कला-साहित्य

दृष्टिकोण

एउटा कोरा क्यानभास
एउटा पेन्टिङ ब्रस
साथमा अनेकौं आधुनिक रंगहरु
तम्तयार छ चित्रकार
क्यान्भास रंग्याउनु छ
उसलाई जित्नु छ
पिकासोका कपो कल्पित तस्वीरहरु
उस्लाई उछिन्नु छ भिन्चीका ब्रसको पाइलाहरु
अनि मोनालिसाको मुस्कान चोरेर
फुलाउन छ एक थुंगा मुस्कान आफ्नै
कलाबाट
बडो सालिन भएर सुस्त चलाउन थाल्छ
निर्जीब ब्रस, डाँफे रंगहरुमा चोब्दै
‘संसारकै अमुल्य प्रेम हो’ भन्ने बुझेर होला
प्रेमको प्रेममय ब्रह्माण्डमा अन्तरध्यान हुँदै
कोर्न थाल्छ सृष्टिको उत्कृष्ट सिर्जना
नारी !
मुस्कानी फूलको मुस्कान चोरेर बनाउँछ
पिपल पाते ओठ
मृगको नयन सापटी लिएर बनाउछ
गाजलु आँखा
स्वच्छ पवित्र हिमाल झैं
बनाउछ वक्षस्थल
बारुली कम्मर छिनाएर
बनाउछ आकर्षक नितम्ब
यसै गरी... गरी...
चित्रकारले एउटा नौलो प्रयोग गर्छ
आफ्नै मुटु झिकेर तस्वीरलाई चढाइ दिन्छ र
जीवन्त बनाउछ
अब क्यानभास भित्रको तस्वीर
प्रेममा लिप्त मोहिनी हुन्छे
वर्षौ लगाएर तयार हुन्छ
उन्मुक्त यौवनाको लोभ्याउने तस्वीर ।
जहाँ सजिलै कैद हुन्छन्
प्रत्येक आँखाहरु र मोहित हुन्छ प्रत्येक मन मुटुहरु
आउने जाने दर्शक दीर्घहरुलाई
उक्त तस्वीरले
आफैतिर आकर्षित गर्न थाले पछि ।
न्वारान गरिदिन्छ चित्रकारले
आफ्नै प्रेमको अर्थात सर्वपृय कलाको
‘ब्यभिचारिणी अर्थात बेश्या’
मुल्य रु.१५,००,०००र (पन्ध्र लाख मात्र)

 

- धरती कल्पना
रामेछाप, हाल कोरिया