विश्व

फेसबुक स्क्याण्डलबाट झन्डै ९ करोड प्रयोगकर्ता प्रभावित !

एजेन्सी, २३ चैत । सामाजिक सञ्जाल फेसबुकले राजनीतिक सल्लाह दिने कम्पनी क्याम्ब्रिज एनालिटिकाका साथ गलत ढंगबाट ८.७ करोड प्रयोगकर्ताको जानकारीहरु उपलब्ध गराइएको स्वीकार गरेको छ । जसमध्ये ११ लाख नागरिक ब्रिटेनका रहेका छन् । 

यद्यपि यसअघि व्हिसल ब्लोअर क्रिस्टोफर वाइलीले यो आंकडा पाँच करोड बताएको थियो । यो सम्पूर्ण जानकारी फेसबुकका मुख्य प्रविधि अधिकारी माइक श्रोएफरको ब्लगबाट आएको हो । 

अमेरिकाको हाउस कमर्स कमिटीको घोषणाको केही घन्टापछि यो ब्लग प्रकाशित गरिएको हो । कमिटीले फेसबुकका संस्थापक मार्क जुकरबर्गले डाटा शेयर गरिएको घटनाका बारेमा ११ अप्रिलभन्दा अगावै आफ्नो बयान दिनुपर्ने घोषणा गरेको थियो । 

हालै क्याम्ब्रिज एनालिटिकालाई फेसबुकले वर्षौंदेखि डाटा उपलब्ध गराएको भन्दै व्यापक आलोचना भएको थियो । तर लण्डनस्थित यो कम्पनीले ती जानकारीहरु डिलीट गरिसकेको आश्वासन दिएको थियो । यद्यपी च्यानल फोर नामक टेलिभिजनका अनुसार केही जानकारीहरु अहिले पनि प्रयोग भइरहेको छ । 

यसअघि नै क्याम्ब्रिज एनालिटिका स्क्याण्डल बाहिर आएपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गले स्वीकार गर्दै आफ्नो कम्पनीबाट गल्ती भएको बताएका थिए । उनले तेस्रो पक्षलाई प्रयोगकर्ताको जानकारी लिन नसक्ने गरी फेसबुकको स्तरोन्नती गर्ने आश्वासन समेत दिएका थिए । बीबसीबाट