजो संचालन गर्नुभएको छ ।