कला-साहित्य

कविता- सम्बोधन

तिमीले खुकुरीको धारमा पाइला टेकेकै ठाउँबाट
म सजिलो बाटो हिँड़िरहेछु
तिमीले सल्काएका क्रान्तिको ज्वाला जलेकै ठाउँमा बसेर
म शीतलता उपभोग गरिरहेछु
तिमीले विद्रोहका शंखनाद गरेकै ठाउँमा उभेर
म प्रेमको राग अलापिरहेछु
तिमीले लगाएका अपूरा सपनाका बालीहरूको सट्टा
म अक्षरहरूमा बेस्मारी रंगिन सपनाहरू सजाइरहेछु
तर अक्षरका लेपहरूले पोत्दैमा
कदापि छोप्न सकिँदैन रहेछन्
नपुंसकताका काला दागहरू
यसर्थ मेरा मनभरीभरी भएका नपुंसक सपनाहरू
छताछुल्ल भएका छन्
विश्व बजारभरी ।

शहीद सबैका निम्ति पूजनीय हुन्छन्
शहीद सबैका निम्ति स्मरणीय हुन्छन्
पूजनीय हुन्छन् र नै शहीद, शहीद हुन्छन्
स्मरणीय हुन्छन् र नै शहीद, शहीद हुन्छन्
निःस्वार्थ भावले हाँसी–हाँसी प्राण उत्सर्ग गर्ने
ती शहीदहरू साँच्चै स्तुति योग्य हुन्छन्
यसर्थ म आज तिम्रो स्तुतिगान गर्न आएको छु
तर कस्तो स्वार्थी छ नि यो हृदय
तिम्रो स्तुति गर्नै मानेको छैन आज
तर कस्तो कपटी छ नि यो मन
तिम्रो जयगान गाउनै मानेको छैन आज ।

पुछ्न चाहेर तिम्रो खूनको रंग यो धरतीबाट
कदापि सकिन्न पुछ्न
लुछ्न चाहेर तिम्रो बलिदानको कथा इतिहासको पानाबाट
कदापि सकिन्न लुछ्न
मेट्न चाहेर तिम्रो जाति प्रेमको गाथा मनको पानाबाट
कदापि सकिन्न मेट्न
तिमीले त नाम लेखाइसकेका छौं इतिहासका पानामा
कहिल्यै नपुछिने गरी
तिमीले त विजय पताका फहराइसकेका छौ दुनियाँमा
कहिल्यै नलत्रिने गरी
तिमीले त लगाइसकेका छौ छाप हृदयमा
कहिल्यै नमेटिने गरी
यसर्थ तिम्रो जयगान नगाई यहाँ कसैलाई
सुख नै छैन
यसर्थ तिम्रो स्तुति नगरी यहाँ कसैलाई
शान्ति नै छैन।

मिलन बान्तावा राई