न्युयोर्क

अमेरिकी राष्ट्रपतीय चुनावको दूरगामी असर

-प्रदीप परियार थापा मगर

सामरिक, आर्थिक र सूचना प्रविधिमा बिश्वकै सबैभन्दा शक्तिशाली र अग्रणी राष्ट्र अमेरिकाको बहुचर्चित राष्ट्रपतीय निर्वाचन–२०१६ यो सातादेखि औपचारिक रुपमा चुनावी भिडन्तमा प्रवेश गरेको छ । अमेरिकी राजनीतिको दुई मुख्य दलहरु रिपब्लिकन पार्टीको जुलाई १८–२१ र डेमोक्रेटिक पार्टीको जुलाई २५–२८ मा सम्पन्न राष्ट्रिय सम्मेलनपछि औपचारिक रुपमा राष्ट्रपतीय चुनावका लागि डेमोक्र्याट हिलारी क्लिण्टन र रिपब्लिकन डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । अमेरिकी जनता मात्र होइन विश्वभरका जनता अहिले आगामी नोभेम्बर ८ तारिख हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणामलाई धैर्यपूर्वक पर्खिरहेका छन् ।
अर्कोतिर, अमेरिकाले सम्भवतः पहिलो महिला राष्ट्रपति चुन्ने कुराले पनि विश्वको ध्यान अहिले अमेरिकी निर्वाचनमा केन्द्रित हुन पुगेको छ । हालसम्मका सबै निर्वाचित अमेरिकी ४४ राष्ट्रपतिहरु र ४७ उपराष्ट्रपतिहरु पुरुष रहेका छन् । यसपाली साँच्चै अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउलान् त ?

हिलारीको हिस्सा
यो साता सम्पन्न डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनपछि औपचारिक रुपमा हिलारी क्लिण्टन मुख्य दलबाट राष्ट्रपतिको उम्मेदवार मनोनित हुने पहिलो अमेरिकी महिला राजनीतिज्ञ बनेकी छन् । र, उनी सम्भवतः अमेरिकाकै इतिहासामा पहिलो महिला राष्ट्रपति बन्नेछिन् । विश्वभर नै अत्यन्त लोकप्रिय पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिण्टनकी श्रीमती हिलारी क्लिण्टन नाम कहलिएकी पूर्ववकिल, विश्वप्रसिद्ध डिप्लोम्याट र सफल राजनेत्री हुन् । उनी महिला र बालबालिकाहरुको हक अधिकारका लागि लड्ने अग्रणी विश्व नेताको रुपमा पनि सुपरिचित छिन् । हिलारीले सन् १९९५ मा बेइजिङमा सम्पन्न संयुक्त राष्ट्रसंघको चौथो विश्व नारी सम्मेलनमा ’वुमन्स राइट्स इज हुमन्स राइट्स’ (महिला अधिकार मानवअधिकार हो) भन्ने हाल विश्वचर्चित भनाइ व्यक्त गरेकी थिइन् । उनले राष्ट्रपति बाराक ओबामाको पहिलो कार्यकाल सन् २००९–२०१२ मा सेक्रेटरी अफ स्टेटका रुपमा ११२ देशको भ्रमण गरी रिपब्लिकन राष्ट्रपति जर्ज डब्ल्यू बुशको कार्यकाल सन् २००१–२००९ अवधिमा खस्केको अमेरिकी शाख र बिग्रेको डिप्लोमेसीलाई सुमधुर पार्न सफल भएकी थिइन् ।

ट्रम्पको तमासा
उता, रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफूलाई गैरराजनीतिज्ञका रुपमा प्रस्तुत गरेका छन् । उनले आफू एक सफल व्यवसायी रहेको दाबी गर्दै अमेरिकालाई पुनः वैभवशाली बनाउने (मेक अमेरिका ग्रेट अगेन) मुद्दा अघि सारेका छन् । उनी चर्चित भवन निर्माण गर्ने रियल इस्टेट डेभलपर हुन् । उनको सम्पत्ति ६ देखि १० अर्ब अमेरिकी डलर रहेको बताइन्छ । तर, उनले खोलेका क्यासिनोहरु टाट पल्टिएर ब्याङ्करप्सी फाइल गर्नुपरेको तथ्य एकातिर छ भने उनको नाममा खुलेको ट्रम्प युनिभर्सिटी, जुन अहिले बन्द भैसकेको छ, ले ट्यूसन शुल्क तिरेअनुसारको पाठ नपढाएका कारण मुद्दा खेप्नु परेको छ ।
अझ दुर्भाग्यको कुरा, ट्रम्पले अमेरिका छिरेर बसोबास गरेका वैधानिक कागजपत्र नभएका आप्रवासी (इमिग्रेन्ट) हरुलाई आ–आफ्नो देश फर्काइनुपर्ने जिकिर गर्दै आएका छन् भने आप्रवासी प्रवेश रोक्न मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल खडा गर्ने र मुस्लिमहरुलाई अमेरिका छिर्न निषेध गर्ने उल्लेख गर्दै आएका छन् । यसरी उनले अमेरिकी समाजमा सद्भाव हैन घृणा र विद्वेष फैलाउने र सामाजिक एकता खल्बल्याउने काम गरेका छन् ।
ट्रम्पले महिलापिरुद्ध विष वमन गर्दै महिलालाई मोटो सुंगुर (फ्याट पिग), कुकुर्नी (डग), असभ्य (स्लोब) र घिनलाग्दो जनावर (डिस्गटिङ एनिमल) का रुपमा प्रस्तुत गरेका छन् । हैट, यो त अलि हजम नहुने कुरा हैन र ?

