कला-साहित्य

अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव सम्पन्न

काठमाडौं, चैत ।  काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मंगलबारबाट शुरु भएको अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवको विहीबार सम्पन्न भएको छ । महोत्सव अवधिभर विभिन्न देशका फरकफरक प्रस्तुतीका नाटकहरु मञ्चन गरिए । 
भारतबाट ऋतुपर्णा विश्वासको लेखन तथा अभिनय रहेको नाटक ‘ईलादी’ पहिलो दिन मञ्चन भएको हो । सबैले डाक्टर, ईन्जिनियर, पाईलट बन्ने लक्ष्य राखेका हुन्छन् तर फरक सपना अर्को पात्र ईलादीदी जस्तै बन्ने सपना राखेकी मुक्तीको कथामा नाटक आधारित थियो । दोस्रो नाटक बंगलादेशका कलाकार सामिमा स्वकेतले ‘शोनिटर हात (ब्लड ह्यान्ड्स्) प्रस्तुत गरिएको थियो । महिला हिंसा र महिलाले भोग्नुपरेको चरम पीडालाई उतारिएको यस नाटकले दर्शकको मन छोएको बताए । स्कटल्यान्डका तर्फबाट तेस्रो नाटक ‘द चियर्स वेयर मुब्ड् टु गिभमी प्यासेज’ मञ्चन भएको थियो । त्यसैगरी मास्कको प्रयोग गरेर फ्रान्सका म्याक्सीमको लेखन तथा निर्देशनमा ‘पर्फरमेन्स् वीथ मास्क’ मञ्चन गरिएको थियो । जसमा नेपालबाट भुमिका चौधरीले उत्कृष्ट अभिनय गरेकी थिइन् । 
महोत्सवको पहिलो दिन नेपालबाट नाटककार अशेष मल्लको लेखन तथा निर्देशनको नाटक ‘अतिरिक्त आकाश’, लण्डनका तर्फबाट द कोट र चीनबाट ‘जम्प’ प्रदर्शन भएका थिए । नाटक महोत्सव अवधिभर १३ वटा नाटक मञ्चन गरिए । महोत्सवमा बेलायत, फ्रान्स, भारत, बंगलादेश, चीन, जर्मनी, हङकङ, स्कटल्याण्ड, नेदरल्याण्ड लगायत दर्जन देशका तीन दर्जन भन्दा बढी कलाकार तथा रंगकर्मी राजधानीमा सहभागी भएका थिए ।