कला-साहित्य

कविता~ देशप्रेम

ह्यारी पोर्टरको जादुमय चमत्कार होइन
मलाई मेरा वीरहरूको गाथा सुनाऊ
न त नारूटोको प्रसंशा गर
मसँग मेरा शहीदहरूको चित्कार गुन्गुनाऊ

सेक्स्पियरको रूमियो र जुलियटको प्रेमलापभन्दा
मलाई देवकोटाको ‘मुना मदन’को विछोडको कारण बुझाऊ
जार, बोतलको मिनरल वाटर होइन
मलाई  स्वच्छ मेलम्चीको पानी पिलाऊ
चाइनिज, कन्टिनेन्टल र के एफ सिको खानाभन्दा
विषादी रहित अन्न फल फूल र तरकारी खुवाऊ
विश्वयुद्धको कहानी जान्नु अलावा
नालापानी, सिन्घु र मेरै पहाड, जंगलको युद्ध सम्झाऊ

विश्व बैंकको बजेटको हिसाब होइन
भ्रष्टाचारीको जरो पत्ता लगाऊ
विश्व सुन्दरीहरूको सुन्दरताको गुनगानभन्दा
नेपाल आमाको सुन्दरता विश्वमा खुलाऊ
नेपाली मारामार गरेको खबर होइन
बुद्धिमानी लेखिएको गिनिज लेखाऊ  ।

जीत माया राई
न्यूयोर्क