अमेरिका : ’मेल्टिङ पट अफ इमिग्रेण्ट’
ओहो, अमेरिकालाई ‘मेल्टिङ पट अफ इमिग्रेण्ट’ त्यसै भनिएको होइन । यहाँ संसारभरका मानिसहरुको बेरोकटोक बसोबास रहिआएको छ । यहाँ विविधतामा एकता छ । ’डाइभर्सिटी इज यूनिटी’ त्यसै भनिएको होइन । न्यूयोर्क शहरमा मात्रै पनि विश्वभरका दुई सय मुलुकका खानेकुरा चाख्न पाइने र सयौं भाषा, जाति र भेषभुषा सुन्न र देख्न पाइने हुनाले पनि कसको मन खुसी नहोला र ? अर्को कुरा, अमेरिकाको सपना (अमेरिकन ड्रिम) भन्ने विख्यात भनाइ त्यत्तिकै चलेको होइन । यो भूमिमा सबैभन्दा पहिले हजारौं वर्ष अघि मीठो खाने कुराको खोजीमा नेटिभ अमेरिकनहरु साइबेरिया हुँदै यहाँको मलिलो बस्तीमा बसोबास गर्न पुगेका थिए । पन्ध्रौँ शताब्दीको शुरुमा क्रिष्टोफर कोलम्बसले अमेरिका पत्ता लगाएपछि युरोपियनहरु अमेरिकामा आफ्नो अमेरिकन ड्रिम पूरा गर्न अर्थात् सुखजिलो जीवन जिउन अमेरिका ओइरिएका थिए । अमेरिका आइपुगेका गोरा जातिले अफ्रिकाका काला जातिका मानिसहरुलाई दासको रुपमा कज्याउन अमेरिका ल्याए । त्यसै कारण गोरा र काला जातिबीच विभेद र असमानताको ठूलो खाडल सिर्जना भएको थियो, जुन असमानताको पाटो अहिले पनि कायमै छ । तर, समयक्रममा अमेरिका विश्वको सबैभन्दा धनी र सामरिक हिसाबले सबैभन्दा शक्तिशाली देश बन्न सफल भयो । सन् १९६५ को भोटिङ राइट्स एक्टबाट त अमेरिकाका काला जातिका जनताले मतदान गर्न पाएका हुन् नि ! त्यसको ४३ वर्षपछि अर्थात् सन् २००८ को राष्ट्रपतीय चुनावबाट काला जातिका आप्रवासी बुवा र गोरा आमाको छोरा बाराक ओबामा अमेरिकाको पहिलो राष्ट्रपति बन्न सफल भए ।

अमेरिकी जनताको दुई काम
यस पटकको अमेरिकी राष्ट्रपतीय चुनावको दूरगामी असरको कुरा गर्दा हामीले के कुरालाई बिर्सनु हुँदैन भने अमेरिका आप्रवासीहरुको पसिना, सीप र उद्यमशीलताले आर्जेको मुलुक हो । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको जस्तो इमिग्रेण्टविरुद्धको तुच्छ मानसिकता अमेरिकाको स्पिरिट (आस्था) कदापि होइन, ट्रम्पकै श्रीमती पनि आप्रवासी हुन् भने उनका पूर्खा पनि त आप्रवासी नै हुन् । यो कुरा उनले भुल्नु हुँदैन ।
र, ऐतिहासिक कुरा के हो भने आजभन्दा ९६ वर्षअघि अर्थात् सन् १९२० मा मात्र अमेरिकी महिलाहरुले पुरुषसरह मतदान गर्न पाएका हुन् । यसपाली अमेरिकी जनताले आफ्नो मतद्वारा पहिलो महिला राष्ट्रपति निर्वाचित गराउने सुनौलो अवसर पाएका छन् । डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिण्टनको ५ दशक लामो सामाजिक र राजनीतिक जीवनको लेखाजोखा गर्दा राष्ट्रपति ओबामाले जस्तै हिलारीले पनि इतिहास रच्ने कुरा अब असम्भव रहेन ।
अतिथि सम्पादक प्रदीप परियार थापा मगर ‘युएस नेपाल अनलाइन डटकम’का प्रधान सम्पादक र ‘जातीय विभेद र छुवाछुतको अन्त्य हाम्रै पालामा’ (इण्ड अफ कास्ट डटकम)का अभियन्ता पनि हुन् ।