विश्व

सुरक्षा परिषद्द्वारा समादेश जारी

एजेन्सी–राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले दक्षिणी सुडानस्थित शान्ति बहाली आयोग (युएनएमआइएसएस)लाई अगस्ट १२ सम्म त्यहाँ सक्रिय रहन समादेश जारी गरेको छ । युनएनएमआइएसएसको कार्यकाल ३१ जुलाईसम्म मात्र तोकिएको थियो । दक्षिणी सुडानमा आन्तरिक युद्ध लगातार चर्किरहेको कारण १५ सदस्यीय सुरक्षा परिषद्ले त्यहाँ शान्ति सुव्यवस्था कायम होस भन्ने उद्देश्यले छोटो अवधिका लागि शान्ति बहाली आयोगको समय थप गर्न स्वीकार गरेको हो ।
 जुलाई महिनाको सुरुदेखि नै सरकार र विद्रोहीपक्षका सेनाबीच आन्तरिक द्वन्द्व चर्किनाले दक्षिण सुडानको राजधानी जुबामा मात्र ३३ जना निर्दोष नागकिरसहित २७२ को मृत्यु भएको छ ।
आन्तरिक द्वन्द्वको शिलशिलामा युएनएमआइएसएसउपर आक्रमण हुँदा दुईजना चिनियाँ शान्तिदूत पनि मारिएका थिए । राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकले युएनएमआईएसएसलाई शान्ति बहालीकार्य सम्पन्न गर्न सबै प्रकारका उपाय अपनाउन थप आवश्यक अधिकारसमेत दिएको छ ।  बीस वर्षभन्दा बढी गृहयुद्ध चलेपश्चात् सुडान मूल भूमिबाट टुक्रिई ९ जुलाई २०११ देखि दक्षिण सुडानले स्वतन्त्रता हासिल गरेको थियो । दक्षिणी सुडानमा राष्ट्रपति साल्भा किइर उपराष्ट्रपति रिक मचारका बीच तीब्र मतभेद उत्पन्न भई मचारलाई राष्ट्रपति किइरले सैनिक कुको प्रयास गरेको भन्ने आरोप लगाएपछि हिंसा हत्याको लामो शृङ्खला सुरु भएको थियो ।